
काठमाडौं । सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरी देशका विभिन्न स्थानमा एक सय २२ सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ ।
भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यता स्वास्थ्य कक्ष भने भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन तथा आपतविपतमा परेका नागरिकको उद्धार कार्यमा सहयोग पु¥याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको हो ।
चाडपर्वलक्षित सहायता कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमातहत २५, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमातहत ५३, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमातहत दुई, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमातहत दुई, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीमातहत १९, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमातहत एक र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमातहत २० स्थानमा राखिएको छ ।
स्वास्थ्य कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमातहत चार, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमातहत २२, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत तीन, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीमातहत तीन र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमातहत एक स्थानमा राखिएको छ ।
चाडपर्वका बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि, चोरी–डकैती, लुटपाटजस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको हो ।














