काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा अटो शो २०२३’ आयोजना गर्ने भएको छ । कोरोना महामारी र आयात प्रतिबन्धका कारण तीन वर्षसम्म हुन नसकेको अटो शो आगामी भदौ २६ देखि असोज १ गतेसम्म भृकुटीमण्डपमा गर्ने तयारी भइरहेको हो ।

‘तयारी सुरु गरिसकेका छौँ । यो अटो शोमा नेपालमा रहेका सबै अटो ब्राण्ड, स्पेयर पार्ट्सलगायतको प्रर्दशनी हुनेछ । नेपालमा बनेका र एसेम्बल भएका सवारीसाधनलाई प्रोत्साहन गर्नेछौँ,’ नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष डा. ध्रुव थापाले भने ।
‘व्यवसायीहरूले लामो समयदेखि राम्रोसँग गाडी बेच्न पाउनुभएको छैन । उपभोक्ताले नाडा अटो शोमा पाइने अफर पाउन सक्नुभएको छैन । त्यसैले पनि यो अटो शो विशेष हुनेछ,’ उनले भने । यो अटो शोमा अवलोकनकर्ताले नयाँ उत्पादनको अवलोकन गर्न पाउने उनको भनाई छ ।
हाल सबैजसो कम्पनीले नयाँ उत्पादन ल्याइरहेकाले अवलोकनकर्ताले नयाँ कुरा हेर्न पाउने उनको भनाई छ । कोरोना महामारीपछि २०२२ मा अटो शो गर्ने भनिएको थियो । तर, सरकारले लगाएको प्रतिबन्धका कारण ‘नाडा इभी एक्सपो २०२२’ मात्र गरियो । गत वर्ष असोज ६ देखि ११ गतेसम्म भएको इभी एक्स्पोमा ८ वटा ब्रान्डका चार पाङ्ग्रे विद्युतीय सवारी र १५ वटा दुई पाङ्ग्रे विद्युतीय सवारी प्रदर्शनीमा राखिएको थियो ।












