काठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेडको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिले एनआइसी एसिया बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत राठीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको जनाइएको छ । उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाइ चुम्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
क्यापिटलले स्थापना भएको छोटो अवधिमा नै आव ०७९÷०८० को दोस्रो त्रैमास अन्त्यसम्म एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत चारवटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा पाँचवटा योजना सञ्चालन गरिरहेको जनाइएको छ । साथै, खुलामुखी योजना ‘एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड’मा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपी)÷सिस्टमेटिक विथड्रल प्लान (एसडब्लुपी)समेत सञ्चालन गरिरहेको क्यापिटलले जनाएको छ ।
लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम योजना सञ्चालन गरी आव ०७९÷०८० को पुस मसान्तसम्ममा पाँच सय ८६ ग्राहकबाट एक अर्ब ५६ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको जनाइएको छ ।
निक्षेप सदस्य सेवाअन्तर्गत पुस मसान्त, ०७९ सम्म ६ लाख ३० हजारभन्दा बढी डिम्याट खाता खोलिसकेको जनाइएको छ । क्यापिटलले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत ०७९ साल पुस मसान्तसम्ममा १४ वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।












