Logo
Logo

लगानीकोषद्वारा सिएसआरअन्तर्गत ७ लाख ५० हजार प्रदान



काठमाडौ । नागरिक लगानी कोषले ३३औँ वार्षिकोत्स्वको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत चारवटा संस्थालाई ७ लाख ५० हजार रुपैया प्रदान गरेको छ ।

ती संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुदलगायतका सामग्री खरिद गर्न १ लाख ५० हजार रुपैँयाको चेक प्रदान गरेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका विरामीहरुको पुनःस्थापनको लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वस्थ्य शिविर सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन–नेपाल शंखरापुर काठमाडौँलाई २ लाख रुपैँयाको चेक हस्तान्तरण गरिएको छ ।

त्यसैगरी कोषले उपत्यका बाहिर फरक क्षमता भएका बालबालिकालाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुका लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुदसम्बन्धी कार्यका लागि २ लाख रुपैँयाको चेक प्रदान गरेको छ ।

यसभन्दा अघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराइरहेको पदमपुर आधारभुत विद्यालय ढेढौली चितवनलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्