Logo
Logo

निगमलाई अर्बौँको क्षति, अध्यक्षलाई करोडौँ कमिशन



काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको निकम्मापनले निगम डुब्ने अवस्थामा पुगेको छ । निगमको आयस्रोत भनेकै जहाजको आम्दानी हो । तर, कार्यकारी अध्यक्ष अधिकारी व्यापार बढाउनुभन्दा इन्जिन भाडामा लिएर कमिशन खानै व्यस्त छन् ।

अधिकारीले समयमा जहाजको इन्जिन मर्मत गर्नुभन्दा पनि भाडाको इन्जिन जहाजमा जडान गरेर निगमलाई अर्बौंको क्षति पु¥याएका छन् । अधिकारीले कमिशनको चक्करमा एउटै कम्पनीसँग इन्जिन भाडामा लिएर करोडौँ कमिशन खाने गरेका छन् ।

कमिशनकै लोभमा अधिकारीले पटक–पटक एउटै कम्पनीसँग इन्जिन भाडा तथा मर्मतका लागि सम्झौता गर्दै आएको स्रोतले बताएको छ । यसपटक आइएआई न्यारोबडी जहाजको इन्जिन लिजसहित मर्मत गर्न चार वर्षका लागि एमआरओ नियुक्त भएको छ । जहाज अढाई महिनासम्म ग्राउन्डेड हुँदा करिब ७९ करोड रुपैयाँ आम्दानी गुमेको छ । न्यारोबडी ग्राउन्डेड हुँदा निगमले दैनिक सरदर एक करोड पाँच लाख रुपैयाँ आम्दानी गुमाउने स्रोतले बताएको छ ।

लामो समयदेखि जहाज ग्राउन्डेड हुँदा निगमको अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बन्न पुगेको छ । इजरायलमा भाडाको इन्जिन जडान गरेर कलसाइन नम्बर ९एन–एकेएक्स जहाज साढे २ महिनापछि गत शुक्रबार काठमाडौंमा अवतरण ग¥यो ।

निगमले जहाजको इन्जिन मर्मत गर्न र भाडामा लिनका लागि आइएआईलाई एमआरओ नियुक्त गरेको छ । आइएआईले जहाजबाट बिग्रिएको इन्जिन झिकेर भाडाको इन्जिन फेर्नकै लागि १२ दिन लगाएको थियो । इन्जिनको बोरोस्कोप गर्दा समस्या देखिएपछि गत असार ३१ गतेदेखि एकेएक्स त्रिभुवन विमानस्थलमा ग्राउन्डेड थियो । जहाज थन्किएको ६४ दिनपछि बल्ल निगम व्यवस्थापनले एमआरओ छनोट गरी गत भदौ ३१ गते इन्जिन मर्मत र भाडाको इन्जिन फेरबदल गर्न जहाज इजरायल पठाएको थियो ।

कार्यकारी अध्यक्ष अधिकारी कमिसनमा लाग्दा कतिपय सेड्युल फ्लाइट र कनेक्टिङ फ्लाइट छुट्दा निगमलाई थप आर्थिक भार थपिएको छ । न्यारोबडी जहाज ग्राउन्डेड हुँदा छोटो दूरीमा थोरै यात्रु बोक्न पनि वाइडबडी जहाज उडाउनुपरेको थियो ।

बिग्रिएको इन्जिन इजरायलमा झारेर आइएआईको भाडाको इन्जिन जडान गरी जहाज नियमित उडानमा फर्किने कार्यतालिका थियो । इजरायलमा इन्जिन फिट गरेर काठमाडौं फर्किन निगमले पाँच दिनको समय छुट्याएको थियो । तर, इन्जिन फिट गर्ने क्रममा हट एयर भल्ब राम्रोसँग टाइट नगर्दा थप समस्या निम्तिएपछि १२ दिनसम्म लागेको स्रोतको दाबी छ ।

अधिकारीले कमिसन लोभमा पटक–पटक एउटै कम्पनीलाई इन्जिन मर्मत तथा भाडामा लिन एमआरओ नियुक्त गर्दै आएको छ । यसअघि ९एन–एकेडब्लु जहाजको इन्जिन मर्मत तथा भाडामा लिन पनि इजरायलकै आइएआई र एमटियूलाई छनोट गरिएको थियो ।

त्यतिवेला तीन महिनाका लागि भनेर ल्याइएको एमटियूको इन्जिन पाँच सय ४३ दिनसम्म राखिएको थियो । यस्तै, आइएआईले तीन महिनामा मर्मत गर्नुपर्ने इन्जिनलाई सात महिनासम्म झुलाएको थियो ।

इन्जिन मर्मतका लागि ३६ लाख अमेरिकी डलर लागत अनुमान गरिएकोमा आइएआईले ४२ लाख ५० हजार डलरको नक्कली बिल पठाएको स्रोतको दाबी छ । पछि साढे दुई लाख डलर घटाएर बिल भर्पाई गरिएको थियो ।

अहिले पनि निगम व्यवस्थापनले अक्षम ठहर भइसकेको कम्पनी आइएआईलाई चार वर्षसम्म लिजसहित इन्जिन मर्मतका लागि एमआरओ नियुक्त गरेको छ । आपसी समझदारीमा थप दुई वर्ष सहमति बढाउन सकिने बाटो समेत खुला गरिएको छ । एउटै कम्पनीले इन्जिन मर्मत तथा भाडामा लगाउँदा स्वार्थ बाझिने हवाई क्षेत्रका विज्ञ बताउँछन् ।

जहाज मर्मतका लागि इजरायल जाँदा तीनजना एयरहोस्टेस दुबई तथा पाँचजना इन्जिनियर र चालक दलका सदस्यसहित नौजना इजरायल पुगेका थिए । जसको दैनिक भत्ता नै प्रतिव्यक्ति सरदर १४० अमेरिकी डलरभन्दा बढी रहेको स्रोतले बताएको छ । इन्जिन फेरबदल गर्न ढिलाइ हुँदा १२ जना कर्मचारीलाई १२ दिनसम्म तारे होटेलमा राख्दा निगमलाई थप आर्थिक बोझ भएको छ ।

प्रतिक्रिया दिनुहोस्