Logo
Logo

एयरपोर्टमा भिजिट भिसाको लाइन


756
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भिजिट भिसाको सेटिङ खुलेको छ । रवि लामिछाने गृहमन्त्री हुँदा भिजिट भिषाको धन्दा रोकिए पनि अध्यागमनका कर्मचारीले फेरि मिलेमतोमा विदेश पठाउन थालेका छन् ।

विमानस्थलस्थित अध्यागमन प्रमुख बासुदेव घिमिरे नै यस्तो धन्दामा सक्रिय छन् । खासगरी रातीको समयमा हुने उडानमा दैनिक औसत २० देखि ४० जना सेटिङमा उड्ने गरेका छन् ।

प्रहरीले पनि पछिल्लो समय यसमा चासो दिन छाडेको स्रोत बताउँछ । विमानस्थलमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट टोली खटिएकोमा कतिपय प्रहरी नै मिल्न थालेका छन् । साथै, विमानस्थल प्रहरीको नेतृत्व समेत फेरिएपछि भिजिट भिसाको गिरोहलाई सहज भएको छ ।

मानव बेचबिखनका विभिन्न अनुसन्धानमा अध्यागमन कर्मचारीको मिलेमतो खुल्दै आएको छ । यसमा गृह मन्त्रालयले छानबिन समेत गरेको छ । तर, अहिलेसम्म कोही कर्मचारी कारबाहीमा परेका छैनन् । कारबाहीमा परेकाहरुलाई पनि सरुवा मात्र हुने गरेको छ ।

पछिल्लो समय गृहसचिव विनोदप्रकाश सिंह निकट कर्मचारीले पनि सेटिङ बढाएको स्रोत बताउँछ । अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारी आफैं पनि लाइन मिलाउन सक्रिय छन् । जसकारण संगठित रुपमै भिजिट भिषाको धन्दा सुरु भएको छ ।

पछिल्लो समय भिजिट भिषामा जानेहरुसँग अध्यागमनले बैंक स्टेटमेन्ट देखाउनुपर्ने नियम लागू गरेको छ । यस्तो स्टेटमेन्ट पनि कतिपयले नक्कली बनाउने गरेका छन् । नीति फेरिए पनि अध्यागमन कर्मचारीको नियत नफेरिएपछि सोझा सर्वसाधरण विभिन्न देश पुगेर बेचिने गरेका छन् ।

अध्यागमन सेटिङको पैसा उच्च तहसम्म पुग्ने भएकाले पनि यस्तो गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । अख्तियारले पनि बेला बेला छानबिन गरे पनि मुद्दा चलाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्