Logo
Logo
भेपमा सुन तस्करी

राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर, साढे ७ वर्ष कैद सजाय माग


1.5k
Shares

काठमाडौं । सरकारी वकिलले विद्युतीय चुरोट (भेप)मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा चार जनाविरूद्ध मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

महरासहित सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर भएको हो । ती जना प्रहरी हिरासतमा छन् भने निमा फरार छन् ।

उनीहरुविरुद्ध तीन वटा (आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी) कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिलले जनाएको छ ।

प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी लिएको छ ।

गत पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो । ८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्