Logo
Logo
अन्तर्राष्ट्रिय मातृभाषा दिवस

एउटा संयोग- मातृभाषाको जिम्मेवारी



जीवन यात्रामा भाषा साहित्य र मातृभाषाको सन्दर्भ पनि जोडिन पुगेको छ । आज मातृभाषा दिवसको दिन यो ‘सम्पूर्ण आकाश’मा पनि यसैलाई अलिकति ठाउँदिन मन लाग्यो ।

केही दशक यता २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृदिवसका रूपमा मनाइँदै आएको छ । १२३ वटा भाषा भएको हाम्रो देशमा भने गणतन्त्र आइसकेपछि मात्र औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । भाषा साहित्यको निम्ति काम गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि त्यसपछि मात्र मातृभाषाको विभाग थपियो ।

संयोगले नै भनुँ– सन् २०१० को जनवरीमा (२०६६, माघ २१) प्रज्ञा परिषद सदस्यको रुपमा मैले शपथ लिएको थिएँ । समयले एउटा ठूलै जिम्मेवारी बोकाएको महशुस पनि भयो र, मातृभाषा साहित्य विभाग मेरो जिम्मेवारीमा पर्याे ।

इतिहासमा पहिलोपटक एक महिलाको हातमा ‘मातृभाषा’ साहित्यको जिम्मा परेको थियो । जसलाई सहर्ष स्वीकार गरेँ । चारवर्षको कार्यकालमा समय र क्षमताले भ्याएजति कामगर्ने अवसर पनि मिल्यो ।

देशमा भएका १२३ भाषाका सबै विधालाई नभएपनि ५५ भाषाका कवितालाई नेपाल प्रज्ञा प्रतिष्ठानको ठूलो राष्ट्रिय मञ्चमा ल्याउन सकियो ।

लोकतन्त्रात्मक गणतन्त्रको प्राप्तिपछि गठित पहिलो प्रज्ञा परिषदका सदस्य थिएँ । कहाँबाट काम सुरुगर्ने भन्ने कुरामा केही अन्योल पनि थियो । झण्डै एकमहिना बित्नलाग्दा विभागको बाँडफाँड भयो । त्यही बेलातिर मात्र १९ तारिखमा मात्र थाहा भयो २१ फेब्रुअरी त अन्तराष्ट्रिय मातृभाषा दिवस रहेछ ।

हतारमा तात्कालीन कुलपति (बैरागि काइँला)सँग कुराकानी गरेर एउटा सानो गोष्ठीबाटै कामको औपचारिकता दिन सुरु गरियो । भाषा साहित्यसँग सम्बन्धित यो दिवसका दिन मातृभाषी स्रष्टाहरुबीचको गोष्ठीले एउटा बन्द ढोका खुलेजस्तो भयो ।

हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्मका विविध भाषाभाषीबीच सम्मान र समानताका साथ साहित्यमा इन्द्रेणी खोज्दै अगाडि बढ्ने अवसर प्राप्त भयो ।

सन् २०१२ मा पुग्दा मातृभाषामा राष्ट्रिय कविता महोत्सव नै सम्पन्न भयो । देशका पहिलो राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सुरु भएको त्यो महोत्सवले अब त राष्ट्रिय पर्वको रुपमा हरेक बर्ष नै निरन्तरता पाइरहेको छ । त्यो एउटा ऐतिहासिक फड्को नै थियो मातृभाषा साहित्यमा ।

हाम्रो देशमा १२३ वटा भाषा जीवित् छन्, भने पनि कतिपय भाषा लोपोन्मुख अवस्थामा छन् । कतिपय भाषाका लोकसाहित्यसमेत हराइसकेको अवस्थामा पनि छ । तर, प्रज्ञाप्रतिष्ठानमा मातृभाषाहरुले स्थान पाएपछि लोपोन्मुख भाषा र तिनका साहित्यले पुनजीवित हुने अवसर पाए ।

मेरो निम्ति नयाँ विश्वविद्यालयमा पसेर नयाँ थेसिस लेख्नु जत्तिकै ठूलो काम थियो । साहित्य यात्रामा हिँडेको लामै समय भए पनि त्यो नौलो काम र अनुभव थियो ।

आफ्नै मातृभाषा नेपालभाषादेखि लिएर कहिल्यै सुन्नमा समेत नआएका भाषामा सम्म काम गर्ने अवसर जुर्दा जीवनमा नै अनेक रंगहरु थपिएको महसुस पनि भयो ।

एक्लैले गर्न सकिने काम थिएन, विभागमा ज्यादै सक्षम विद्वान प्रोफेसरदेखि विविध भाषाका अनुभवीहरुको साथ पाएर ती सबै चुनौतीहरुको सामना गरे । र, भाषासाहित्यमा अगाडि बढ्न सम्भव भयो । ती सबै सहयात्रीहरुप्रति कृतज्ञ छु ।

देशको अत्यन्तै महत्वपूर्ण र चुनौतिपूर्ण कामको जिम्मा लिएको हाम्रो विभागले अत्यन्तै ठूलो एउटा मुद्दालाई न्यायोचित ढंगले सम्बोधनगर्न सक्यो । दुखेको देशलाई साहित्यको माध्यमबाट मल्हमपट्टी लगाइदिन सकेको जस्तो पनि अनुभव भयो त्यो बेला । त्यसपछिका कुरा म गर्न सक्दिन ।

मसँग सोध्नुहुने पत्रकार र अन्य साहित्यकारहरुसँग पनि यही कुरा गर्ने गर्छु – ‘म नभएको बेलाका कुरा मसँग नसोध्नुस्…’

हाम्रो देश सुन्दर भाषाहरुको फूलवारी पनि हो । हाम्रो नीधि हो । पहिले एउटै भाषाले मात्र ठाऊँ पाइरहेको प्रज्ञा प्रतिष्ठान आज धेरै भाषाका कविहरुको साहित्यिक साझा थलो बनेको छ । धेरै भाषामा पुस्तकहरु उपलब्ध छन् ।

एक दशक पछि यी हरफहरु लेख्दै गर्दा, आफैले छोड्नेबेला ५५ वटा भाषाका कविहरुसँग प्रत्यक्ष भेट्न पाएको अनुभव सम्झिँदा गर्व लाग्छ । मेचीदेखि महाकालीसम्मका विविध भाषाभाषीका नागरिकले आत्मसम्मानका साथ आफ्नो मातृभाषामा कविता लेख्नु र सुनाउन पाउनुले देशलाई टुक्रयाउने होइन, सद्भावले जोड्ने काम भएको छ ।

सबैको भलो होस् ! मातृभाषा दिवसको शुभकामना !

प्रतिक्रिया दिनुहोस्