Logo
Logo

प्रहरी वृत्तमा आर्थिक चलखेल



काठमाडौं । उपत्यकाका प्रहरी वृत्तहरु प्रहरीको आकर्षक पोष्टिङ मानिन्छ । वृत्त प्रमुख बन्न मात्र होइन तल्लो तहको सरुवामा पनि ठूलै पावर लाग्ने गर्दछ । खासगरी मुद्दा शाखामा बस्नका लागि चलखेल हुने गरेको छ ।

वृत्तहरुको मुद्दा शाखामा हुने आर्थिक चलखेल रोक्न यतिबेला व्यापक हेरफेर सुरु भएको छ । गत साता काठमाडौंका १४ वटै वृत्तका मुद्दा शाखामा कार्यरत प्रहरीहरु हेरफेर गरिएको छ । २४ घन्टाको समय समय नदिई हेरफेर गरिएको हो । लामो समयदेखि एउटै कार्यालयमा बसेर सेटिङ गर्दै आएका मुद्दाका प्रहरीहरु यसरी कारबाही स्वरुप सरुवामा परेका हुन् ।

प्रहरीका मुद्दा शाखामा कसरी सेटिङ हुन्छ भन्ने कुरा गत साता गौशालाको एउटा घटनाबाट पनि थाहा हुन्छ । १४ माघमा गौशला वृत्तले एयरपोर्ट अगाडिको होटलबाट दुई वटा जुवाडे समूहलाई पक्राउ ग¥यो । पक्राउ परेका १७ जनामध्ये केही पैसावाल थिए । जसरी पनि छिटो छुट्न चाहन्थे । जसका लागि रातारात उनीहरुको बयान गरियो । जसअनुसार पक्राउ परेको तीन दिनमै मुद्दा बुझाइएर उनीहरुलाई छाडिएको थियो र यसो गर्दा मुद्दा शाखाका प्रहरी मालामाल भए । वृत्त प्रमुख संजीवबाबु खड्कापनि सो मुद्दाबाट लाभान्वित भएको चर्चा छ । स्वयम्भु वृत्तले पनि २१ माघमा १० लाख रुपैयाँसहित १९ जुवाडेलाई पक्राउ गरेकोमा आर्थिक चलखेलकै आधारमा उनीहरुलाई केही दिनमै छाड्न लागिएको छ ।

यदि सामान्य झैझगाडमा कुनै गरिबको छोरो पक्राउ परेको छ भने प्रहरीले २४ दिनसम्म थुनामा राखेर मुद्दा चलाउने गर्दछ । तर, पैसवालहरु यसरी रातारात छुटदछन् । यसमा ठूलो चलखेल हुने गरेको छ ।

गौशालासहित पछिल्लो समय लैनचौर, दरबारमार्ग, बालाजु, कालिमाटी लगायत वृत्तमा यस्तो चलखेल बढेको स्रोत बताउँछ । कालिकाटी वृत्तबाट प्रशस्त कमाएका डिएसपी अनिल घिमिरेको हालै सरुवा भएको छ । लैनचौर वृत्तका डिएसपी गणेश बम, बालाजु वृत्तका रविन बिष्ट, दरबारमार्ग वृत्तकी कोपिला चुँडाल, वानेश्वर वृत्तका निशान श्रीवास्तव लगायतको कार्यशैली कमजोर रहेको रिपोर्टिङ प्रहरी प्रधान कार्यालय पुगेको छ ।

वृत्तका मुद्दा शाखाका सबै हटाइएपनि परिसरको मुद्दामा बस्नेहरु भने कसैलाई हटाइएको छैन । परिसरको मुद्दा शाखामा पनि केही प्रहरीहरु १० वर्ष भन्दा लामो समयदेखि बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्