काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाले एनआरएका पूर्वअध्यक्ष देवमान हिराचनलाई थोत्रो गाडी भिराएर हैरान पारेका छन् । हिराचनको हिमालयन एग्रो कम्पनीले २०७५ पुस ५ गते थापाको कम्पनीबाट फोर्स कम्पनीको भ्यान खरिद गरेका थिए ।

उक्त भ्यान थोत्रो भएको कारण खरिद गरेको एक महिना बित्दा नबित्दै भ्यानको ट्यांकीबाट तेल चुहिने समस्या देखियो । गाडी किनेको चार महिनामै तेल चुहिन थालेपछि प्रायः जापान बस्ने हिराचनका कर्मचारीले थापाको कर्मचारी सन्तोष नेपाल भन्नेलाई खबर गरे ।
त्यसपछि आफ्नो कमजोरी ढाकछोप गर्न नेपालले उक्त भ्यान फर्काउने र नयाँ भ्यान दिने सहमति जनाए । नयाँ भ्यान कहिले भन्सारमा आइपुग्यो, कहिले वीरगन्जमा आइपुग्यो, अब केही दिनभित्र काठमाडौँ आउँछ भन्दै हिराचनका कर्मचारीलाई सन्तोष नेपालले ढाँट्दै आए ।
तर, नाडाका अध्यक्षसमेत रहेका थापाले पाँच वर्ष बित्दासमेत नयाँ भ्यान दिएनन् । यसबीच हिराचनको कर्मचारीले पटक–पटक आफ्नै खर्चमा मर्मत गर्दै उक्त भ्यान चलाउँदै आए पनि त्यसको खर्चसमेत कम्पनीले सोधभर्ना गरेको छैन ।
थापाका कर्मचारी सन्तोष नेपालले अहिले आएर बा२१च ४२५ नम्बरको उक्त भ्यान कब्जामा लिएका छन् । फोर्सको काँडाघारीस्थित ग्यारेजमा मर्मतका लागि लगेको भ्यान फिर्ता नदिएर हिराचनका कर्मचारीलाई हैरान पारेका छन् । नाडाका अध्यक्षजस्तो व्यक्तिको कम्पनीबाटै हिराचन ठगिन पुगेको घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ ।











