Logo
Logo

अमूल्य उपहारकै रुपमा छोरीलाई मायाले च्यापें !




जीवनमा सुखपछि दुःख र दुःखपछि सुख पनि आउँछन् भन्छन् । तनावले सीमा नाघेर जीवन अत्तालिएको भएपनि उज्यालो देख्नै छोडेकी भने थिइनँ । दोस्रो सन्तान राम्रोसँग जन्मियोस्, “तेस्रो सन्तान भने अब जन्माउने छैन” भनेर आफैले निर्णय गरेँ । दुवै पटकको भिन्दाभिन्दै अनुभव भैसकेको थियो ।

बाँच्ने त आफैले हो, बाँच्नलाई योजना पनि चाहिँदो रहेछ, उद्देश्यले मात्र पुग्ने रहेनछ । बाँच्ने भनेको व्यवहारमै हो, गतिमा हो । सपनामा मात्र हिँडेर त कहिँ पुगिँदैन । आफ्नो जीवनको साँचो आफैसँग छ भन्ने कुराले आफैलाई ढाडस पनि दिइरहेँ जस्तै अप्ठ्यारोमा पनि ।

हामी चीन जानु अगाडि झण्डै दुई वर्ष पाटन अस्पतालमा सरोजले काम गर्दा केही स्थिर हुन खोज्दै थियो जिन्दगी । फेरि केही महिना राजविराजको अस्पतालमा काम गर्न गए । म माइतीमा गएर बसेँ । चीन जाने बेलासम्म नै म आमासँग बसेकी थिएँ पहिलो सन्तान छोरीलाई लिएर । डाक्टरसँग बिहे गरे पनि आर्थिक हिसाबले आशा गर्न सक्ने अवस्था अझै थिएन । जीवनमा पैसा पनि चाहिन्छ भन्ने कुरा र पैसाको महत्वबारे सरोजले बिल्कुलै नबुझे जस्तो लाग्थ्यो ।

बेला बेलामा म भन्ने पनि गर्थेँ – “जोगी हुनुपर्ने मान्छे डाक्टर भएछ !” घर व्यवहारबारे त मतलबै नराख्ने मात्र हैन, त्यतापटिको कुनै ज्ञान नै थिएन । म दुईजीउकी भइसक्दासमेत बच्चै जन्माउन पनि पैसा चाहिन्छ र त्यो आफ्नो जिम्मेवारीको कुरा पनि हो भन्ने महसुस नै नगरेजस्तो लाग्थ्यो । त्यो बेला त झन् त्यही अस्पताल बनाउने धुनमा अरु सबै कुरा बिर्सेको जस्तो लाग्ने ।

अघिल्लो सालको मार्च १२ मा जापान पुगेको बेला आत्मीय मित्रहरूबाट जन्मदिनको शुभकामना पाएकी थिएँ र पहिलो पटक जन्मदिन मनाएकी थिएँ । अहिले भने प्रकृतिले मलाई जन्मदिनको अमूल्य उपहार दिएको थियो– सानी छोरी । म खुसी भएँ । अमूल्य उपहारकै रुपमा छोरीलाई मायाले च्यापें !

पहिले पहिले अरु अस्पतालमै काम गरेको बेला पनि पैसाले कहिल्यै पुग्दैनथियो । कहिले केमा कहिले केमा सोच्दै नसोचिकन खर्च भैरहने । अरुलाई सहयोग गर्न आफूसँग छ छैन पनि यादै नगर्ने मान्छे–सरोज । परोपकारी हुनु राम्रो हो । अरुको हितको निम्ति काम गर्ने बानी पनि राम्रो हो । तर, आफ्नै परिवारबारे ध्यान कम हुनु चाहिँ अव्यावहारिक नै हो ।

साहसी, दानी, प्रतिभावान र क्रान्तिकारी सबै गुणले भरिएको– मैले खोजेजस्तै मान्छे थिए सरोज । अलि व्यावहारिक मात्र भइदिए कति राम्रो हुन्थ्यो ! तर, त्यति नभइदिँदा अनावश्यक दुःख खेपिरहनुपर्याे ।

पाटन अस्पतालमा कामगर्दा कहिले कहिले २४ घण्टा, ३६ घण्टा लगातार ड्यूटीमा रहेर बिरामीको सेवा गरेको याद छ मलाई । त्यति काम गरेर पनि नपुगेर बिरामीलाई आवश्यक पर्दा आफ्नै रगत दिने गरेको पनि थाहा छ । धेरै काम गरेर सुत्न पनि नपाएको बेला आफ्नै रगत दान दिएकोमा म खुसी हुन सक्तिनथिएँ । डाक्टर आफै कमजोर र बिरामी भएपछि अरु विरामीलाई कसरी हेरविचार पु¥याउन सकिन्छ भन्ने चिन्ता लाग्थ्यो । पछिसम्म पनि आफ्नो पैसाले गरीब बिरामीलाई औषधि किनिदिने काम गरेको थाहा छ ।

आफूसँग पैसा नभएको बेला आफ्नै नाममा उधारो लेखिदिएर पनि बिरामीलाई औषधि पु¥याउनु, डिस्चार्ज गराउनु, उचित हो कि होइन म अलमलमा पर्थेँ । अरुबाट कहिलेकाहिँ आफ्नै बुढाको बारेमा उदारताको गुनगान सुन्दा गर्व पनि नलाग्ने हैन । तर, आफैलाई आवश्यक पर्दा सहयोगको निम्ति अरुको मुख हेर्न पर्दा भने दुःख लाग्थ्यो ।

दश बर्षपछि, दोस्रो बच्चा जन्मिने बेलासम्ममा पनि त्यही ताल थियो । मलाई भने खप्न पनि झन् झन् गाह्रो हुँदैथियो । एकपल्ट एक्लै हुँदा डायरीमा मैले एउटा सिंगो पानाभरी नै “विवश, विवश, विवश, विवश …” मात्र लेखेकी रहेछु । सबै मान्छेका आ–आफ्ना कथाव्यथा हुन्छन् । मेरो कथा भने यस्तो बन्यो, जसलाई राम्रो भन्न पनि नमिल्ने, नराम्रो भन्न पनि नसकिने !

चीनमा हुँदा नै म दुई जीउकी भइसकेकी थिएँ । पहिलो पटकको गर्भावस्था र सुत्केरी हुँदाको कुरा सम्झेर मैले भन्ने गरकी थिएँ – “पहिलो बच्चा हुँदाजस्तो यसपाली मैले दुःख पाउन नपरोस् है !” भनेर । बुढा हाँस्दै “हस्” भन्थे । तर, यो कुरालाई गम्भीर रुपमा नलिई अस्पताल बनाउने ध्याउन्नामा मात्र रहँदा आखिरमा सोचेजस्तो सजिलो हुन फेरि पनि सकेन ।

एकदिन आराम गर्न घरै बसेँ । त्यही राती मलाई ब्यथा लागेजस्तो भयो । पहिलेको अनुभवले पनि अस्पताल जानै पर्ने हो कि भन्ने लाग्यो । पहिलोपल्ट सुत्केरी हुँदा डाक्टरले दिएको समय भन्दा एकहप्ता ढिलो मात्र बच्चा जन्मेको थियो । तर, यसपाली भने दुई हप्ता अगाडि नै केही भइरहेको थियो । दौडेर अस्पताल जाने कि नजाने हुँदाहुँदै रातको १२ नै बज्यो । त्यो बेला मोबाइलको जमाना थिएन । तर, कसरी हतार हतार कम्युनिकेट हुन्थ्यो, अब त बिर्सी पनि सकियो ।

सरोजले मद्दतको निम्ति साथीभाइसँग हारगुहार गर्ने क्रममा गौरीजीसँग सम्पर्क भएछ । उहाँ बज्र होटेलमा हुनुहुँदोरहेछ । त्यहीँबाट ट्याक्सी पठाइदिने कुरा भएको थियो, तर आफै नै ट्याक्सी लिएर आउनुभयो । त्योबेला त्यति राति सडकमा सजिलै ट्याक्सी नपाइएला भनेर हो कि वा होटेलमा सजिलो हुन्छ भनेर हो त्यति टाढाबाटै ट्याक्सी लिएर गौरीजी आउनुभयो । ३० वर्ष अघिको कुरा भइसक्यो यो ।

आफूसँग भएको अलिकति पैसा झोलामा हालेर एउटा थर्मस र अलिकति आवश्यक सामान बोकेर बाहिर निस्क्यौँ । गौरीजीले ल्याइदिएको ट्याक्सीमा बसेर हामी सरोजको पुरानो कर्मस्थल पाटन अस्पताल पुग्यौँ । सजिलो पनि भयो– पाटन अस्पतालमा चिनेका डाक्टर, नर्सहरु भेटिन्छन् भन्नेमा भने म ढुक्क थिएँ । सरोज राती नै दाह्री काटेर चट्ट परेर अस्पताल जान तयार भए । अस्पताल पुगेर राती नै भर्ना भएँ ।

डाक्टर र नर्सहरूले तुरुन्तै लेबर रुममा लगे । यसपाली भने म ‘डाक्टरकी श्रीमती’ भएर अस्पताल पुगेकी थिएँ । प्रसव पीडा न हो, झन् झन् पीडा थपिँदै थियो । बुढा बाहिर कुर्सिमा पर्खिबसे । बिहानको ३ बजेपछि नयाँ सन्तानको जन्म भयो । छोरी भनेर त चीनबाटै अनुमान भइसकेको थियो । नवजात छोरीको अनुहार देख्दा मन आनन्द भयो । जीउ पनि सञ्चो भयो !

हुनुपर्ने कुरा भएरै छोड्छ । छोरी मेरै जन्मदिनमा जन्मेकी थिई । र, यो कुरा प्रकृतिलाई मात्र थाहा थियो । मेरो जन्मदिन हो भनेर अरूलाई भनेकी थिइन । सरोजलाई पनि खासै हेक्का थिएन । मलाई पनि सम्झना हुने थिएन होला । तर, अघिल्लो सालको मार्च १२ मा जापान पुगेको बेला आत्मीय मित्रहरूबाट जन्मदिनको शुभकामना पाएकी थिएँ र पहिलो पटक जन्मदिन मनाएकी थिएँ । अहिले भने प्रकृतिले मलाई जन्मदिनको अमूल्य उपहार दिएको थियो– सानी छोरी । म खुसी भएँ । अमूल्य उपहारकै रुपमा छोरीलाई मायाले च्यापें !

प्रतिक्रिया दिनुहोस्