अर्थात् रमेश ताम्राकार « Drishti News – Nepalese News Portal
Logo

अर्थात् रमेश ताम्राकार


appharu


प्रकाश सायमी । नेपाली रंगमञ्चमा आफ्नो मातृभाषामार्फत भाषा, कला, संस्कृतिको सेवा गर्ने केही प्रमुख जातिमा नेवारभाषी कलाकार पनि पर्छन् । नेपालभाषाको माध्यमबाट आफूलाई मञ्चमा सक्रिय बनाउने कलाकारमध्ये प्रेमध्वज प्रधान, भृगुराम श्रेष्ठ, नारायणगोपाल, नगेन्द्र हाडा, सत्यनारायण राजभण्डारी, द्वारिकालाल जोशी आदि प्रमुख हुन् ।

प्रकाश सायमी

त्यसमध्ये एउटा नाम जोडिएर अगाडि आउँछ, रमेश ताम्रकार । रमेश ताम्रकारको जन्म काठमाडौंको मुटु मानिने मरुटोलमा २००७ सालमा भएको हो । उपत्यकाको प्रमुख मानिने यो ठाउँ मरुटोल, जसको चर्चा ‘राजमति कुमति’ गीतमा समेत ठँहिटी र कोहिटीबीचको एक प्रमुख नगर मरुहिटीको व्याख्या गरिएको छ । यस गीतमा चर्चा गरिएको यो प्रख्य सहर मरुटोल कुनै समय राजनीतिको केन्द्रबिन्दु पनि मानिन्थ्यो । आजसम्म पनि काठमाडौं उपत्यकामा हुने केही विशेष कार्यक्रम यही परिसरमा हुने क्रम जारी छ । मरुटोल नेपालभाषा जागरणमा प्रमुख भूमिका निर्वाह गर्ने एउटा विशेष ठाउँ हो । रमेश ताम्रकार यही ठाउँबाट उदाएका एक कलाकार हुन् ।
२०२७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेर गायनमा आफ्नो विशिष्ट छाप बनाउन सफल रमेश ताम्रकारलाई उनका आफन्त पर्ने अग्रजगायक माणिकरत्न स्थापितले संगीतकार हुतराज शर्मासित गायन सिक्न अभिप्रेरित गरेको भन्ने गर्थे । गायक माणिकरत्नले दीपतारा ताम्रकार, रमेश ताम्रकार, अनि केही नयाँ कलाकारका निम्ति सदैव प्रेरणाको पात्र बने ।
२०३१ असोज २८ गते रेडियो नेपालमा रेकर्ड भएको राजेन्द्र थापाको शब्द र शिवशंकरको संगीतको एउटा गीतले रमेश ताम्रकारको गायनलाई फरक धारमा प¥ुयाइदियो, त्यो गीतको बोल थियो– दिन सुनका रात चाँदीका, तिम्रो मेरो माया मिलनका । शब्दमा अलग्गै भाव भएको यस किसिमको गीत त्यो समय नयाँ किसिमको थियो र आज पनि यस किसिमको रचना नयाँ मानिन्छ । रमेश ताम्रकारको यो गीत र यसै भावशैलीको गीत अहिले भारतमा भर्खरै गायक कैलाश खेरले पनि ‘दिन है सोने का रात है चाँदीका’ भनेर गाएको सुन्दा यो गीतको अतीतमोह भएर आउँछ ।
गायक भक्तराज आचार्यभन्दा तीन वर्षअघि रेडियो नेपाल प्रवेश गरेका रमेश ताम्रकारले भक्तराजको संगीत, भोला रिजालको शब्दमा ‘मैले आँखाको भाखा बुझिनँ’, पुरुषोत्तम सापकोटाको शब्द, सिके रसाइलीको संगीतमा ‘रोजी–रोजी हिँड्छौ किन’ तीसको दशकमा रेकर्ड गराइसकेका थिए । शुभबहादुर र रोज कपुरको संगीतमा, उत्तमलाल श्रेष्ठको शब्दमा ‘जिन्दगीमा’ बोलको उनको गीत त्यो समय लोकप्रिय मानिएको थियो । संगीतकार शिवशंकरका प्रिय गायक रमेश ताम्रकारले प्रेमध्वज प्रधान, ज्ञानबहादुर श्रेष्ठ, गणेश रसिक, चन्द्रराज शर्मा, शम्भुजित बासकोटाका आदिका संगीतमा धेरै चर्चित गीत गाएका छन्् ।
संगीतकार शम्भुजित बासकोटाको संगीतमा उनले ‘यादैयादमा अल्झ्यो मेरो जिन्दगानी’, ‘माया के हो चिन्नलाई’ जस्ता लोकप्रिय गीत गाएका थिए । रमेश ताम्रकारको हिट गीत ‘यादैयादमा अल्झ्यो मेरो जिन्दगानी’ पञ्चायतकालमा प्यारोडी बनेर हिट लिस्टमा पनि परेको थियो । यसै गीतमार्फत संगीतकार शम्भुजित बासकोटा गाईजात्रा महोत्सवमा प्यारोडी गायकका रूपमा चर्चामा आएका थिए ।
अर्थशास्त्र विषयमा अध्ययन गर्न लन्डन पुगेका रमेश उताबाट फर्केपछि अभिनयमा पनि रुचि लिन थाले, उनले आफ्नो एउटा गीतमा अभिनय पनि गरे । गीतकार नीर शाहको शब्द, चन्द्रराज शर्माको संगीतमा अभिनेत्री विणा बस्नेत बुढाथोकीसित उनले एउटा म्युजिक भिडियोमा अभिनय पनि गरेका छन्् ।
यसपछि उनले आफ्ना गायक साथी विष्णु श्रेष्ठ, निर्मल श्रेष्ठ, अभिनेता प्रकाश अधिकारी आदिसित मिलेर नेपाल थिएटरमा अभिनय पनि सिक्न थाले ।
अभिनयका सोखिन रमेश ताम्रकारले गायनमा जस्तो अभिनयमा निरन्तरता दिन सकेनन् । यही समय उनी सांस्कृतिक संस्थानमा महाप्रबन्धक भए । पञ्चायतकालमा गायक नारायणगोपाल गुरुवाचार्य महाप्रबन्धक भएर उचाइमा पु¥याएको सांस्कृतिक संस्थानमा पछि गायक गणेश रसिक महाप्रबन्धक हुँदै रमेश ताम्रकारको पालो आउँदा यो संस्थान अलिअलि लथालिङ्ग भइसकेको थियो, तर ताम्रकारले आफ्नो भूमिका ज्युँका त्युँ धाने पनि यो संस्थान त्यति उकासिन सकेन ।
रमेश ताम्रकारको महाप्रबन्धकत्व काल त्यति यादगार रहेन । उनले आफ्नो सांगीतिक यात्राका क्रममा धेरै गीत आफ्नै भाषा, भाव र सौम्यताका आधारमा गाएका छन्् । तीमध्ये नेपालभाषामा गाएका उनका गीत सदा स्मरणीय छन्् ।
नेपालभाषाको उनको अजरअमर गीतमध्ये एक यस्तो छ–
लाय्कुली दरबार दु
हलवाई पसलय् प्यारामरी दु
असनय् आजु दु वँगलय् आजु दु
मखनये सःस दु
नखःत्यावना वैगु जिलाथौँ
सिक्क हे धे धे चु ।
भक्तपुरका प्रसिद्ध गायक संगीतकार नगेन्द्र हाडाको शब्द–संगीतमा रमेश ताम्रकारले गाएको यो गीत एउटा उत्कृष्ट सांस्कृतिकमध्ये हो । उनै रमेश ताम्रकारले गणेश रसिकको शब्द संगीतमा गाएको गीत हो–
बाँच्न जन्मेको नेपाली म मृत्यु देखेर तर्सिन्नँ,
पुग्नु छ मैले धेरै पर आँधी हुरीमा रोकिन्नँ,
पहराले छेकेर छेकिन्न बाँच्न जन्मेको नेपाली म ।
रमेश ताम्रकार यस प्रकारका गीतका निम्ति सदैव लोकप्रिय रहे ।

प्रतिक्रिया दिनुहोस्