Logo
Logo
कला

‘गीत श्रोताको मनमस्तिष्कमा रहिरहने हुनुपर्छ’



नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन् रेजिना परियार । सानैदेखि गीतसंगीतप्रति रुची राख्दै आएकी रेजिना झण्डै दुई दशकदेखि गायन क्षेत्रमा क्रियाशील छिन् । उनी आफूलाई अझै पनि संघर्षरत गायिका बताउँछिन् । ‘हरेक क्षेत्रमा संघर्ष र मिहिनेत गरे सफलता हासिल गर्न सकिन्छ’ भन्ने उनको मान्यता छ । छोटो समयमै गीतसंगीत क्षेत्रमा आफूलाई चिनाउन सफल रेजिना भन्छिन्, ‘गायनमा लागेयता फुर्सदमा बस्नुको परेको छैन । त्यसैमा खुसी छु ।’

गोरखा सुलिकोटकी रेजिनाले गाउँदेखि नै गाउन थालेकी हुनु । यहाँसम्म आइपुग्न निकै संघर्ष गरेको रेजिनाको भनाइ छ । ‘संघर्ष त धेरै नै गरेकी छु’ उनी भन्छिन्, ‘अझै संघर्षकै पिरियडमा छु ।’ गीतसंगीतमा साधना धेरै चाहिने उनको भनाइ छ । रेजिनाका ‘मायाले जाने दाङ सल्यान’, ‘चियाबारीमा’, ‘फूल राम्रो फूलकै बासनाले’, ‘माया माया भनेर’, ‘जोडी ढुकुर’, ‘पोखरा रोधीघरैमा’जस्ता थुपै गीत चर्चित छन् । गायिका रेजिना परियारसँग दृष्टिको जम्काभेट

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
गीतसंगीतमै व्यस्त छु । रेकर्डिङका साथै लाईभ दोहोरी पनि गरिरहेकी छु । त्यसबाहेक भर्खरै मात्र मेरो ‘रुन्छु धर्केर’ बोलको गीत आएको छ । त्यसको प्रमोशन पनि गर्दैछु ।

गायन क्षेत्रमा लाग्नुभएको कति भयो ?
सानैदेखि गाउँथेँ । त्यसैले गायिका नै बन्छु भनेर २०६१ सालमा काठमाडौं आएँँ । त्यसपछि पहिलोपटक ‘बस्यो दिल बोलीमा’ गाएँ । त्यो नै मेरो पहिलो गीत हो । गायनमा रमाउँदै जाँदा झण्डै दुई दशक भएछ ।

तपाइँको गायनयात्रा गाउँबाटै हो ?
गाउनचाहिँ गाउँबाट सुरु गरेकी हुँ । तर, गाउने भएपछि आफूमा अझ निखार्न काठमाडौं आएर संगीत सिकेँ । मैले पुतलीसडकस्थित संगीत पाठशालामा दुई वर्ष संगीतबारे अध्ययन गरेँ । त्यसपछि व्यवसायीरुपमा गाउन थालेकी हुँ ।

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । गीतसंगीतसँगै आफ्ना केही व्यक्तिगत र केही सामाजिक कामहरु गर्दै आएकी छु । तर, सबैभन्दा धेरै व्यस्त हुने भनेको गीतसंगीतमै हो । केही अफिसियल गीत आउने क्रममा छन् । केही रेकर्डिङमा छन् ।

तपाइँको लोकप्रिय गीत कुन हो ?
आफ्ना सबै गीतहरू मनपर्ने नै भयो । तर, चर्चित गीतहरूको कुरा गर्दा अथवा दर्शक/श्रोताले मन पराएको हिसाबमा भन्नुपर्दा ‘रुन्छु धर्केर’ गीतले एक मिलियनभन्दा बढी युट्युबमा भ्युज पाएको छ । साथै, अन्य गीतबाट पनि दर्शक/श्रोताको साथ पाएकी छु ।

यहाँसम्म आइपुग्न कत्तिको संघर्ष गर्नुभयो ?
समस्याले नै सफलताको बाटो देखाउँछ । कडा मिहिनेत र संघर्षबाट पाएको सफलताको ठूलो महत्व हुन्छ । यहाँसम्म आइपुग्दा नेपाली गीतसंगीतमा एउटा परिचय बनाएकी छु । तैपनि आफूलाएै संघर्षरत गायिका भन्न रुचाउँछु ।

पछिल्लो समय लोकदोहोरीको क्रेज घटेको हो ?
मलाई त्यस्तो लाग्दैन । झन् बढ्दै गएको पाउँछु । यो क्षत्रेमा रहनुभएका स्रष्टाहरूको व्यस्तता झन् बढ्दोछ । विभिन्न मेला महोत्सवमा पनि लोकदोहोरी क्षेत्रका स्रष्टाको माग त्यत्तिकै छ अनि कसरी क्रेज घट्यो भन्ने । मलाई लाग्छ, लोकदोहोरीको टिपिकल फ्लेबर र मौलिकताचाहिँ हराउँदै गएको हो कि ।

लोकदोहोरीको मौलिकता हराउँदै जानुको कारण के हो ?
पछिल्लो समय लोकदोहोरीको नाममा केही छाडा गीतले प्राथमिकता पायो । लोकदोहोरी क्षेत्रमा कुनै मापदण्ड नभएकाले पनि कस्तो गीत बजारमा ल्याउने भन्ने छैन । र, गीतसंगीत नै नसिकी पैसाका भरमा आएकाहरूले गर्दा यो क्षेत्रमा बेला बेला औंला उठ्ने गरेको छ । तर, यदि अहिले पनि राम्रा ठेट लोकगीतलाई दर्शक/श्रोताले रुचाउँनुहुन्छ ।

लोकदोहोरी क्षेत्रमा आएको परिवर्तनलाई कसरी हेर्नुहुन्छ ?
परिवर्तन हुनु राम्रो हो । यसका सकारात्मक र नकारात्मक पाटा हुन्छन् । स्टुडियोदेखि बजारीकरणसम्म ठूलो परिवर्तन भएको छ । स्वर र क्षमता हुनेले सजिलै प्लेटफर्म पाएका छन् । तर, विकाससँगै विकृतिहरू पनि छन् । हामी भाइरलमा रमाउन थालेका छौँ । भाइरलले केही दिन खुसी दिन सक्छ, तर, दीर्घकालीन उपलब्धि हुँदैन ।

भाइरल हुने प्रवृत्तिलाई कसरी लिनुहुन्छ ?
लोकसंगीतले एउटा इतिहास बोकेको छ । यसको धरातल कमजोर छैन । भाइरलका नाममा लोकदोहोरीको प्रयोग हुँदा लोकदोहोरीको जगलाई समस्यामा त नपार्ला । जो भाइरल बन्न रुचाउँछ, भाइरलभन्दा पनि कालजयी गीत सिर्जना गर्नु राम्रो हो । भाइरल आज आउँछ भोलि जान्छ । मलाई भाइरल हुनु छैन, सधै श्रोताको मनमस्तिष्कमा रहिरहने गीतको पक्षमा छु ।

गीतसंगीतमा लागेर के पाउनुभयो ?
सबैभन्दा ठूलो दर्शक र श्रोताको माया पाएकी छु । र, नाम र सम्मान पनि पाएकी छु । मेरा केही गीतले अवार्ड पाउन सफल भएको छ । केही अवार्डको नाम लिनुपर्दा ‘आठौँ नेशनल क्यापिटल अवार्ड २०७८, स्टार इन्टरनेशनल म्युजिक अवार्ड २०२१, इण्डो नेपाल फ्रेण्डसिप इन्टरनेशनल अवार्ड २०२१, हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड २०१९, म्युजिक खबर म्युजिक अवार्ड’जस्ता अवार्ड गीतसंगीत क्षेत्रबाट पाएकी छु ।

यहाँसम्म आइपुग्दा कस्तो अनुभूति भइरहेको छ ?
खुसी छु । रहर र इच्छाले गायनमा लागेकी हुँ । एक किसिमले रहर मात्र होइन, यो क्षेत्रमा सफलता पनि पाएकी छु् जस्तो लाग्छ । निरन्तर संघर्ष र प्रयासबाट यहाँसम्म आइपुगेकी हुँ । जसमा दर्शक तथा श्रोताको सबैभन्दा ठूलो देन छ ।

प्रतिक्रिया दिनुहोस्