Logo
Logo

बिओपीमा बदनामहरूको हालिमुहाली



काठमाडौं । सशस्त्र प्रहरी बलमा सीमामा बसेर तस्करीको सेटिङ मिलाउने सबैजसो एसपीहरुको हेरफेर भइसकेको छ । तेस्रो ब्याचका एसपीहरु तराईका गणमा पुगेपछि तस्करीको सेटिङ भत्किएको छ, सीमा सुरक्षामा सुधार आएको स्रोतले बताएको छ ।

तर, पहुँचका आधारमा विगतमा बिओपी गएका इन्सपेक्टरहरुको धन्दा भने रोकिएको छैन । छानबिन हुँदा पनि कतिपय बिओपीमै फर्कन सफल भएका छन् । वीरगञ्ज बिओपीका इन्सपेक्टर रबिन्द्र भट्ट त्यही फर्कन सफल भएका छन् । यसअघि तस्करीमा मिलेमतो देखिएपछि उनी पटक–पटक हेडक्वार्टर तानिएका थिए । नेताको पावर लगाएर उनी फर्किएको चर्चा सशस्त्र प्रहरीमा छ ।

महोत्तरीको सम्सी बिओपीका जयराम बस्नेतविरुद्ध पनि उजुरी परेको छ । तर, अझै पनि सेटिङमै उनी तस्करीको काम गरिहेको स्रोतले बताएको छ । रुपन्देहीको मझगवा बिओपीका इन्सपेक्टर तुलसीराम पान्डेको धन्दा पनि जारी रहेको स्रोत बताएँछ ।

मोरङको बिओपीमा कार्यरत इन्सपेक्टर प्रकाश भट्टले ६ वटा बिओपी बसेर अकुत आर्जन गरेको आरोप छ । रातारात करोडपति हुन चाहने सशस्त्र प्रहरीका यस्ता इन्सपेक्टरका कारण संगठन नै बदनाम हुन पुगेको छ भने तस्करीका कारण राजस्वमा असर परेको छ । रबिन्द्र भट्ट र प्रकाश भट्ट सुदुरपश्चिमका नेताको पावर लगाएर यसरी बिओपी बस्दै आएका छन् ।

उता, सशस्त्र प्रहरी मुख्यालयले बिओपीमा डिएसपी खटाउने तयारी अघि बढाएको छ । संवेदनशील मानिएका बिओपीमा डिएसपी खटाउन लागिएको हो । सबै ठाउँमा इन्सपेक्टरको कमाण्ड बलियो हुन नसकेको निष्कर्षका आधारमा डिएसपी खटाउन लागिएको हो ।

यसबाट सशस्त्रमा डिएसपीको इन्चार्ज बढ्नेछन् । दरबन्दी धेरै तर, इन्चार्ज गर्ने कार्यालय कम हुँदा डिएसपीले कमाण्डको अनुभव कम मात्र पाउँछन् । विगतमा भन्सार तथा राजश्व गुल्म हचुवाको भरमा खारेज गर्दा यस्तो समस्या आएको थियो । सशस्त्र प्रहरी नेतृत्वले अहिले डिएसपीको कमाण्ड अवसर बढाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्