Logo
Logo

आधा आकाशदेखि ‘सम्पूर्ण आकाश’सम्म




आमा सृष्टिकर्ता । उनैले सन्तान जन्माउँछिन् । सृष्टिलाई निरन्तरता दिन्छिन् । सृष्टिकर्ता कसरी आधा हुन सक्छ ? तर, पुरुषप्रधान समाजले महिलालाई आधा मात्र होइन मान्छेकै दोस्रो तहमा राख्न थाल्यो ।

मातृसत्तालाई विस्थापित गरेर पितृसत्ता अस्तित्वमा आएपछि घर बाहेक सबै क्षेत्रमा नारीको योगदानलाई न्युन पार्ने मात्र होइन, दासीकै हैसियतमा पुर्यायो । व्यवहारमा मात्र हैन, भाषामा समेत पुरुषलाई ‘स्वामी’ भनेर सम्बोधन गर्नुपर्ने र आफूलाई ‘हजुरकी दासी’ भन्नु ‘शीलवती’ नारीको धर्मस्तो बनाइयो ।

केही दशक अघिसम्मका दम्पतिबीचको मात्र होइन, कतै कतै अझैसम्म पनि श्रीमान श्रीमतीकै पत्राचारमा समेत यस्ता सम्बोधन देख्न सकिन्छ ।

वर्तमान समाजकै यथार्थमा आउँदा सबैजसो क्षेत्रमा महिलाले पुरुषको भन्दा धेरै काम गर्न थालेका छन् र यो क्रम बढ्दो छ । एकातिर सन्तान जन्माउनु, हुर्काउनु छ, अर्कातिर पुरुषले मात्र गर्ने गरेका सबै काम गर्दै अगाडि बढ्नु छ ।

आफूलाई अलि उदार सोँच राख्ने भन्ने पुरुषहरु महिलाप्रति ‘सद्भाव’ नै देखाएर ‘आधा आकाश धानेका छन् महिलाले’ भन्छन् । कुनै जमानामा यतिमात्र भन्नु पनि ‘प्रगतिशील’ सोच नै भन्न मिल्थ्यो । अब अझै गहिरिएर हेर्नु आवश्यक भएको छ ।

स्तम्भ ‘सम्पूर्ण आकाश’ले पनि सुरुमा ‘आधा आकाश’ कै नाम पाएको थियो रे । कालखण्डमा नारायण ढकाल पनि दृष्टिको सम्पादक हुनु भएको रहेछ । उहाँको भनाईअनुसार कवि श्यामलले “यो स्तम्भलाई ‘आधा आकाश’ हैन, ‘सम्पूर्ण आकाश’ भन्नुपर्छ” भनेर नामाकरण गर्नुभएको रहेछ ।

सामाजिक उत्तरदायित्व निर्वाह प्रकट रूपमा देख्न सकिने जुनसुकै क्षेत्रमा पनि पुरुषकै नाम बढी देखिन्छ । लेखनको क्षेत्र पनि एउटा उदाहरण हो । जुनै पत्रपत्रिका पल्टाउँदा पनि पुरुषकै लेख बढी छापिएका हुन्छन् । कुनै पत्रिकामा त महिलाको लेख शून्य नै हुन्छ ।

यथार्थमा कला–साहित्य सृजनामा महिलाको योगदान इतिहासको जुनसुकै कालखण्डमा पनि थियो । हाम्रै देशको केही शताब्दी यताकै इतिहास हेर्ने हो भने पनि मल्लकाल देखिका विदुषीहरूको उल्लेख्य योगदान देखिन्छ । हामी बाँचेको यो कालखण्डसम्म आइपुग्दा राजनीतिक, वैचारिक क्षेत्रमा लैङ्गिक समानताको कुरा ठूलठूलो स्वरले गर्न थालिएको छ ।

भावनाका धनी महिलाहरू हुने कुरा सबैले स्वीकारेको कुरा हो । सृजनशीलताको विशिष्ट गुण पनि नारीहरुमा बढि हुन्छ भनिन्छ । तर, अझै पनि विभिन्न प्रत्यक्ष अप्रत्यक्ष कारणले गर्दा नारी लेखन भने घना बादलभित्रै कतै हराएजस्तो देखिन्छ । त्यो बादललाई चिरेर पनि शक्तिशाली लेखनबाट केही अब्बल नारी सर्जकहरू झुल्किनु अपवाद जस्तो भएको छ । उनीहरूको उपस्थितिले ‘सब ठीकै छ’ भनिरहेको छैन, बरू कति नारी हस्ताक्षर अझै चुलाचौकामै हराईरहेका होलान् भन्ने प्रश्न जन्माएको छ ।

देशको कानुनका प्रावधानले वा बोलिचाली र भाषणले हैन, नारी लेखनलाई पुरुषप्रधानताका अनगिन्ती दृश्य –अदृश्य बादलले छेकेका छन्, अल्झाइरहेका छन् ।

मेरी अजी (हजुरआमा) पूर्णमाया मानन्धर चारवटा भाषाकी ज्ञाता हुनुहुन्थ्यो । विदुषी हुनुहुन्थ्यो, कवि हुनुहुन्थ्यो । म जन्मनु अघि नै उहाँले संसारबाट बिदा लिइसकेको भए पनि केटाकेटी छँदा उहाँका केही कविता र गीत भने मैले पनि पढ्न पाएकी थिएँ । ती गीत र कविताको धमिलो सम्झना मात्र बाँकी छ अहिले ।

त्यो बेला नेपालमा पत्रपत्रिका नभएका हैनन् । तर, उहाँका कविताहरु कहिल्यै छापिएनन् । उहाँजस्ता कति महिला लेखक कविहरू इतिहासको गर्भमै हराए होलान् ! ००७ सालको आन्दोलनले महिलालाई बाहिर खुल्ला मैदानमै कविता पाठ गर्ने, भाषण गर्ने परिस्थिति तयार पारे पनि पुरुष प्रभुत्वको घना छायाँ भने धेरै पछिसम्म रहिरह्यो– अहिल्यैसम्म पनि रहिरहेको छ ।

‘दृष्टि साप्ताहिक’को ४० वर्षको इतिहासमा एउटा छुट्टै महिला स्तम्भले आधा आकाश हैन, ‘सम्पूर्ण आकाश’ भएर उपस्थित जनाइरहेको छ । मैले नै पनि यो स्तम्भ लेखन ‘दृष्टि साप्ताहिक’बाटै तीन दशक अघि लेख्न थालेकी थिएँ । बीचमा केही समय यो स्तम्भ ‘बुधबार साप्ताहिक’मा डेरा सर्यो । त्यसमा पनि लेखिरहेँ ।

मैले लेख्न थाल्दा विन्दिया प्रधानले यो स्तम्भ लेख्नु हुन्थ्यो । पछि हामी दुईले पालै पालो लेख्यौँ । बेला बेलामा डा. अरुणा उप्रेती र अरूले पनि लेख्नुभयो ।

मैले सुने अनुसार सुरुमा यो स्तम्भले पनि ‘आधा आकाश’ कै नाम पाएको थियो रे । २०४६ को आन्दोलनपछि दृष्टि नेकपा मालेको नजिकको पत्रिका बन्यो रे । लेखक साहित्यकार नारायण ढकाल पनि दृष्टिको सम्पादक हुनु भएको रहेछ । उहाँको भनाई अनुसार उहाँका अनन्य मित्र र नजिकैबाट सहयोग गर्ने कवि श्यामलले “यो स्तम्भलाई ‘आधा आकाश’ हैन, ‘सम्पूर्ण आकाश’ भन्नुपर्छ” भनेर नामाकरण गर्नुभयो ।

यसरी महिलालाई ठाउँ त दिइयो तर, महिला बाहिर देखापरेका महिला लेखकहरु आजजति पनि नभएको त्यो बेला एकदुई वर्ष जति त कवि श्यामलले ‘प्रकृति सुब्बा’को नाममा र नारायण ढकालले ‘रजनी थापा’को नाममा पालै पालो लेख्न थाल्नु भएछ ।

त्यो बेला म अझै चीनमै थिएँ । म देश फर्केपछि केही समय कलम छोडेर बस्न बाध्य भएकी थिएँ । दोस्रो पल्ट आमा भएर बसेको त्यो बेला, बुहारीको समेत नयाँ भूमिकामा अभ्यस्त हुन खोज्दैथिएँ ।

‘प्रकाश’ साप्ताहिकको आधा आकाशमा लेख्ने आग्रह मातृका तिम्सिनाजीबाट आएपछि एउटै लेखमात्र लेखेकी थिएँ– ‘नी’हरूको कथा । त्यो लेख निस्केपछि नै दृष्टिबाट पनि आग्रह आयो । ‘आधा आकाश’ भन्दा ‘सम्पूर्ण आकाश’ मेरो निम्ति मन पर्ने स्तम्भ भयो– नामले, विचार र भावनाले पनि । म भन्दा अघि त्यही स्तम्भमा दुई हप्तामा एकपल्ट लेख्नु हुने विन्दिया प्रधानसँगै जोडिन पुगेँ । एक हप्ता उहाँले लेख्नुहुन्थ्यो अर्को हप्ता म लेख्थेँ ।

२०५२ मा बुधवार साप्ताहिक निस्किँदा रघुजी त्यसको प्रधान सम्पादक हुनुहुन्थ्यो । उहाँले बुधवारमा पनि लेख्न भन्नुभयो । मैले दुवै पत्रिकाको निम्ति सम्पूर्ण आकाशमा भ्याउन सक्ने अवस्था थिएन । म बुधवारमा हरेक हप्ता लेख्न थालेँ । विन्दियाजीले अझै दृष्टिमा नै लेखिरहनु भयो । अहिले भने ‘दृष्टि’ देखि नै थालेको ‘सम्पूर्ण आकाश’को स्तम्भ लेखन फेरि यसैमा लेखिरहेकी छु ।

दृष्टिको ४० वर्षको यात्रामा लामै समय म पनि एक सहयात्रीको रुपमा उपस्थित छु । ‘सम्पूर्ण आकाश’ आफै एउटा स्वतन्त्र स्तम्भ पनि हो । यसमा लेख्दा पनि स्वतन्त्रताको अनुभूति हुन्छ । यो स्तम्भ अरू नारी हस्ताक्षर पढ्दा पनि स्वतन्त्रताकै अनुभूति हुन्छ । त्यसैले यो मेरो प्रिय स्तम्भ हो । यसमा लेख्दा समाजमा भएका असल मान्छेहरूको पनि सम्झना हुन्छ । यसलाई जन्म दिने, न्वारान गर्ने, र परेको बेला महिलाको छद्म नामबाटै लेखेर भए पनि निरन्तरता दिने काम गर्नु भएकोमा दृष्टिका सम्पादकदेखि सम्पूर्ण मित्रहरू प्रति म कृतज्ञ छु ।

प्रतिक्रिया दिनुहोस्