Logo
Logo

प्रधानमन्त्रीका पिएको मन्त्रालयमा रजगज



काठमाडौं । यतिबेला पाँच मन्त्रालय रिक्त छन् । मन्त्रिमण्डल गठनकै क्रममा दुई मन्त्रालयमा रिक्त राखिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि थप तीन मन्त्रालय नेतृत्वबिहीन बनेका हुन् ।

हाल गृह, श्रम तथा रोजगार, शिक्षा, वन, युवा तथा खेलकुद मन्त्रालय रिक्त छन् । यी मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले लिएका छन् ।

तर, प्रधानमन्त्रीले ती मन्त्रालयको कामकारबाही हेर्न भ्याएका छैनन् । प्रधानमन्त्रीका पिएहरूले ती मन्त्रालयमा रजगज चलाउन थालेका छन् । स्रोतका अनुसार निजीसचिव नवराज ढुंगाना लगायतले रिक्त रहेका मन्त्रालयहरूमा चलखेल गरिरहेका छन् । ढुंगानाले हालै वनका केही महत्वपूर्ण फाइलहरू झिकाएको स्रोत बताउँछ । खासगरी व्यापारीका स्वार्थ जोडिएका फाइलहरु झिकाएर उनले अध्ययन गर्न थालेको स्रोतले बताएको छ ।

वन मन्त्रालयमा चार महिनादेखि मन्त्री र सचिव छैनन् । सचिव बढुवामा विवाद भएपछि कृषितर्फका डा.रेवतिरमण पौडेललाई कामु सचिवको जिम्मेवारी दिइएको छ । मन्त्रालयलाई स्वार्थ समूहको योजनाअनुसार चलाउन यसरी नियममिचेर कृषिका सहसचिवलाई कामु सचिव दिइएको स्रोत बताउँछ । मन्त्रालयमा रहेका हाइड्रोदेखि केवलरकार सञ्चालनसम्बन्धि फाइल वन मन्त्रालयमा अल्झिएका छन् । सोही कारण प्रधानमन्त्रीका पिए ढुंगानाले नै बिचौलिया समूहलाई खुशी बनाउन त्यसरी विवादास्पद निर्णय गराएका छन् ।

प्रधानमन्त्रीका निजी सचिव ढुंगाना विगतदेखि नै विवादास्पद कर्मचारी हुन् । उनको सम्पत्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्दै आएको छ । महालेखा नियन्त्रणको कार्यालयमा रहँदा लेखाका कर्मचारीको सरुवामा आर्थिक चलखेल गरेको विषयमा समेत विभिन्न निकायमा उजुरी परेका छन् ।

प्रशासनका माफियाका रुपमा चिनिने उनलाई सचिवालयको जिम्मा लगाएपछि प्रधानमन्त्रीको सुशासनका नारा मजाकको विषय बनेको छ । गत साता सरकारले गरेको सहसचिव सरुवामा पनि ठूलो चलखेल भएको चर्चा सिंहदरबारमा छ ।

वन मात्र होइन गृह मन्त्रालयमा पछिल्लो प्रधानमन्त्रीका पिएहरुको चासो बढेको छ । हालैको एसपी र डिएसपी सरुवामा सचिवालयमा बस्ने केही व्यक्तिहरुले आर्थिक चलखेलका आधारमा सरुवा गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्