Logo
Logo
समाचार टिप्पणी

उपनिर्वाचनको मुखमा निराश एमाले



काठमाडौं । उपनिर्वाचन संघारमा आइपुग्दा कुनै पनि निर्वाचन क्षेत्रमा एमालेको पुरानो प्रभाव कायम नरहेको ‘गोप्य सूचना’ पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली निराश भएका छन् ।

विभिन्न जनसंगठनका अधिवेशनमा पार्टी नेतृत्वप्रति तीव्र आक्रोश देखिएको छ । ‘मिसन ग्रासरुट’ले पार्टीलाई चलायमान गराउन सकेन । पार्टीमा भएकै नेताहरु पनि जिम्मेवारी र भूमिकाबाट टाढा भाग्ने क्रम सुरु भएको छ ।

झापाबाट पार्टीका पुराना र लोकप्रिय नेता नरेश खरेलसहितको ठूलो पंक्तिले पार्टी परित्याग गर्याे । त्यसपछि पार्टी छोडेर गइहाले हुन्थ्यो भनिएका भीम रावललाई केन्द्रीय कार्यालय च्यासलमै बोलाएर पार्टी नछोड्न आग्रह गर्नुपर्ने बाध्यता आयो ।

पछिल्ला केही दिनयता अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा जाने र आफ्ना धारणा राख्न रुची दिइरहेका छैनन् । देशका तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा चर्को प्रतिस्पर्धासहित उपनिर्वाचनको लहर छ । तर, अध्यक्ष ओलीलाई त्यतातिर खासै रुची देखिँदैन । किनभने, तनहुँमा उम्मेदवारी चयनकै विषयमा स्थानीय पार्टीभित्र आक्रोश हुँदा कार्यकर्ता परिचालित भएका छैनन् ।

चितवनमा पहिला भित्रभित्रै रवि लामिछानेलाई मतदान गर्न ओलीले अह्राए, पछि स्थानीय पार्टीभित्रै विद्रोह हुने अवस्था भएपछि ओली चितवन जान सकिरहेका छैनन् । बारामा यसै पनि एमाले कमजोर भएको क्षेत्रमा निर्वाचन भइरहेको छ ।

विभिन्न जनसंगठनका अधिवेशनमा बालकोटमा बनेको सूचीलाई जस्ताको तस्तै कार्यान्वयन गराउने नीति लिइयो । त्यसो गर्दा नेतृत्वका निम्ति प्रतिस्पर्धा भएन । आकांक्षीहरुलाई उम्मेदवारी दर्ता गर्न लगाउँदै पीडित बनाइँदा ठूलो पंक्ति पार्टी नेतृत्वप्रति निराश छ ।

युवा संघमा ओली गुटभित्रका पनि बालकोटसँग ‘डिएनए’ नमिल्ने जति सबैलाई छानीछानी पाखा लगाइएको छ । नेपालगञ्ज महाधिवेशनबाट फर्किएका एमाले युवा अहिले राजनीतिक विकल्प खोज्नुपर्ने स्थितिमा छन् । नेतृत्वमा आकांक्षा राखेर पनि जबरजस्तीको शैलीमा उम्मेदवारीबाट पछाडि हटाइएका युवा नेताले अब ओलीलाई साथ दिन नसकिने भनिसकेका छन् ।

यसअघि विराटनगरमा सम्पन्न भएको खेलकुद महासंघको महाधिवेशनमा यस्तै भयो । उम्मेदवारी दर्ता खोलियो । आकांक्षीहरुले मनोनयन दर्ता गरे । तर, निर्वाचन कार्यक्रम स्थगित गर्दै पर्शुराम बस्नेतलाई अध्यक्ष घोषणा गरियो । बाँकी पदाधिकारी बालकोटबाट तोकियो । त्यसो हुँदा खेलकुद महासंघमात्रै अस्तव्यस्त भएन । उनीहरुले धानिदिएका थुप्रै भूगोल र समुदायमा एमाले संकटमा परेको छ ।

अखिलको महाधिवेशनबाट पाखा लगाइएका आरसी लामिछानेहरु स्ववियु निर्वाचनमा दिउँसै ओछ्यान लगाएर सुतिदिँदा संगठनले ठूलो क्षति बेहोरेको छ । तिनै घटनाका परिणामहरु अहिले उपनिर्वाचनमा देखिएको छ ।

चितवनमा जिल्ला पार्टी अध्यक्ष रहेका युवा रामप्रसाद न्यौपाने उम्मेदवार छन् । तर, चुनावका निम्ति युवा, विद्यार्थी र खेलाडीहरुकै परिचालनमा समस्या आएको छ । अघिपछिका निर्वाचनमा सबै जनसंगठनले चुनावी योजना बनाउँदै निर्वाचन क्षेत्रमा परिचालनका कार्यक्रमहरु ल्याउँथे । तर, तीनवटै क्षेत्रमा एमालेका उम्मेदवार भए पनि चुनाव परिचालनका योजना बनाउने, उम्मेदवार र पार्टीको पक्षमा माहौल बनाउने कुरामा कसैलाई ध्यान गएको छैन ।

बारामा हार्ने निश्चित भएपछि उम्मेदवार बनाइएका पुरुषोत्तम पौडेलको पक्षमा जित्ने स्थितिमा उम्मेदवार बनाइन लागेका बलवीर चौधरी नै मैदानमा देखिएका छैनन् । तनहुँमा पार्टीबाहिरका उम्मेदवार, त्यो पनि मंसिरमा काठमाडौंमा चुनाव हारेको मान्छेलाई त्यहाँ लगेर उठाइएको भनी आक्रोश छ । चितवनमा पार्टीभित्रैको भद्रगोलका कारण माहौल जम्न सकेन ।

कार्यकर्ताले प्रश्न गर्न थालेका छन्, ‘प्रचण्डलाई प्रधानमन्त्री बनाएर केपी ओली हर्ताकर्ता भएको गठबन्धन किन दुई महिनाभन्दा बढी जान सकेन ?’ नयाँ संसदमा गएर विघटनको अघिल्लो कदमका पक्षमा बोल्ने कारण गठबन्धनबाट एमाले लज्जास्पद ढंगले बाहिरिनुपर्याे । त्यो कारण पाइसकेका विभिन्न प्रदेशका मुख्यमन्त्री, संघीय सरकारमा मन्त्रीहरु हटाए ।

सरकारमा छौँ भनेर कार्यकर्तालाई आश देखाएर पार्टीमा राख्ने ठाउँ त सकियो नै, पार्टीभित्रैको भूमिकामा पनि बालकोटमा सूची बन्न थालेपछि पहुँच नभएका कार्यकर्तालाई एमाले विरानो लाग्न थालेको छ ।

यसपछि ओलीले विभिन्न संवैधानिक नियुक्तिमा भाग खोज्दै संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई अगाडि बढ्न दिइरहेका छैनन् । सोमबार बालकोटमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीचको छलफलमा ओलीले विभिन्न शर्तहरु राख्दै, ती शर्त मानेको अवस्थामा मात्रै अड्किएका विभिन्न कामहरु अगाडि बढाउने बताए ।

अब ओलीले भनेको प्रधानन्यायाधीश, उनले प्रस्ताव गर्ने निर्वाचन आयोग र वित्त आयोगका सदस्य बनाइएमात्रै संवैधानिक परिषद्सम्बन्धी विधेयक अगाडि बढ्ने स्थिति छ ।

प्रतिक्रिया दिनुहोस्