Logo
Logo

ओलीको जालमा फसे प्रचण्ड




एमाले केन्द्रीय सचिवालयको गत आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरणलाई अधिकतम लचिलो भएर ०८४ को निर्वाचनसम्मै टिकाएर लैजानुपर्ने बताए ।

बैठकमा जोड दिँदै ओलीले भने– ‘अहिलेको समीकरण भत्काउन विभिन्न शक्तिकेन्द्रहरू लागिरहेका छन्, त्यसैले हामीले सचेततापूर्वक अगाडि बढ्नुपर्छ । त्यति मात्र होइन, ओलीले ‘अहिलेको समीकरण एमालेको हितमा छ, देश र जनताको, वामपन्थीहरूको हितमा छ । प्रधानमन्त्री प्रचण्डले एमालेलाई समाजवादी मोर्चामा सामेल हुन प्रस्ताव गरेको भएपनि अहिले हाम्रो ध्यान एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनेतिरै केन्द्रित गर्नुपर्छ ।’

एमाले अध्यक्ष ओलीको यो ब्रिफिङलाई गहिरोसँग विश्लेषण गर्ने हो भने यो गठबन्धन लामो समयसम्म टिक्ने छाँटकाँट छैन । कांग्रेसलाई सत्ता बाहिर राखेर मध्यावधिमा जाने ओलीको दाउमा प्रचण्ड फसेका छन् ।

एकक्षण पनि सत्ता बाहिर बस्न नसक्ने ओलीले प्रचण्डलाई चारै वर्ष सत्तामा टिकाउँछु भन्नु जुनसुकै बेलामा पनि प्रचण्डलाई सत्ताच्युत गर्न सक्छु भन्ने नै हो । अहिलेको गठबन्धनमा महत्त्वपूर्ण मन्त्रालय एमालेले नलिए पनि गठबन्धनको तालाचाबी ओलीसँगै छ । पछिल्लो गठबन्धनलाई धेरैले वामपन्थी गठबन्धन भने पनि समाजवादी मोर्चामा आउन एमालेले अस्वीकार गरेबाटै उसको नियत बुझ्न सकिन्छ ।

यो गठबन्धन लामो समयसम्म टिक्ने छाँटकाँट छैन । कांग्रेसलाई सत्ताबाहिर राखेर मध्यावधिमा जाने ओलीको दाउमा प्रचण्ड फसेका छन् । कांग्रेससँगको गठबन्धनमा उनी जति सुरक्षित थिए, यो गठबन्धनमा त्यति नै असुरक्षित छन् । एमालेबाट पटकपटक धोका खाएका प्रचण्ड कति पटक धोका खाएपछि चेत्लान् भन्न सकिन्न ।

कांग्रेससँगको गठबन्धनमा प्रचण्ड जति सुरक्षित थियो, यो गठबन्धनमा प्रचण्डका लागि उत्तिकै असुरक्षित पनि छ । पटक–पटक एमालेबाट धोका खाएका प्रचण्ड कति पटक धोका खाएपछि चेत्लान् भन्न सकिन्न ।

किनभने, २०७४ सालमा आलोपालो सरकारको सञ्चालन गर्ने लिखित सहमति गरेका ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिनकै लागि संसद् विघटन गरेका हुन् भन्ने कुरा प्रचण्डले बिर्सनु हुँदैन । त्यतिबेला लिखित सहमति नै तोड्ने ओलीले चारै वर्ष प्रचण्ड प्रधानमन्त्री भन्नु उनलाई मूर्ख बनाउनु हो ।

त्यसमाथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न नदिन ओलीले ‘के को आलोपालो, धारामा पानी थाप्ने लाइन हो र यो ?’ भनेका छन् । जबकि, नयाँ सत्ता समीकरण बनाउँदा प्रचण्ड दुई वर्ष, माधवकुमार नेपाल डेढ वर्ष र चुनावी सरकारको प्रधानमन्त्री ओली बन्ने सहमति यी नेताहरूबिच भएको छ । नभए, नेपाल यो सरकारमा दुईवटा मन्त्रीका लागि सहभागी हुने थिएनन् ।

कतिसम्म भने कांग्रेससँगको सहमति तोड्दा नेपाललाई सुइँकोसम्म दिइएन । सत्ता समीकरण भत्किएपछि मात्र नेपालले थाहा पाएका थिए । कांग्रेससँग सत्ता समीकरण भत्काउँदा ओली र प्रचण्डबीच के–के कुरामा सहमति भएको थियो भन्ने कुरा पनि आजसम्म रहस्यमय नै छ । त्यसपछि नेपाल, प्रचण्ड र ओलीबीच के सहमति भयो भन्ने कुरा पनि बाहिर आएको छैन ।

नेपाललाई फुटेको आँखाले पनि हेर्न नसक्ने ओलीको मति सुध्रिएर उनले नेपालसँग सम्बन्ध सुधार्न खोजेका होइनन् । प्रचण्ड र नेपाललाई एउटै खाल्डोमा जाक्न ओलीले सत्ता समीकरण परिवर्तन गरेका हुन् । ओलीले मुखले जतिसुकै पटक मिसन ८४ भने पनि ढिलोचाँडो मध्यावधिमा जाने उनको रणनीति हो ।

यदि, नेपालसँग ओलीले इमानदारीपूर्वक सम्बन्ध पुनः स्थापित गर्न खोजेका भए एमाले र समाजवादीबीच पार्टी एकताको एजेण्डा अगाडि सार्थे । र, समाजवादी मोर्चामा समावेश भएर बृहत् वामपन्थी एकताको यात्रा सुरु गर्थे । त्यस्तो केही ठोस छलफलबिनै ओलीले प्रचण्डलाई आफ्नो पासोमा पारेका हुन् । र, सरकार गठन गर्न अंकगणित पु¥याउनका लागि मात्रै नेपाललाई विभिन्न प्रलोभन दिएर सरकारमा सामेल गराएका हुन् ।

अब ओलीका लागि प्रचण्डको औचित्य समाप्त भइसकेको छ । प्रचण्डलाई जता मन लाग्यो, त्यतै हामफाल्न छुट छ । किनभने, प्रचण्डले पूरै कार्यकाल प्रधानमन्त्री हुने सपना देखेका छन् । ओलीले आफू अनुकूल मध्यावधिमा जाने रोडम्याप बनाएका छन् । एजेण्डाविहीन ओली–प्रचण्डको सहयात्रा कुनै पनि बेला टुट्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्