Logo
Logo

देउवाको निर्णयविरुद्ध शेखर पक्षद्वारा हस्ताक्षर संकलन


5.9k
Shares

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्री पद छाड्ने संकेत गरेपछि शेखर कोइराला पक्ष त्यसको विरोधमा उभिएको छ । पार्टी नेतृत्वले नेकपा माओवादी केन्द्रलाई मुख्यमन्त्री छाड्ने भएपछि कोइराला पक्षले त्यसको विरोधमा हस्ताक्षर संकलन गरेको हो ।

माओवादीलाई मुख्यमन्त्री छाड्न नहुने पक्षमा कोइराला पक्षका ८ जना सांसदको हस्ताक्षर संकलन गरेका छन् । कोशीमा कांग्रेसाका २९ सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् ।

तर, आठ जनाले मात्रै हस्ताक्षर गरेका छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेका हुन् ।
गयानन्द मण्डलले भने खाली कागजमा हस्ताक्षर गर्न नमानेको बताइएको छ । मण्डललाई हस्ताक्षर गराउन बुधबार राति कोइराला पक्षका नेताहरु उनको घरमा पुगेका थिए ।

कोइराला पक्ष आफ्नो समूहका प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन चाहन्छ । तर, केन्द्रीय सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाले भने संसदीय दलका नेता उद्धव थापाबाहेक अरुलाई मुख्यमन्त्रीमा अघि सार्न नसक्ने बताइसकेका छन् ।

मुख्यमन्त्री पदका लागि पार्टीभित्र विवाद देखिएपछि सभापति देउवा र नेता सिटौला माओवादी सांसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्न सहमत भएका छन् । तर, शेखर समूहका नेताहरु भने सहमत छैनन् । माओवादीले पनि आङबोलाई मुख्यमन्त्रीका अघि सार्ने निर्णय गरिसकेको छ ।

कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्ने शुक्रबार अन्तिम दिन हो । त्यसको अघिल्लो दिन बिहीबार गठबन्धनबीच मुख्यमन्त्री माओवादीलाई छाड्ने सहमति भएपछि कांग्रेसभित्र विवाद देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्