Logo
Logo

सहकारी ठगलाई कठघरामा उभ्याएरै छाड्छौँ


सुशीला थिङ, सचेतक, नेपाली कांग्रेस


सहकारीको अर्बौँ रुपैयाँ हिनामिनामा यथार्थ बाहिर ल्याउन माग गर्दा सरकारले संसद् नै बन्द गरेको आरोप प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगाएको छ । कांग्रेसले केही समयदेखि सहकारी हिनामिनाको छानबिन गर्न माग गर्दै संसद् बैठक अवरुद्ध गरेको थियो । तर, सरकारले आइतबार मध्यरातिबाट लागू हुने गरी संसद् अधिवेशन नै अन्त्य गरिदियो । संसद् बन्द गरेर सरकार भागेको आरोप कांग्रेसको छ ।

विधेयक अधिवेशनको रुपमा चिनिने हिउँदे अधिवेशनको कामबाट सभामुख देवराज घिमिरे नै असन्तुष्ट छन् । कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका काममा संसद्ले प्रभावकारी भूमिका खेल्न सकेन । यो अधिवेशनमा जम्मा ३ वटा मात्रै विधेयक पारित भयो ।

पछिल्लो समय कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको थिएन । पार्टीगत नभई लाखौँ सहकारी पीडितको अर्बौँ बचत हिनामिनाको विषय उठाएको दाबी कांग्रेसले गरेको छ । कांग्रेस आफ्नो मागमा तलमाथि भएको छैन । सरकारले अधिवेशन अन्त्य गरे पनि माग कायम रहेको कांग्रेसले स्पष्ट पारेको छ ।

कांग्रेसको माग, संसद् अधिवेशन अन्त्य र अबको रणनीतिबारे कांग्रेस सचेतक सुशीला थिङसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश–

कांग्रेसले संसद् अवरुद्ध गर्याे, सरकारले अधिवेशन नै अन्त्य गरिदियो । सार्वभौमसत्ता सम्पन्न संसद् सत्ता पक्ष र प्रतिपक्षको प्राथमिकतामा किन परेन ?
लाखौँ सहकारी पीडितको अर्बौँ बचत हिनामिनाको विषय छानबिन गरी बाहिर ल्याउन माग गर्दा सरकारले संसद् नै बन्द गरिदियो । हामीले पार्टीगत नभई लाखौँ सहकारी पीडित जनताका कुरा सदनमा राख्दै आयौँ । यस्तो गम्भीर विषयमा संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गर्दा सरकारले जनताको माग छल्न संसद् नै बन्द ग¥यो । संसद्प्रति उत्तरदायी हुनुपर्ने, जबाफदेही ढंगले प्रस्तुत हुनुपर्ने सरकारले संसदीय मूल्य मान्यताका बर्खिलाप संसदीय अभ्यासमा आघात पर्ने र प्रकारान्तरले संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत गरेको छ ।

संसद् त तपाईँहरूले अवरुद्ध गर्नुभएको होइन ?
प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भनी सत्तापक्षबाट भएको तर्क हास्यास्पद छ । लज्जास्पद छ । संसदीय छानबिन समिति गठन गर्नुपर्छ भनेर हामीले माग राख्दा सरकारले सार्वभौमसत्ता सम्पन्न सदनलाई बन्द गरेर भाग्यो । लाखौँ सहकारी पीडितको अर्बौँ बचत हिनामिनाले सरकारको मन छोएन । हामीले महिना दिनदेखि यो विषयमा आवाज उठाइरह्यौँ । हामीले सरकारलाई पटक पटक ध्यानाकर्षण गराएका छौँ । तर, सरकारले सुन्दै नसुनेपछि बाध्य भएर सदन अवरुद्ध गर्नुपर्ने अवस्थामा पुगेका हौँ ।

प्रधानमन्त्रीले रोष्टममै उभिएर गृहमन्त्री लामिछाने दोषी नरहेको प्रस्टीकरण दिनुभएको थियो नि ?
कांग्रेसको आपत्ति त्यही रह्यो । संसदीय छानबिन समितिको कुरा गर्दै गर्दा प्रधानमन्त्रीले सफाइ दिने काम गर्नुभयो । राज्यको संयन्त्रले अनुसन्धान गर्नुपर्नेमा प्रधानमन्त्रीले नै सफाइ दिएपछि विभागीय मन्त्रीमाथि प्रहरीले कसरी अनुसन्धान गर्न सक्छ ? त्यसरी फैसला गर्ने प्रधानमन्त्री को हो ? अब अदालतको काम पनि प्रधानमन्त्रीले नै गर्न थाल्नुभएको हो ? हामी कसैलाई संसद्बाट दोषी र निर्दोष करार गर्ने पक्षमा छैनौँ । त्यही कारण हामीले संसदीय छानबिन समितिको माग गरेका हौँ । छानबिनको क्रममा दोषी देखिए कारबाही भोग्नुपर्छ । तर, सरकार सुशासन र सहकारी पीडितका पक्षमा देखिएन । पीडित त झन् मर्ने अवस्था पो आउने भयो । पीडितलाई झन् पीडा हुने गरी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई स्वीकार्न सकिँदैन । गैरजिम्मेवार सरकारका विरुद्ध नेपाली कांग्रेसले दृढतापूर्वक उभिएर आवाज उठाइ रहन्छ ।

तपाईँहरूले राजनीतिक प्रतिशोधका आधारमा संसद् बैठक अवरुद्ध गर्नुभएको होइन र ?
गरिब जनताले आफ्नो छाक कटाएर जम्मा गरेको पैसा हिनामिनाको विषय उठाउँदा कसैले राजनीतिक प्रतिशोध भन्छ भने त्यो भन्दा बेइमानी केही हुन सक्दैन । राजनीतिक प्रतिशोधको ‘र’ पनि हामीले उच्चारण गरेका छैनौँ । हामीले जनताको आवाज सदनमार्फत उठाएका हौँ । तपाईँ आफैँ ती पीडित जनताको ठाउँमा उभिएर हेर्नुस् त–पीडा कति छ ? सहकारी पीडितको कुरा हामी अझै सशक्त ढंगले उठाउने छौँ । सदन बन्द गरेर सरकारले सुख पाउने छैन । ‘नाच्न नजान्ने, आँगन टेडो’ भन्ने उखान जस्तै प्रतिपक्षले उठाएको विषय सत्तापक्षले सम्बोधन नगर्ने अनि प्रतिशोधको कुरा गर्ने ? संसदीय छानबिन समिति गठन गर्दा आकाशै खस्छ जसरी सरकार भाग्यो । सरकार आफैँले समस्याको गाँठो पार्ने काम गरेको छ । यसरी निकास निस्कन सक्दैन । लाखौँ जनताले सहकारीमा जम्मा गरेको अर्बौँ रकम हिनामिना ठगी भएको र उक्त जनविरोधी अपराधजन्य कार्यमा स्वयं सरकारका मन्त्री संलग्न रहेको विषय घामजस्तै छर्लङ्ग भइसकेको छ । कांग्रेससहित विपक्षी दलहरूले उठाउँदै आएको विषय यही त हो । सहकारी ठगीमा छानबिन गर्न सरकारलाई के को डर ? यसअघि पनि त प्रश्न उठ्दा छानबिन समिति बनेकै थियो ।

कांग्रेस सत्ताबाट हट्नुपर्दाको पीडा त होइन नि यो ?
कांग्रेस सत्तामा होस् या प्रतिपक्षमा होस्, सहकारी पीडितले न्याय पाउनुपर्छ । दोषीले दोषको आधारमा कारबाही भोग्नुपर्छ । जब सरकार दोषीलाई उन्मुक्ति दिने गरी अगाडि बढ्छ भने प्रतिपक्ष दल चुप लागेर बस्दैन । हामी संसदको ठूलो दल हौँ । नागरिकप्रति हाम्रो दायित्व छ । सरकारले गर्ने गलत कामको हामी निरन्तर खबरदारी गरिरहन्छौँ । सरकारको गतिविधि ठिक हुने हो भने त रचनात्मक सहयोग पनि गरिहाल्छौँ नि ।

रास्वपा सभापति रवि लामिछानेलाई तपाईँहरू नै प्रधानमन्त्री अफर गर्नुहुन्छ, अनि गृहमन्त्रीबाट राजीनामा देऊ पनि भन्नुहुन्छ किन ?
यो उहाँहरूको मनगढन्ते कुरा होला । कांग्रेसले जबसम्म केन्द्रीय कार्यसमितिबाट निर्णय गर्दैन, तबसम्म कांग्रेसको आधिकारिक धारणा हुँदैन । अनि कसरी प्रधानमन्त्री किस्तीमा बाँडेजस्तो गर्नुहुन्छ ? त्यस्तो कुरा हामीलाई स्वीकार्य हुँदैन । हामीले कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौँ । प्रस्ताव गर्नुपरे केन्द्रीय समितिबाट निर्णय नै गर्छौँ । त्यस कारण यस्ता हावा कुराको पछि नलाग्न सम्पूर्ण नागरिकलाई आग्रह गर्न चाहन्छु । अहिले हामीले संसदमा उठाएको विषय भनेको गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिनुभयो । सत्य, तथ्य के हो, छानबिन होस् भन्ने हो ।

प्रहरीमा परेको ठाडो उजुरीकै भरमा संसदीय छानबिन समिति गर्न माग गर्ने, राजीनामा माग्ने उचित हो त ?
तपाईँहरूले यही कुरा बुझ्नुपर्छ । कानुनमा के भनिएको छ भने, कसैले मौखिक उजुरी गरेछ भने पनि त्यसलाई लिखित जाहेरीको रुपमा लिएर मुद्दा चलाउनुपर्छ । तर, यहाँ त पोखराका हजारौँ पीडितहरूले लिखित जाहेर लिएर जाँदा पनि जाहेरी नलिएर बाध्य बनाएपछि पोखरा महानगरपालिकाले तयार पारेर दिएको प्रतिवेदन पनि प्रमाण भएन ? कसरी सूचना लिनुपर्छ भन्ने राज्यलाई ख्याल हुँदैन ? सहकारी पीडितले दिएको निवेदन जाहेरी नहुने अनि अरूले दिएको निवेदन चाहिँ जाहेरी हुन्छ ? सरकारको यो बुझाइ गलत छ । प्रमाण नष्ट हुन्छ, अनुसन्धान ओझेलमा पर्छ भनेर नै हामीले संसदमा जोडदार रुपमा कुरा उठाएका हौँ । अनुसन्धान अगाडि बढिसकेको विषय रोकिएबाट पनि यसको पुष्टि हुन्छ । प्रहरीले गृहमन्त्रीलाई स्यालुट पड्काउदै गृहमन्त्रीज्यू हजुर दोषी देखिनुभयो भन्न सक्छ ? त्यसरी प्रतिवेदन तयार पार्न सक्छ ? अहिले सरकारले गराउन खोजेको पनि त्यही हो । त्यसप्रति आमजनता सतर्क र सचेत हुनुपर्छ । सर्वसाधारणले दुःख गरेर जम्मा गरेको रकम अपचलन गर्ने छुट कसैलाई छैन ।

संसद् अधिवेशन पनि अन्त्य भयो । अब यो मुद्दा कांग्रेसले कसरी उठाउँछ ?
सरकार ढोका बन्द गरेर झ्यालबाट भाग्यो । अब कांग्रेसले जस्तो भूमिका निभाउनुपर्छ, त्यसका लागि हामी तयार छौँ । यदि, कांग्रेसले उठाएको मागलाई सरकारले कुनै पनि हालतमा सम्बोधन गर्दैन भने कांग्रेसले आवश्यक निर्णय लिन्छ । हामी सहकारी पीडितलाई न्याय दिलाएरै छाड्छौँ । दोषीले कारबाही भोग्नैपर्छ । यो विषय त्यतिकै सेलाएर जाँदैन ।

सरकारले काम गर्न खोज्दा कांग्रेसले अवरोध गरेको आरोप सत्तापक्षको छ नि ?
यो चाहिँ नमच्चिने पिङको सय झट्का भनेजस्तै हो । सरकारले केही गर्न खोजेकै छैन । सरकारले केही काम गर्न खोजेको भनेर कसैले पत्याउँछ ? दोषीलाई उन्मुक्ति दिने काम चाहिँ सरकारले गर्न खोजेको छ । नत्र त छानबिन समिति गठन गरेर सहकारी ठगी प्रकरणको अनुसन्धान अघि बढाइहाल्थ्यो नि । कसले के गरिरहेको छ भन्ने कुरा नेपाली जनताले राम्ररी बुझेका छन् । हामीले जनताकै आवाज उठाइरहेका छौँ ।

माओवादी र एमालेका नेताहरू पनि सहकारी ठगी प्रकरणमा संलग्न छन् भन्ने कांग्रेसको बुझाइ हो ?
छानबिनको क्रममा नै ती विषय खुल्दै जान्छन् । धेरै नेता तथा कार्यकर्ता जोडिएको हुनाले छानबिन समिति गठन गर्न सरकारले नमानेको कुरा बाहिर आएको छ । सरकारकै मन्त्रीहरू संलग्न भएका समाचार आएकै छन् । लहरो तान्दा पहरो गर्जने डरले पो छानबिन समिति गठनबाट सरकार भागेको जस्तो लाग्दैछ । सरकार जति भाग्छ, त्यति नै समस्यामा पर्दै जान्छ ।

बहालवाला अन्य मन्त्री पनि सहकारी प्रकरणमा मुछिएको समाचार आएको छ । तर, कांग्रेस गृहमन्त्रीमाथि मात्रै किन खनियो ?
हामीले गृहमन्त्रीलगायत सहकारी प्रकरणमा जोडिएका सबै विषयमा छानबिन हुनुपर्छ भनेका छौँ । संसदीय छानबिन समिति गठन गरेपछि सहकारी ठगी प्रकरणमा जोडिएका सबै पर्छन् । एउटा विषयमा प्रवेश गरिसकेपछि सबै कुरा त्यही मातहत आउँछन् । मुख्य कुरो, मन्त्रीहरू जोडिएको सहकारीको समस्या समाधान हुनुपर्छ । त्यसपछि समग्र सहकारीको समस्या समाधान हुनुपर्छ । एउटा समितिको सदस्य पनि स्वार्थ बाझिने हुनु हुँदैन । स्वार्थ बाझिने मन्त्रालय ताकिताकी जानुको पछाडिको कारण के ? त्यो कुरा त हामी बुझ्छौँ नि । प्रहरीमा उजुरी परेको अवस्थामा बार्गेनिङ गरेर उहाँले गृहमन्त्री लिनुभयो । दोहोरो राहदानी, सहकारी ठगीको विषय सर्वसाधारणलाई मात्रै लागू हुने हो ? नियति नै खराब भयो । मन्त्री भएकै कारण त्यसमा उन्मुक्ति दिन पाइँदैन ।

भनेपछि, पहिला मन्त्री मुछिएको प्रकरणको अनुसन्धान अनि अरू सहकारीमा छानबिन गर्ने भन्ने हो ?
उदाहरणका लागि गृहमन्त्री (रवि लामिछाने)को ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला, कानुन लाग्थ्यो होला । तर, गृहमन्त्री भएको कारणले अनुसन्धान रोकियो । तपाईँ हामीले देखेको त्यही होइन र ? यस्तो पनि कानुनी राज्य हुन्छ ? यस्तो पनि सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन ? मुख्य कुरा प्रमाण नष्ट होला भन्ने हो । समस्या देखिएका सबै सहकारीको छानबिन गरेर समाधान खोज्नुपर्छ । सर्वसाधारणले दुःख गरेर जम्मा गरेको पैसा हिनामिना गर्ने छुट कसैलाई पनि छैन । नागरिकको सम्पत्तिको सुरक्षा राज्यले गर्नुपर्छ ।

तपाईँहरू केही समय अघिसम्म सरकारमै हुनुहुन्थ्यो । प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गर्दा पनि कांग्रेसले सुइँको पाएन किन ?
गठबन्धनमा सल्लाह समेत नगरी उहाँले समीकरण परिवर्तन गर्नुभयो । प्रचण्डमा पलाएको दम्भको कारण आफैँ छाडेर हामीतिर आउनुहुन्छ, आफैँ छाडेर अर्कोतिर जानुहुन्छ । दाम्लोले बाँधेर राखेपछि उहाँ कहिलेकाहीँ चुँडाएर जानुहुन्छ । कहिलेकाहीँ म त आइँ है भन्नुहुन्छ । राजनीतिमा उहाँको अस्थिरता अब टिक्ने वाला छैन ।

प्रचण्ड फेरि काँग्रेससहितकै गठबन्धनमा फर्किए के गर्नुहुन्छ ?
अब हामी सचेत बन्छौँ । उहाँको अस्थिर मनस्थितिको बोझ राज्यले भोग्न सक्दैन । कांग्रेसले प्रचण्डलाई स्विकार्दैन ।

कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बन्ने सम्भावना कति छ ?
त्रिशंखु संसदमा तेस्रो दलले बढी नै फाइदा उठायो । देश र जनताको लागि काम गरेको भए ठिकै हुन्थ्यो । तर, प्रधानमन्त्री आफैँ अस्थिरतामा रमाएर कांग्रेस र एमालेलाई पालैपालो प्रयोग गर्न थाल्नुभयो । प्रचण्डजीलाई नै यता आउँदा पनि ओके, उता जाँदा पनि ओके गर्ने अवस्था बन्यो । कांग्रेस र एमालेको नेतृत्व यस विषयमा गम्भीर बनेनन् । प्रचण्डले त कांग्रेसलाई मात्र होइन, एमालेलाई पनि धोका दिएको हो नि । बरु धोका खान तयार हुने तर माओवादीसँगै मिल्नुपर्ने कारण बुझिनसक्नु छ । देशलाई अस्थिर बनाएर कसैलाई पनि फाइदा छैन । आवश्यकताले कांग्रेस र एमाले एक ठाउँमा आउन सक्ने अवस्था पनि बन्न सक्छ । स्थिर सरकारका लागि कांग्रेस र एमाले मिलेर अगाडि बढ्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्