Logo
Logo

सहश्राब्दीको अन्तिमतिरको एउटा अपरेशन



अहिले देश आक्रान्त छ– भीडतन्त्र, डाक्टर र स्वास्थ्यकर्मी माथिको हिंसा, स्वास्थ्यकर्मीहरूको असुरक्षा, अनि डाक्टरहरूको निराशामिश्रित आक्रोशले । एउटा ‘डाक्टर्नी’ भएर जिन्दगीमा मैले जे देखेकी छु, जे भोगेकी छु, त्यसमा टेकेर भन्नुपर्दा निर्धक्क भन्न सक्छु– डाक्टर (र कुनै पनि स्वास्थ्यकर्मी) माथिको यस्तो हिंसाले समाज कुसंस्कार, हिंसाभाव र अज्ञानको अन्धकार खाडलमा कसरी खस्दैछ भन्ने दुःखद तथ्यलाई देखाउँछ ।

समाज अधोगतितर्फ लागिरहेको छ । स्वास्थ्यकर्मीहरू माथिको हिंसा त सागरभित्र लुकेको हिमगिरीको टुप्पा (टिप अफ द आइसबर्ग) मात्र हो । त्योभन्दा डरलाग्दो कुरा हो राज्यले उत्तरदायित्व निभाउन नसक्नु र देश झन्झन् बौद्धिक दरिद्रता, अराजकता र नकारात्मकताको खाडलमा खस्दै जानुलगायतका अनगिन्ती समस्या ।

‘म ५५ वर्ष भएपछि सर्जरीबाट बिदा लिन्छु’ भन्थे सरोज । र, त्यसको निम्ति तयारीकै रूपमा आफ्नो डिपार्टमेन्टमा नयाँ पुस्ताको नेतृत्व विकास गर्न लागिपरेका थिए । ५६ वर्ष पुगेपछि भने उनले औपचारिक रूपमै आफ्नो मातहतका डाक्टरलाई विभागको नेतृत्व हस्तान्तरण गरे । अनि विस्तारै आफ्नो चिकित्सकीय जिम्मेवारी पनि छोड्दै गए । र, ६५ वर्षको उमेरतिरबाट उनी चिकित्सकीय जिम्मेवारीबाट बिदा भए । अहिले बढ्दो उमेरले दिएको फूर्सदमा हामी बुढाबुढीबीच जीवन र जगतका बारे कुराकानी भइरहन्छ । यही क्रममा निस्किने एउटा विषय हो– दुःखसत्य ।

एउटा ‘डाक्टरनी’को हैसयतमा मैले प्रत्यक्ष देखेका दुःखका अनेक रूपमा दुई महत्वपूर्ण दुःख हुन्– बिरामीको रोगजन्य दुःख (जसलाई बौद्ध शब्दावलीमा ‘दुःख दुःखता’ भनिन्छ) अनि अर्को चाहिँ बिरामीको चिन्ताले उत्पन्न डाक्टरको विशिष्ट दुःख– जो सधैँ करुणा, प्रेम र अनिश्चितताको मिश्रण हुने गर्छ ।

म आफैले पनि भोगेको अनुभव हो– बिरामी आफ्नो दुःखबाट छुटकारा पाउनका निम्ति हातमा चक्कु लिएर उभिएको सर्जनका अघिल्तिर ‘त्वम् शरणम्’ भनेझैँ गरी बेहोश भएर पल्टिन राजी हुन्छ । एउटा जिम्मेवार सर्जनका निम्ति यसले कति ठूलो उत्तरदायित्वको भारी थप्ने होला ? र, त्यो उत्तरदायित्व बोधले कति धेरै तनाव सृजना गर्ने होला !

सरोज सर्जनका रूपमा सक्रिय रहेका बेला अस्पतालबाट घर फर्किसकेपछि पनि बिरामीकै पीडालाई आत्मसात् गरिरहेका हुन्थे । तनावग्रस्त भएका बेला कहिलेकाहिँ मसँग उनी बिरामीका कुरा गर्थे । उसका परिवार र आर्थिक सामाजिक स्थितिका बारे कुरा गर्थे । र, उनले सधैँ गर्ने गरेको ‘मन्त्रोच्चारण’ हुन्थ्यो– ‘बिरामी केवल बिग्रेको यन्त्र हैन र म केवल मेकानिक हैन… मजस्तै त्यो मान्छेको मेरैजस्ता सपना छन्, प्रियजन छन्, कठिनाइहरू छन्…उसँगको मेरो सम्बन्ध विशिष्ट मानवीय सम्बन्ध हो– पवित्र !’

कहिलेकाहीँ उनी आफ्नो अनुभव सुनाउँथे । अप्ठ्यारा अपरेशनको बारेमा सुन्दा मेरो शरीर नै काप्थ्यो– मानौं त्यो बिरामीको कष्ट मेरो आफ्नै हो । कुनै पनि गम्भीर अवस्थाको बिरामी निको भएर गएको बेला बुढासँगै म पनि खुसी हुन्थेँ । मलाई उनको असाध्यै मायाँ लाग्थ्यो, उनीप्रति गर्व लाग्थ्यो । आफ्नो सर्जनको काम मात्र नभएर संस्थापकको हैसियतमा अन्य अप्ठ्यारा कामको भारी र तनाव पनि प्रशस्त बोक्नुपर्ने हुन्थ्यो उनलाई ।

बेला बेलामा अरुका गल्ती कमजोरीबाट निस्केको ‘हलाहल’ निलिदिन्थे उनी र आफ्नै घाँटी नीलो पारेर बस्थे । उनीसँग भएका अन्य कति प्रतिभाहरू फक्रिनै पाएनन् जस्तो लाग्छ मलाई बेलाबेलामा ।

केहीदिन अघि एउटा पुरानो डायरी पल्टाउँदा सहश्राब्दीको अन्त्यको साँझ– १९९९ को डिसेम्बरको अन्तिम दिनमा पुगेँ । केही दिन अघिदेखि एउटा अर्को बिरामीका कारण उनको निन्द्रा बिथोलिँदै रहेछ । उनको छटपटीलाई म नजिकैबाट हेरिरहेकी थिएँ…

पोखराका एकजना बिरामी आएका रहेछन्– जवान मान्छे । मोटर साईकल दुर्घटनामा भीरबाट निकै तल खसेर गम्भीर घाइते भएका रहेछन् । पोखरा र काठमाडौंका दुई ठूला अस्पतालमा उपचार गरिसकेपछि काठमाण्डू मोडेल अस्पतालमा आइपुग्दा उनको पहिलो अपरेशनको घाउ पाकेको मात्र हैन, आन्द्रामा परेको प्वाल वरिपरीको समस्या मात्र पनि हैन, पेटको अघिल्लो भागको मासुसमेत कुहिइसकेको रहेछ । मेडिकल भाषामा ‘निक्रोटाइजिङ फास्साइटिस’भन्दा रहेछन् । निकै अप्ठेरो स्थिति हुन्छ रे यो ।

आठ पटकसम्म अपरेशन थिएटरमा लगेर उनले ती बिरामीलाई बचाए । पेट खोल्दै, बन्द गर्दै अनेक मेहनत गरेर ती बिरामीलाई बचाउने काम मात्र हैन, त्यो अपरेशन पछि सम्भवतः देशमा पहिलो पटक ‘बोगोटा ब्याग’को प्रयोग पनि भएछ । म सुन्छु, अचेल त्यो कुनै नौलो कुरा रहेन । तर, त्यो बेला देशमा कतै प्रयोग नभइसकेको र बोहुलट्टीपूर्ण लाग्ने जस्तो नौलो प्रविधिलाई आँट गरेर बिरामी बचाउन प्रयोग गर्नु पक्कै सजिलो भएन होला डाक्टरलाई । मैले देखेको त केवल उनको छटपटी कसरी सफलताको खुसीमा बदलिँदै गयो भन्ने मात्र हो । अनि त्यो घटनाक्रमभित्र लुकेको डाक्टरको उत्तरदायित्वबोध, प्रेम र करुणा हो ।

लामो समय अस्पतालमा बसेर निको भएका बिरामी मध्येको एक भएको कारण म पनि ती बिरामीका बारे संवेदनशील थिएँ । एकपल्ट आफै गएर भेट्न मन पनि गरेकी थिएँ । ती बिरामीलाई मृत्युको मुखबाट खोसेर ल्याएकोमा सर्जिकल टीमलाई नै एउटा पार्टी दिउँ आफ्नो तर्फबाट भन्ने पनि लागिरहेको थियो । पछि साँच्चै नै भेट्छु भनेर जाँदा त त्यही दिन उनलाई डिस्चार्ज गरिसकेको रहेछ ! म हिस्स भएँ । तर, खुसी पनि भएँ, ती बिरामी घर फर्कन पाएकोमा । धेरैपछि ती बिरामीले अमेरिकाबाट चिठी लेखेछन् डाक्टरलाई– कृतज्ञता व्यक्त गर्न । डाक्टर कति खुसी भए कुन्नी, मलाई भने धेरै नै खुसी लाग्यो ।

सबै डाक्टरहरू त्यस्तै हुन्छन् कि हुँदैन मलाई थाहा छैन । सबै डाक्टरका श्रीमतीहरूलाई त्यस्तै लाग्छ कि लाग्दैन त्यो पनि मलाई थाहा छैन । यही वर्षमात्र दुईपटक ठुलै अपरेशन भयो मेरो पनि । मेरो दुःखको काँडा निकालिदिने काठमाडौं मोडेल अस्पतालका डाक्टरहरू प्रति म अत्यन्त कृतज्ञ छु ।

र, म बुझ्दैछु किन मेरो बुढा– ‘अब हामी बाँच्ने भनेकै युवा पुस्तामा हो । त्यसैले उनीहरूकै सशक्तिकरणका निम्ति र उनीहरूलाई नेतृत्व हस्तान्तरण गर्न ढिलो गर्नु हुँदैन…’ भनेर बारम्बार भनिरहन्थे भन्ने कुरा । नयाँ पुस्ताका कुशल, करुणा र प्रेमले भरिएका सर्जन देख्दा मलाई पनि मेरो बुढालाई जस्तै सन्तोषको अनुभूति हुन्छ । र, यस्तै डाक्टरहरूमाथि जब हातपात हुन्छ, जब मानिसहरू डाक्टर र स्वास्थ्यकर्मीका जिम्मेवारी, परिश्रम, दुःख, केहीको पनि महत्व बुझ्दैनन्, ज्यादै नमीठो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्