Logo
Logo

कांग्रेसको हतारो ‘डाडुमा पानी तताएर मर्नु’ बराबर




नेपाली कांग्रेसका नेताहरूको कुरा सुन्दा आजभोलि नै कांग्रेस संसदीय दलको नेता परिवर्तन होलाजस्तो लाग्छ । त्यति मात्र होइन, कांग्रेस संसदीय दलको नेता परिवर्तन सँगसँगै कांग्रेसकै नेतृत्वमा नयाँ सरकार पनि बन्छ ।

मुखले भन्नलाई जति सजिलो छ, भनेजस्तै परिणाम निकाल्न त्यतिकै कठिन पनि छ । यदि, परिणाम निस्किहाल्यो भने पनि त्यसले सिंगो नेपाली कांग्रेसको भविष्यलाई कस्तो असर पार्छ भन्नेतिर ध्यान पुर्याएको देखिँदैन ।

नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्न सबैभन्दा पहिला बहुमत पुर्याउनुपर्छ । बहुमत पुर्याउन पक्ष–विपक्षमा बाँडिनुपर्छ । अहिले पनि देउवाको पक्षमा ८० प्रतिशत सांसद छन् । यस्तो अवस्थामा उनलाई हटाउन गाह्रो छ । यो कुरा कांग्रेसका नेताहरूले बिर्सिएजस्तो छ ।

अब आयो कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा । त्यसका लागि बहुमत चाहिन्छ । बहुमतका लागि निर्वाचन कुर्नुपर्छ, अनि मात्र कांग्रेसको नेतृत्वमा सरकार सम्भव हुन्छ ।

प्रचण्डको त्यागको कारण कांग्रेस आज सरकारमा छ, भोलि सरकारको नेतृत्व गर्ने तहमा छ । यति पनि धैर्य गर्न नसक्ने कांग्रेसले अहिले नै सरकारको नेतृत्व गर्छु भन्नु ‘डाडुमा पानी तताएर मर्नु’ बराबर हो ।

होइन, आजै भोलि कांग्रेसको नेतृत्वमा सरकार बनाउने हो भने, कांग्रेस वर्तमान गठबन्धनबाट बाहिरिनुपर्छ । बाहिरिएर मात्र भएन, प्रधानमन्त्री बन्न १३८ सांसद संख्या पुर्याउनुपर्छ ।

कांग्रेससँग अहिले ८८ प्रतिनिधि सभा सांसद मात्र छन् । १३८ पुर्याउन कांग्रेसले कि त एमालेसँग सहकार्य गर्नुपर्छ, अन्यथा राप्रपा, रास्वपा लगायतका दलहरूसँग सहकार्य गर्नुपर्छ । जुन कुरा मुखले भनेजस्तो सजिलो छैन ।

यदि, सजिलैसँग कांग्रेसको नेतृत्वमा अर्को सरकार गठन हुने हो भने त्यसले नेपालको राजनीतिलाई कता धकेल्छ भन्ने कुरा एकथरी कांग्रेसजनले दूरदृष्टि राखेको पाइन्न । भनिन्छ, नेताले आजको कुरा सोच्छ, राजनेताले भोलिको ।

कांग्रेसलाई लागेको होला, कांग्रेस एक्लैको बलले ऊ सबैभन्दा ठूलो पार्टी बनेको हो । त्यो भ्रम कांग्रेसले नपाले हुन्छ । यदि, चुनावमा गठबन्धन नभएको भए, कांग्रेस यो हैसियतमा हुने थिएन ।

गठबन्धन किन भयो त भन्दा लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयन गर्न । यिनै एजेण्डालाई लिएर पाँच वर्षसम्म आलोपालो सरकार संचालन गर्ने सहमति पनि भएको छ । त्यो सहमति भत्काउनु भनेको राजनीतिक अस्थिरता निम्त्याउनु हो । देशलाई पुनः भाँडभैलोमा जाक्नु हो ।

यही कुरालाई ध्यान दिएर प्रचण्डले ओलीसँगको गठबन्धन तोडेका हुन् । प्रचण्डले ओलीसँगको गठबन्धन नतोडेको भए कांग्रेसले न त राष्ट्रपति पाउने थियो, न त आलोपालो प्रधानमन्त्री नै । कांग्रेस यतिबेला प्रतिपक्षमै हुन्थ्यो ।

प्रचण्डको त्यागको कारण कांग्रेस आज सरकारमा छ, भोलि सरकारको नेतृत्व गर्ने तहमा छ । यति पनि धैर्य गर्न नसक्ने कांग्रेसले अहिले नै सरकारको नेतृत्व गर्छु भन्नु ‘डाडुमा पानी तताएर मर्नु’ बराबर हो ।

प्रतिक्रिया दिनुहोस्