विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् ।
बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मतकुमार कार्कीले पनि विश्वासको मत पाउने स्थिति नभएपछि पदबाट राजीनामा दिएका छन् । थापा दुई–दुईपटक मुख्यमन्त्री पदबाट हट्नु परेपछि संसदीय दलको नेतामा उनको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्र उठेको छ ।
संस्थापन र इतर समूहले दलको नेताको विकल्पका बारेमा छलफल गरिरहेका बेला पराजुलीले भेटेर आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरेका हुन् ।
सभापति देउवालाई भेटेपछि पराजुलीले संसदीय दलको नेताको विकल्प खोज्नु परे दलको तर्फबाट आफूलाई उम्मेदवार बनाउन आग्रह गरेको बताए । दलका नेता थापा र सांसद पराजुली दुवै कृष्णप्रसाद सिटौला पक्षका हुन् ।














