Logo
Logo

अब महाधिवेशनको बहसमा केन्द्रित हुनुपर्छ- अग्निप्रसाद सापकोटा


- दृष्टि न्युज/संवाददाता


२०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका अग्निप्रसाद सापकोटा हाल मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य छन् । उनी सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् । सिन्धुपाल्चोककै जनजागृति माध्यामिक विद्यालयमा प्रधानाध्यापक रहेकै बेला शिक्षण पेशा छाडेर उनी पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए । पछि नेकपा (माओवादी)को नेतृत्वमा ०५२ देखि ०६२ सालसम्म चलेको जनयुद्धमा उनको सिंगो परिवार सामेल भयो । सर्वहारावर्गको मुक्तियात्रामा आफूलाई समर्पित गराएका सापकोटा कम्युनिष्ट आदर्श र निष्ठाको जीवनलाई सर्वोत्कृष्ट जीवन ठान्छन् । तत्कालीन दुई ठूला राजनीतिक दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकतापछि सांगठनिक काम करिब टुंगिएकाले अब पार्टीभित्र विचारको ‘ग्रेट डिबेट’ आवश्यक रहेको उनको विश्लेषण छ । त्यही ‘ग्रेट डिबेट’ले नेकपा र सिंगो मुलुकलाई नयाँ दिने विश्वास उनमा देखिन्छ । नेकपाको महाधिवेशन केन्द्रित भएर हुने राजनीतिक बहस भए पनि त्यस्तो बहसमा नेकपाका कार्यकर्ता मात्र नभई बुद्धिजीवी, पेशाकर्मी, नागरिक समाजलगायत सिंगो देशलाई संलग्न गराई अन्तर्राष्ट्रियक्षेत्रमा समेत तरंग पैदा हुने गरी महान् बहसको सृष्टि गर्नुपर्ने उनको विचार छ । प्रस्तुत छ, पूर्वमन्त्रीसमेत रहेका सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश :

अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री

मूलतः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा केन्द्रित हुने र पार्टी काममा कमरेड प्रचण्ड केन्द्रित हुने भन्ने निर्णयले अब पार्टी पनि व्यवस्थित हुने र सरकार सञ्चालनमा पनि प्रभावकारिता आउने आशाको सञ्चार भएको छ । निर्णय आफैँमा दूरगामी महत्वको छ । तर, यो निर्णय व्यवहारमा उहाँहरूले कसरी उतार्नुहुन्छ त्यसमा धेरै कुरा अन्तरनिहित हुन्छ । किनभने, हरेक ठीक निर्णयलाई ठीक ढंगले कार्यान्वयन गर्ने कुरामा नै त्यसको प्रभावकारिता अन्तरनिहीत हुन्छ ।

अब पार्टीका गतिविधि नितान्त नयाँ ढंगले अगाडि बढ्ने छन् । र, अहिलेसम्म खडा भएका हरेक प्रश्नको उत्तर दिएर पार्टी अगाडि बढ्ने छ भन्ने अपेक्षा सर्वत्र छ ।

पार्टी भनेको विचारको पुञ्ज हो । अझ कम्युनिष्ट पार्टी भनेको त समाजमा रहेको सबैभन्दा अग्रगामी चेतनाले लैस भएको एउटा संगठन हो । त्यसकारण पार्टी बनाउनका लागि सबैभन्दा पहिला विचार, त्यसको मार्गनिर्देशक सिद्धान्त, दृष्टिकोण, राजनीतिक कार्यदिशाहरू स्पष्ट हुन जरुरी हुन्छ । अहिले त हामी एकप्रकारले भन्ने हो भने तदर्थ स्थितिमा छौँ । धेरै ठूलो बहसका बीचबाट महान् संश्लेषणको जरुरत छ ।

पार्टी एकता घोषणाको लामो समयपछि दुई अध्यक्षको कार्यविभाजन भएको छ । यसको महत्व र दीर्घकालीन प्रभाव के छ ?

यसको धेरै ठूलो महत्व छ । यसको दीर्घकालीन प्रभाव पनि धेरै राम्रोसँग पर्ने छ । पार्टी एकताकै बेलामा यो कुरा स्पष्ट थियो । केही समय यो केही अस्पष्टजस्तो, केही भ्रमजस्तो देखियो । तर, अन्ततः त्यो भ्रम साफ भयो र स्पष्ट भयो । पार्टी एकता सुदृढ गर्नका लागि तथा राजनीतिक स्थायित्वका लागि । यो निर्णय बहुआयामिक महत्वको छ र यसको दूरगामी असर र प्रभाव रहने छ । मूलतः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा केन्द्रित हुने र पार्टी काममा कमरेड प्रचण्ड केन्द्रित हुने भन्ने निर्णयले अब पार्टी पनि व्यवस्थित हुने र सरकार सञ्चालनमा पनि प्रभावकारिता आउने आशाको सञ्चार भएको छ । तर, अब यो निर्णय व्यवहारमा उहाँहरूले कसरी उतार्नुहुन्छ त्यसमा पनि धेरै कुरा अन्तरनिहित हुन्छ । हरेक ठीक निर्णयलाई ठीक ढंगले कार्यान्वयन गर्ने कुरामा नै त्यसको प्रभावकारिता अन्तरनिहीत हुन्छ । त्यसैले अब उहाँहरूले व्यवहारमा यो निर्णयलाई ठीक ढंगले कार्यान्वयन गर्नुपर्छ भन्ने आम अपेक्षा छ ।

लामो समयदेखि पार्टीका बैठक नियमित हुन सकेका छैनन् । पार्टी पद्धतिमा चलेन, विधिमा चलेन भन्ने आम गुनासो थियो । पछिल्लो विकाससँगै अब पार्टी ट्र्याकमा आयो भन्न सकिन्छ ?

एउटा आधार तय भएको छ । दिशा सोझिएको छ । आम कार्यकर्ता र जनताकोस्तरमा आशाको सञ्चार भएको छ । त्यसैले दुवै अध्यक्षले अब गरिएका निर्णय इमान्दारीपूर्वक कार्यान्वयन गर्नेतर्फ जानुपर्दछ । हामी बहुदलीय व्यवस्थामा छौँ । यो व्यवस्थामा पार्टी नै सर्वोपरी हो । त्यसैले आशा गरौँ, अब पार्टीका गतिविधि नितान्त नयाँ ढंगले अगाडि बढ्नेछन् । र, अहिलेसम्म खडा भएका हरेक प्रश्नको उत्तर दिएर पार्टी अगाडि बढ्नेछ भन्ने अपेक्षा सर्वत्र छ ।

पार्टी एकता घोषणा गर्दैगर्दा दुई वर्षभित्र महाधिवेशन गर्ने भनिएको थियो । तर, डेढ वर्षभन्दा बढी समय एकताको प्रक्रिया टुंग्याउनमै बित्यो । के अब सांगठनिक एकताको एउटा चरण सकिएर नेकपा महाधिवेशनतिर उन्मुख भएको अवस्था हो ?

तपाईंले धेरै महत्वपूर्ण प्रश्न गर्नुभयो । किनभने, पार्टी भनेको विचारको पुञ्ज हो । अझ कम्युनिष्ट पार्टी भनेको त समाजमा रहेको सबैभन्दा अग्रगामी चेतनाले लैस भएको एउटा संगठन हो । त्यसकारण पार्टी बनाउनका लागि सबैभन्दा पहिला विचार, त्यसको मार्गनिर्देशक सिद्धान्त, दृष्टिकोण, राजनीतिक कार्यदिशाहरू स्पष्ट हुन जरुरी हुन्छ । अहिले त हामी एकप्रकारले भन्ने हो भने तदर्थ स्थितिमा छौँ । धेरै ठूलो बहसका बीचबाट महान् संश्लेषणको जरुरत छ । जस्तो, तपाईंलाई थाहा नै छ पूर्वमाओवादी धाराले माक्र्सवाद–लेनिनवाद–माओवाद भन्थ्यो । पूर्वएमालेले माक्र्सवाद लेनिनवाद भन्थ्यो । अहिले पार्टी एकताको महान् उद्देश्य हासिल गर्नका लागि हामीले माक्र्सवाद–लेनिनवाद भनेका छौँ । तात्कालीन कार्यनीतिक सिद्धान्तमा पनि हामीले जनताको जनवाद भनेका छौँ । पहिले पूर्वएमालेको धारले जनताको बहुदलीय जनवाद भनेको थियो । हामीले २१औँ सताब्दीको जनवाद संश्लेषण गरेका थियौँ । अब यी यावत विषयहरूमा, दार्शनिक, सैद्धान्तिक, वैचारिक अनि राजनीतिक कार्यदिशा, नेपाली मौलिकतासहितको समाजवादको बहस पनि हामीले गर्नुछ । किनभने, नेपालको राजनीतिक कार्यदिशा नेपालकै जस्तो हुन्छ । संसारभरको अनुभव पनि हामीले लिनुपर्छ, तर नेपालमा कस्तो विचारधारा लागू हुन्छ भन्ने कुरा नेपालकै विचारबाट पैदा हुनुपर्छ र नेपालको समाजवादको मोडल पनि नेपालकैजस्तो हुनुपर्छ । यी सबै कुरालाई संश्लेषण गर्नका लागि महाधिवेशन नितान्त जरुरी छ । हामीले पार्टी एकता गरेको १६–१७ महिना भइसकेको छ । अब विधानतः पनि र कानुनतः पनि अब हामीले छिट्टै महाधिवेशन गर्नुपर्दछ । त्यसैले अब सम्भवतः केन्द्रीय समितिको बैठक बसेर एउटा महान् बहसको प्रक्रिया अगाडि बढाउँछ ।

भनेपछि, ‘ग्रेट डिबेट’को ढोका खुल्न लागेको हो ?

हो । स्थिति अगाडि बढेको छ र बढ्नुपर्दछ । म फेरि पनि जोड दिएर भन्छु, विचारले नै पार्टीलाई अगाडि बढाउने हो । विचारको विकासद्वारा नै हामीले दिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई साकार पार्न सकिन्छ । यस्तै, विचार, सिद्धान्त, कार्यनीतिक सिद्धान्त, कार्यदिशा, हामीले अवलम्बन गर्ने समाजवादी बाटो तय गर्नका लागि, छलाङ मारेर अगाडि जानका लागि अन्ततः विचारको विकास गर्नुको विकल्प छैन । त्यसका लागि महाधिवेशनको निर्णय गर्ने, महान् बहसको प्रक्रिया अगाडि बढाउने र पार्टीका सबै आठ लाख कार्यकर्तालाई विचारको बहसमा संलग्न गराउनुपर्दछ । म त भन्छु, कार्यकर्तामा मात्र सीमित हुने होइन कि यो देशका बुद्धिजीवी, प्रोफेसर, डाक्टर, थिंकट्यांक सबैलाई, सिंगो राष्ट्रलाई बहसमा संलग्न गराउनुपर्दछ । एकहदसम्म अन्तर्राष्ट्रियक्षेत्रमा समेत तरंग पैदा हुने गरी त्यो महान् बहसको सृष्टि गर्नुपर्दछ र त्यसका बीचबाट विचारको संश्लेषण गर्नुपर्दछ । अब बेला भयो । अब केन्द्रीय समितिको बैठक बसेर महान् बहसको प्रक्रिया अगाडि बढाउने भनेर निर्णय गर्नुपर्दछ र विधिवत रूपमा अगाडि बढ्नुपर्दछ ।

नेपालको राजनीतिक कार्यदिशा नेपालकै जस्तो हुन्छ । संसारभरको अनुभव पनि हामीले लिनुपर्छ, तर नेपालमा कस्तो विचारधारा लागू हुन्छ भन्ने कुरा नेपालकै विचारबाट पैदा हुनुपर्छ । र, नेपालको समाजवादको मोडल पनि नेपालकैजस्तो हुनुपर्छ । यी सबै कुरालाई संश्लेषण गर्नका लागि महाधिवेशन नितान्त जरुरी छ ।

चिनियाँ राष्ट्रपतिले यहाँ आएर भन्नुभयो, ‘कुनै अरु तरिकाले होइन, जनताको विश्वास जितेर नै हामी अगाडि बढेका छौँ । जनताको विश्वासकै जगमा समाजवादी मोडल खडा गरेका छौँ ।’ यो हाम्रा लागि निकै राम्रो ‘रिफरेन्स’ हो ।

केही साताअघि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नुभयो । त्यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र नेकपाको स्कूल विभागको आयोजनामा दुई दिने वैचारिक बहस चल्यो । नेकपा यतिबेला नयाँ वैचारिक धार निर्माणको प्रक्रियामा छ । नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीले बोक्दै आएको विचारधारा पछ्याउन खोजेको हो वा ‘रिफरेन्स’का रूपमा लिन मात्र खोजिएको हो ?

कुरा यसो हो, अहिले चीनले एउटा मोडल प्रस्तुत गरेको छ । चिनियाँ राष्ट्रपतिले नै यहाँ आएर भन्नुभयो, ‘हामीले कुनै अरु तरिकाले होइन, जनताको विश्वास जितेर नै अगाडि बढेका छौँ । जनताको विश्वासकै जगमा समाजवादी मोडल खडा गरेका छौँ ।’ यो उहाँको पहिलो महत्वपूर्ण कुरा थियो । यस्तै, उहाँले दोस्रो महत्वपूर्ण कुराका रूपमा राख्नुभयो, ‘हामीले ‘मेरिटोक्रेसी’को आधारमा अर्थात् क्रमशः जनताको सेवा गर्दै, जनतासँग घुलमिल गर्दै, जनताको विश्वास आर्जन गर्दै अगाडि बढेका छौँ ।’ हुन पनि उहाँ आफूले आफ्नो जीवनमा त्यसै गर्नुभएको छ । उहाँ स्थानीय तहदेखि नै काम गर्दै आउनुभयो । यो हाम्रालागि निकै राम्रो ‘रिफरेन्स’ हुन सक्छ । तर, फेरि हाम्रो विचार, हाम्रो समाजवादी मोडल नेपाली मौलिकताकै हुन्छ, हाम्रो अनुसारकै हुन्छ । हाम्रो विचारको विकास गर्नका लागि चिनियाँ अनुभव निकै महत्वपूर्ण आधार बन्न सक्छ, तपाईंले भनेजस्तो ‘रिफरेन्स’ बन्न सक्छ । तर, हामीले नेपालकै मोडल विकास गर्नुपर्दछ । अब बहुदलीय जनवादका सकारात्मक कुराहरू, २१औँ सताव्दीमा जनवादको विकासका सकारात्मक कुराहरू लिएर नयाँ संश्लेषण गर्नुपर्दछ ।

विचार भनेको निरन्तर विकास हुने हो । विचार कुनै जडसूत्र होइन । वास्तवमा ‘नलेज’को परिभाषा त बदलिँदैछ । मलाई असाध्यै मन पर्ने महान् माक्र्सले भनेको एउटा वाक्यांश छ, ‘जीवनको अन्तिम घडीसम्म मानवजातिका लागि परिश्रम गर्ने’ । एकदशअघिसम्म म त्यसैलाई दोहो¥याएर मेरा हरेकजसो सार्वजनिक मन्तव्य टुंग्याउँथे । तर, अहिले त्यो परिभाषा पछाडि प¥यो । अहिले नयाँ परिभाषाका रूपमा ‘धर्तीका लागि परिश्रम गर्ने’ भन्न थालियो । यो धर्तीका सबै प्राणीहरूको भलाइको कुरा आउन थाल्यो । यसरी ‘नलेज’को परिभाषा त बदलिँदैछ भने हामीले एउटा विकास ग¥यौँ, अब भयो भन्ने होइन । हरेकपटक नयाँ विचारको विकास गर्नैपर्दछ । त्यो समाजवादको मोडल पनि, हाम्रो कम्युनिष्ट पार्टीको विचार पनि नेपाली मौलिकतामै विकास हुनेछ । तर, फेरि पनि अहिले सबैभन्दा बढी ‘फिडब्याक’ लिने, ‘रिफरेन्स’ लिने भनेको चिनियाँ कम्युनिष्ट पार्टीबाटै हो । किनभने, चिनियाँ कम्युनिष्ट पार्टीले चमत्कार गरिरहेको छ । उसले भनेको मात्र छैन, गरेर देखाइदिएको छ । अहिले भर्खरै बिआरआईको सम्मेलन धर्तीकै ‘प्याराडाइम सिफ्ट’ गर्ने गरी सम्पन्न गरेको छ । त्यसकारणले गर्दा हामीले उहाँहरूको अनुभवबाट विचार निर्माणमा धेरै ठूलो ‘फिडब्याक’ लिन सक्छौँ । तर, हाम्रो आफ्नै मौलिकता हुन्छ ।

हामीले अहिले सबैभन्दा बढी ‘फिडब्याक’ लिने, ‘रिफरेन्स’ लिने भनेको चिनियाँ कम्युनिष्ट पार्टीबाटै हो । किनभने, चिनियाँ कम्युनिष्ट पार्टीले चमत्कार गरिरहेको छ । उसले भनेको मात्र छैन, गरेर देखाइदिएको छ । अहिले भर्खरै बिआरआईको सम्मेलन धर्तीकै ‘प्याराडाइम सिफ्ट’ गर्ने गरी सम्पन्न गरेको छ ।

कतिपय सन्दर्भमा चीनको भन्दा हाम्रो मौलिक अभ्यास निकै महान् छ । हामीले जनयुद्ध, जनआन्दोलन, सशस्त्र संघर्ष सबै गरेर अन्तिममा जनमतको श्रेष्ठता सावित ग¥यौँ । लोकतान्त्रिक अभ्यासद्वारा हामी यहाँसम्म आइपुगेका हौँ । त्यसअर्थमा यो धेरै अनुकुल स्थिति हो । हामीलाई लोकतन्त्रलाई अझै विस्तार गर्ने सुविधा छ ।

चिनियाँ मोडललाई ‘फिडब्याक’का रूपमा लिन पनि कठिनाइ होला नि । किनभने, चिनियाँ कम्युनिष्ट पार्टी जनवादी क्रान्ति सम्पन्न गरेर सत्तामा पुगेको हो । तर, नेपालमा त पटकपटक सम्झौतामा गएर आन्दोलन र क्रान्ति टुंगिएको छ नि ?

तपाईंले भनेजस्तै चीनमा सन् १९४९ मा क्रान्तिद्वारा नयाँ जनवादको स्थापना भयो । तर, तपाईंले हेर्नुभयो भने चीनका सबै नेताहरू राष्ट्रवादी छन् । यतिसम्म कि जनवादी क्रान्ति सम्पन्न भएपछि भागेर च्याङकाइ सेक ताइवान जानुभयो । तर, उहाँले एक चीन नीति कहिल्यै छोड्नुभएन । सन् यात्सेनकै कुरा हेर्नुहुन्छ भने पनि उहाँकै तीनवटा कुरा, राष्ट्रियता, जनतन्त्र, जनजीविकाकै विकसित कुरा गर्नुभएको हो, माओत्सेतुङले । अन्तिममा ८३ वर्षको उमेरमा माओत्सेतुङले म कन्फिसियसको अध्ययन गर्दैछुसम्म भन्नुहुन्थ्यो । त्यसकारण चिनियाँ नेतालाई हेर्नुभयो भने ती सबै राष्ट्रवादी छन् । उहाँहरूले चीनका सबै सकारात्मक कुरालाई संश्लेषण गरेर क्रान्ति सम्पन्न गर्नुभयो । चीनको महान् पुनस्र्थापना भन्नुहुन्छ, उहाँहरू । तर, नेपालको सन्दर्भमा त्यो शब्द राम्रो मानिँदैन ।

फेरि, कतिपय सन्दर्भमा चीनको भन्दा हाम्रो मौलिक अभ्यास निकै महान् छ । हामीले जनयुद्ध, जनआन्दोलन, सशस्त्र संघर्ष सबै गरेर अन्तिममा जनमतको श्रेष्ठता सावित ग¥यौँ । लोकतान्त्रिक अभ्यासद्वारा हामी यहाँसम्म आइपुगेका हौँ । त्यसअर्थमा यो धेरै अनुकुल स्थिति हो । हामीलाई लोकतन्त्रलाई अझै विस्तार गर्ने सुविधा छ । महान् माक्र्सले साम्यवादको यात्रामा लोकतन्त्र अपरिहार्य छ, लोकतन्त्र भएरै जानुपर्छ भन्नुभएको छ । त्यसअर्थमा पनि यो धेरै सकारात्मक पक्ष हो । त्यसकारण हामीले संसारका सबै अनुभवलाई इमादारीपूर्वक अध्ययन गर्ने र त्यसबाट शिक्षा लिने तथा नेपालमा हामीले जे–जे गरिरहेका छौँ, साँच्चिकै निष्ठाका साथ त्यसलाई संश्लेषण गर्न सम्भव छ ।

समाजवादतिर जाने लक्ष्य संविधानले पनि निर्दिष्ट गरेको छ । तर, व्यवहारतः दुईतिहाइको सरकारका पालामा पनि शिक्षा, स्वास्थ्य सार्वजनिक यातायातजस्ता क्षेत्रमा सरकार निरिह देखिन्छ । कसरी हामी समाजवादतिर जान सक्छौँ ?

तपाईंले भनेको कुरा धेरै महत्वपूर्ण छ । हामीले संविधानमा समाजवादउन्मुख राज्यव्यवस्था भनेर सबैलाई सहमत गराएर लिपिबद्ध ग¥यौँ । तर, त्यहीअनुसार हाम्रो तयारी भएको छैन । शिक्षाको कुरा गर्दा, शिक्षामा जति लगानी गर्नुपथ्र्यो, त्यति हुन सकेको छैन । लगानी भनेर आर्थिक मात्रै कुरा गरेको छैन । त्यसमा गर्नुपर्ने अनुसन्धानमै पनि कमी भएको छ । प्रविधिमा जति जोड दिनुपथ्र्यो, त्यो गर्न सकिएको छैन । अध्ययन, अनुसन्धान, खोज, आफ्नै आविस्कारमा जोड दिन सकिएको छैन । चीनले किन त्यस्तो चमत्कार गरेको छ भने, उसले आफ्नै खोजअनुसन्धानलाई विकास गरेको छ । चीनले जहिले पनि सरल कुरा भनेर महानतम उपलब्धि हासिल गर्ने गरेको छ । चीनले सन् २०२५ मा ‘मेड इन चाइन’ भनेको छ । अहिलेसम्म संसारका प्रविधि प्रयोग गरेका छन् । तर, अब सन् २०२५ सम्ममा विकास निर्माणका लागि, उन्नति र प्रगतिका लागि चाहिने सबै यन्त्र, उपकरणको आविस्कार आफैँले गर्ने घोषणा उसले गरेको छ । तर, हाम्रो सुरुआत नै भएको छैन । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातमा तपाईंले भनेजस्तै अवस्था छ । यी कुरामा सरकार अलि दृढतापूर्वक लागोस् भन्ने जनताले चाहेका छन् । तर, सम्बद्द मन्त्रालयले, स्वास्थ्य मन्त्रालयले, शिक्षा मन्त्रालयले रणनीतिक काममा केन्द्रित गर्न सकेको छैन । अब गम्भीर गृहकार्य गर्नैपर्दछ ।

प्रस्तुति : छविरमण अधिकारी

प्रतिक्रिया दिनुहोस्