काठमाडौं । विगतमा भन्दा यसै कार्यकालमा राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीमा भने परिवर्तन भएको देखिएको छैन । सिंहदरबारमा पुरानै विकृतिहरुलाई उनले निरन्तरता दिएका छन् । एकातर्फ सचिवालयमा एक दर्जन भन्दा धेरैलाई नियुक्ति दिएर खर्च बढाएका छन् भने, अर्काेतर्फ प्रशासनिक सुधारका काम पनि सुरु हुन सकेको छैन ।

प्रजातन्त्र दिवसको अवसरमा गम्भीर अपराधमा संलग्न कार्यकर्तालाई समेत कैद मिनाहा गरेर प्रचण्ड आलोचनाका पात्र बनेका छन् । त्यसमा सांसद अरुण कुमार चौधरी मात्र होइन ओखलढुंगाको उज्जन कुमार श्रेष्ठको हत्यामा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका पुष्कर गौतम पनि छन् । त्यस्तै, जेलबाटै भागेका लडवीर राईलाई समेत आममाफी दिएर छाडिएपछि प्रहरी अधिकारी अचम्मित भएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा पार्टी निकट यस्ता १४ जनालाई अपराधबाट उन्मुक्ति दिइएको छ । कतिपयलाई आर्थिक चलखेलका आधारमा उन्मुक्ति दिइएको स्रोत बताउँछ । यसले कानून शासनमाथि नै प्रश्न उठेको छ ।
अर्काेतर्फ उपचार खर्चका नाममा पैसा बाड्ने प्रवृत्ति पनि फेरि सुरु भएको छ । उनले पार्टीका नेता बिसेन्द्र पासवानलाई हालै तीन लाख आर्थिक सहयोग दिएका छन् । विपन्नहरुलाई दिने कोषबाट यसरी नेतालाई उनले पैसा बाँडेका हुन् । अरु सयौं नेता–कार्यकर्तालाई पैसा बाड्ने तयारी भइरहेको स्रोत बताउँछ । यो आर्थिक वर्षको ६ महिनासम्म ६ करोड रुपैयाँ वितरण भइसकेको छ । त्यसमध्ये धेरै शेरबहादुर देउवा सरकारले बाँडेको थियो । गरिब जनता उपचार खर्च नपाएर मरिरहेका बेला पार्टीका नेता कार्यकर्ताले भने यसरी आर्थिक सहायता लिने गरेका छन् । जसले गर्दा सरकारको चर्को आलोचना भइरहेको छ ।
तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले यस्ता कुरामा सुधार ल्याएको भए उनले भन्ने गरेको ‘राम्रो काम’ जनताले देख्ने थिए । तर, मुखले एउटा बोल्ने व्यवहारले अर्को गर्दा उनीप्रति पनि अविश्वास बढ्दो छ । विगतका सरकारले गरेका नराम्रो कामलाई निरन्तरता दिनुको साटो, केही सुधार गरेर अगाडि बढेको भए प्रचण्डले भनेजस्तै केही राम्रो कामको सुरुवात हुने थियो ।











