Logo
Logo

शान्ति र स्वतन्त्रता पाउँदै नपाइने होइन रहेछ !



जीवन यात्रामा मोडहरु पनि कति कति ! कहिले उकालो कहिले ओरालो गर्दै हामी घर छोडेर डेरामा पुग्यौँ । घर छोड्ने बेला कतै कुनै मनोमालिन्य भएन, आफ्नो कोठामा मेरीलाई बस्न दिएर हामी उनको डेरामा सरक्क गयौँ । एक्ली मेरीलाई फ्ल्याट ठूलो भएको थियो र बच्चा हुर्कँदै गएका हामीलाई भने आफू बसिरहेको घरको फ्ल्याट सानो । सहमति र प्रेमका साथ वासस्थान साट्यौं ।

मेरीले भनिन्– ‘तपाईँको घरमा म ‘बुहारी’ होइन, स्वतन्त्र भएर बस्न सक्छु । म बस्ने कोठामा तपाईँ पनि स्वतन्त्र भएर बस्नुस् ।’ स्वतन्त्रता भन्ने कुरा सबैलाई उत्तिकै प्रिय हुन्छ । स्वतन्त्रतासँगै शान्ति पनि जोडिएर आउने रहेछ । ६ वर्षको उकुसमुकुसपछि बल्ल शान्तिको सास फेरेको जस्तो महसुस भयो । खोज्यो भने शान्ति र स्वतन्त्रता पाउँदै नपाइने होइन रहेछ !

६ वर्ष घरमा बस्दाको सबैभन्दा ठूलो उपलब्धि थियो– घर परिवारका सम्बन्धहरु बुझ्नु । त्योभन्दा धेरै ठूलो कुरा थियो, सबैले कट्टर ब्राह्मण मान्ने गरेका ससुरा बुबासँगको आत्मियता ! घरमा आमाहरु दुईजना बाहेक सबै पढेलेखेका भएपनि म प्रतिको दृष्टिमा अपेक्षित उदारता थिएन । त्यसले पनि मलाई घरमा बस्न झन् झन् गाह्रो हुन थालेको थियो । तर ससुरा बुबासँगै भने सोचेको भन्दा धेरै नजिक भएँ, आफ्नै बुवा जस्तो लाग्न थाल्यो । त्यो सम्बन्धले गर्दा घरका सबै भन्दा ज्येष्ठ नागरिकलाई चित्त दुखाएर डेरा सर्न सकिरहेको थिएन ।

बुबा ‘तिमीहरु घर नछोड । तिमीहरु फर्केर आउँछौ र पुरानो घर नपुग्ला भनेरै दुःखसुख गरी यो घर बनाएको हो…’ भनिरहनु हुन्थ्यो । बुवाको आँखामा हामी घर छोडी टाढिएको जस्तो नहोस् भनेरै त्यो बेला हाम्रो निम्ति अलि महँगै भए पनि घरबाट नजिकको डेरामा सर्यौँ । घरै छोडेको जस्तो नहोस् भनेर फर्निचरहरु पनि सबै लगेनौं ।

बुबासँगको आत्मियताबारे त लेखिसकें– पछि एउटा पुस्तककै रूपमा ‘तेजोसि’ शीर्षकमा प्रकाशित पनि भयो । अन्तरजातिय विवाह सम्बन्धमा त्यो पुस्तकले सानोतिनो हलचल नै ल्याएको थियो । धेरैले मनपराउनुभएको थियो । दुई संस्करणसम्म निस्कियो ।

त्यो पुस्तकका कारण धेरै मान्यजनबाट आशीर्वाद पनि थापेकी छु । ढिलो छापिएको भएर बुबाले भने हेर्न पाउनु भएन । बुवाले यो धर्ती छोड्नु भन्दा डेढ वर्ष अगाडि मलाई बुवाले आशीर्वाद दिँदै र आँखाभरि आँसु राखेर भन्नु भएको थियो– ‘…अब म जान बेला भयो । म गएपछि तिमी कतै तीर्थमा पुग्दा मेरो नाममा तर्पण गरिदिनु, तिमीप्रति पुरा भरोसा छ …।’

यो म कहिल्यै बिर्सिन सक्दिन । बुबाले त्यसो भन्दा हामी डेरा सरिसकेका थियौँ । अहिले त २२–२३ वर्ष नै भइसक्यो । बुबाको आशीर्वचनलाई सम्झिरहन्छु । त्यो आशीर्वाद, त्यो विश्वास र स्नेह एउटा थप ऊर्जा भएको छ, जीवनमा ।

अग्लो डाँडा चढेपछि त्यसको वरिपरिका सुन्दर दृश्यहरु देखिन्छन् । मैले ‘घर’ छोडेर डेरामा पुगेपछि नयाँ उत्साह पलायो । गर्न बाँकी धैरै कामहरु देख्न थालेँ । पहिलेकै राजनीतिक सोंच पनि अझै बाँकी नै थियो । काम गर्न नसकेकोमा हिनता बोध जस्तो पनि भइरहेको थियो ।

खुल्ला हावामा सास फेरे पछि म फेरि दौडिन थालेँ– सामाजिक गतिविधि, क्याम्पसमा पढाउने काम, नियमित स्तम्भ लेखन, अन्य साहित्य सिर्जनाको काम । नेपालभाषामा स्नातकोत्तर पढाई पनि सिध्याएँ र विद्यावारिधि नै गर्ने इच्छा पनि पलायो । गृहिणी र बालबच्चा हुर्काउने काम त अझै छँदैथियो । कर्मशील जीवन बिताउन पाउँदा जीवन मज्जा पनि लाग्न थाल्यो ।

एकजना मनोचिकित्सक विदेशी मित्रले मसँग सोधेकी थिइन्– तिमीले गर्ने खास काम चाहिँ के हो ? त्यो प्रश्नको जवाफमा के भन्ने भनेर म एकछिन अल्मलिएकी थिएँ । पढाउने काम, केही राजनीतिक काम, ज्येष्ठ नागरिकहरु बीचको काम, घरको काम, लेख्ने काम… सबैतिर अल्झिएकी थिएँ । उनी हाँसेकि थिइन् मेरो जवाफले । त्योबेला मलाई बोध भयो– मान्छेले संकल्प चाहे र संकल्प गर्ने हो भने एकैसमयमा धेरै काम गर्न सम्भव हुँदोरहेछ ।

चीनबाट फर्कने बेला मेरो एउटा इच्छा थियो– ज्येष्ठ नागरिकहरुका निम्ति काम गर्ने । चीनमा हुँदा आफ्नै आग्रहमा त्यहाँका वृद्धाश्रमहरु अवलोकन गर्न गएकी थिएँ– अरु विदेशी साथीहरुले पनि त्यो अवसर पाएका थिए । सोचेको भन्दा धेरै व्यवस्थित देख्दा लोभ लागेको थियो ।

त्यो बेला म अझै युवा अवस्थामा भएपनि ‘म पनि एक दिन बुढी हुन्छु, जीवनको उत्तरार्द्ध आनन्दसाथ बिताउन पाइयोस्’ भन्ने लाग्थ्यो । मलाई थाहा भएसम्म त्यो बेला हाम्रो देशमा एउटै मात्र वृद्धाश्रम थियो, पशुपतिमा । त्यो पनि व्यवस्थित थिएन । उनीहरुको व्यवस्थित वृद्धाश्रमले मलाई निकै आकर्षित गरेको थियो ।

वृद्धाश्रमलाई वृद्ध विश्वविद्यालय– ‘लाओरन् तास्वे’का रूपमा विकसित गर्ने दिशामा उन्मुख थिए, उनीहरू । जीवनको उत्तरार्ध्दमा मानिसलाई धेरै अनुभव प्राप्त भइसकेको हुन्छ । ती सबै अमूल्य अनुभवहरुलाई उत्पादनमूलक कर्ममा सहयोग हुनेगरी एक आपसमा सिक्न सिकाउने यस्तो ठाउँ हामीकहाँ पनि बन्न सके युवाले पनि ती अनुभवबाट धेरै कुरा सिक्न सक्ने थिए । समाज र राष्ट्रकै निम्ति उपलब्धि हुने थियो । ज्येष्ठ नागरिकले प्रतिष्ठित जीवन बाच्न पाउने थिए । ‘म बुढो भएँ’ भनेर हिनताबोधमा डुब्नुपर्ने थिएन ।

देश फर्केदेखि नै बाटो खोजिरहेकी थिएँ । केही मित्रहरुलाई यो कुरा सुनाएँ पनि । मन मिल्ने केही मित्रहरुसँग छलफल चलाएँ पनि । अहिले ९६ वर्ष पुगिसक्नुभएका वरिष्ट पत्रकार भैरव दाइ पनि यसका एक साक्षी हुनुहुन्छ । उहाँ आफै नै त्यतिबेला ज्येष्ठ नागरिक निम्ति लागिरहनुभएको थियो ।

त्यो बेला सहकार्य भएका कतिले त धर्ती नै छोडिसक्नु भयो । प्रा.डा. लीलादेवी केसी, डा. राधाकृष्ण जोशी, वाग्मती सफाइ आन्दोलनका अगुवा हुतराम वैद्य आदिसँग संस्थागत रुपमा ‘ज्येष्ठ नागरिक सञ्जाल’मा काम पनि गरेँ । त्यो बेला त म संस्थाकी एक कनिष्ठ सदस्य थिएँ ।

त्यही संस्था विकसित भएर अहिले ‘राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ’ बन्यो । महासंघ नै बनेपछि एउटा ठूलो सन्तोष भयो मनमा । मैले चिन्ता लिनु नपर्ने विषय भयो । पहिल्यैदेखि त्यसको आजीवन सदस्य भएकी छु म पनि ।

अब त धेरै नै छन् ज्येष्ठ नागरिकको बारेमा काम गर्ने संस्थाहरु । राज्यको तर्फबाट पनि बृध्द भत्ता दिनेकामले मन सञ्चो भएको छ …।

प्रतिक्रिया दिनुहोस्