Logo
Logo

जीवनको उत्तरार्धका प्रश्नहरू



संसारमा स्थिर केही छैन । जीवन नै परिवर्तनको अर्को नाम हो । बच्चा सधैँ बच्चा रहँदैन । हिजोका केटाकेटी आज नेता भइसकेका छन् । कपाल फुलेर सेताम्य भएका छन् । पुराना नेताहरुका प्राथमिकता, व्यवहार, सोँचाइ फरक भइसकेका छन् ।

आफ्नै किशोरावस्थाका रमाइला घटना, जोश र जाँगर सम्झिँदा कहिलेकाहीँ उमेरै बिर्सेर अतितमा हराउन पनि मन लाग्छ । तर, समय र यथार्थले त्यो दिँदैन । विगत त सम्झना भएर बिलाइसकेको छ । बाँच्नु भनेको त आज न हो ! सपनाको भोलि पनि आउने हो कि हैन, आएछ नै भने पनि सपनाभन्दा फरक भएर आउनेछ ।

एकजना युवा पत्रकार बहिनीले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो– ‘धेरै लेखिसक्नुभयो दिदीले, अब के लेख्ने सुरसारमा हुनुहुन्छ ?’ साहित्यिक कृति वा अरु पत्रपत्रिकामा लेखेका, पोखेका कुरा नगरी यही ‘सम्पूर्ण आकाश’मा मात्र लेखेका कुरा गर्दा पनि अक्षरको लामै यात्रा गरिसकेकी रहेछु ।

अहिले २०८१ मा पुग्दा त लेख्न थालेको तीन दशकभन्दा पनि बढी भइसकेछ । तीस वर्षसम्मको अक्षर यात्रामा के विषयमा मात्र लेखिन हुँला ? सम्पूर्ण आकाश आफैँ एउटा आकाशजस्तो स्वतन्त्र फराकिलो स्तम्भ भएपनि सधैँ रहरमा मात्र त लेखिँदैन, कहिलेकाहीँ करैले पनि लेख्नुपर्ने हुन्छ । रहरले होस्, करले होस्, लेख्दा जहिले पनि मनमा प्रश्नहरू उठिरहेका हुन्छन् । साँच्चै भन्ने हो भने लेख्नु भनेकै मनमा उठेका प्रश्नसँग खेल्नु त हो !

आजसम्मको लेखन यात्रालाई फर्केर हेर्दा– मनमा उठेका धेरै प्रश्नहरु जीवनको यो उत्तराद्र्धमा समेत अझै अनुत्तरित रहेछन् । कतिपय प्रश्न यस्ता होलान्, जो आजका युवाहरुको निम्ति असान्दर्भिक होला । ती प्रश्नका सन्दर्भलाई उनीहरूले अनुभूत गर्न भ्याएकै छैनन् ।

त्यसैले पनि लाग्छ– आफैँमात्र ती प्रश्नसँग खेल्नुको सट्टा अब तिनलाई बाहिर ल्याउनुपर्छ । ती पत्रकार बहिनीको प्रश्नको जवाफमा मैले भनेकी थिएँ– अब लेख्नुपर्ने र लेख्न बाँकी रहेका कुरा भनेको आफ्नै मनमा निरन्तर उठिरहने प्रश्नहरु नै हुन् । जीवनलाई जति भोगिसके पनि, मनमा निरन्तर उठिरहने प्रश्न कहिल्यै सकिँदैनन् । त्यसैले लेख्नुपर्ने, गर्नुपर्ने कुरा जहिले पनि बाँकी नै रहन्छ ।

स्वास्थ्य र जाँगर पनि सधँै उस्तै नहुने रहेछ । पहिले एक्लैले गर्न सक्ने धेरै कुराहरुमा अब अरुको पनि साथ खोज्छ शरीरले । पहिले जस्तै समस्यामा लड्न सक्ने, लड्दालड्दै ढलिहाले पनि फेरि जुरुक्क उठेर अगाडि बढ्नसक्ने मनोबल र शक्ति पनि विस्तारै कम हुँदै गएको पाउँछु । र, पनि पहिलेको जोश जाँगरलाई सम्झेर आफूलाई उठाउन खोज्छु । आफूभन्दा पाका उमेरका जाँगरिला र सार्थक जीवन बितारहेका असल मान्छेहरु नजिकबाट भेट हुँदा उहाँहरुसँग केही थप ऊर्जा सापटी लिन्छु ।

नजिकबाट चिनेका केही शुभचिन्तकहरुको प्रश्न पनि सम्झिन्छु– ‘समाज र देशलाई फेर्छु भनेर आफ्नो युवा शक्ति खर्चिनुभयो । भूमिगत जीवन बिताउनुभयो, आखिरमा तपाईँहरुले के पाउनु भयो… ?’ जे गरियो, त्यो आफ्नै निम्ति केही पाउनका निम्ति थिएन । केही पाउने चाहना थियो भने त्यो सन्तुष्टि थियो । त्यो त पाएकै छु । त्यसैले हिजो जे गर्न सकियो, त्यसमा गर्व नै छ ।

‘मेरो कोही भएन, सबैको म भएछु’ भनेर रुनु छैन मलाई । बेलैमा चेतना पाएँ, स्वार्थको साँगुरो सुरुङबाट हिँड्नु परेन । जानी नजानी देश र जनताको निम्ति भनेर हिँडे । डाँडा, काँडा, जङ्गल, गोरेटो, सडक, गल्ली सबै खालको बाटोबाट हिँडे । सकेको गरेँ ।

कति ठाउँमा त्यहीबेला पनि सकारात्मक परिवर्तन आयो । आफू इमानदार भएर लाग्दा आफूले रोपेका बिरुवाहरु पनि सप्रिने रहेछन्– आशा नै नगरिएका ठाउँहरुमा पनि हिलोमा कमल फुलेसरी फुलेका छन् ।

जब आफूले पाइला हालेका ठाउँमा सुन्दर फूलहरु फुलेको देख्छु मन त्यसै प्रशन्न हुन्छ । उनीहरुको खुसीमा म पनि खुसी हुन्छु । उनीहरुले मलाई चिन्नु पर्छ र म प्रति कृतज्ञ हुनुपर्छ भन्ने कुनै आग्रह छैन । फूलहरु फुलेको देख्दा आफैँलाई एउटा साधारण माली सम्झन्छु–
हृदयले रोपेको बिरुवाले
मायाले फुलाएको फूलले
आफूलाई हुर्काउने मालीलाई
साँच्चै नै चिन्न सक्छ र ?
कहिल्यै आफैँ अघि सरेर
आफ्नो मालीलाई सम्झेर
‘धन्यवाद’ भन्न सक्छ र ?
(‘कृतज्ञता’– २००४)

अहिले लाग्छ, जीवनलाई खेर फाल्ने काम गर्नु परेन । लोभ लालचमा फसेर आफ्नै अनुहारमा फोहरमैला दल्नु पनि परेन । आफूले नकाम पो गरेँ कि भनेर लाजले पानी पानी हुनु पनि परेन । कसैलाई आफ्नो तर्फबाट दुःख दिने काम गरेँ भनेर आत्मग्लानि बोक्नु पनि परेन ।

संसारै फेर्ने सपना देखे पनि जीवनको भोगाईले सिकाएको कुरा पनि बिर्सिनु हुन्न । संसारलाई फेर्न पहिला त आफै फेरिनु पर्ने रहेछ । २५ सय वर्ष अगाडि राजकुमार सिद्धार्थले सारा राज्य, परिवार, सुखशयल… त्याग गरेर तपस्या गरेर प्राप्त गरेको ज्ञान त संसारका सबैले बुझ्न सकेका छैनन्, आफ्नै देशकाले त चिनेका छैनन् भने हाम्रो झिनोमसिनो त्यागको के कुरा !

दुःखकै कुरा गर्ने हो भने यो दुःखै दुःखको संसारमा हाम्रा साना दुःखको के कुरा ! संघर्षशील जीवन विताउन पाउन आफैँमा एउटा पुरस्कार हो । जीवनसाथीले डेरामा एक्लै छोडेर भूमिगत हिँड्दा, सानो बच्चा एक्लैले डेरामा हुर्काइरहँदा, घर न घाटको जस्तो जीवन पनि अनुभव नगरेको हैन । तर त्यो अनुभव पनि समयले दिएको रहेछ मलाई । धेरै परीक्षाहरु लियो समयले, तर मैले गति छोडिनँ । किनकि धेरै महत्वाकाँक्षा राखेर पद प्रतिष्ठा र लाभ पाउने इच्छा राखेर कहिल्यै काम गरेकी थिइनँ ।

यो उत्तरार्द्धमा फर्केर हेर्दा सन्तोष गर्ने ठाउँ प्रशस्त रहेछ भन्ने लाग्छ । अहिलेका नेताहरुलाई मानिसहरू गाली गरेको सुन्छु । मलाई भने गाली गर्न मन लाग्दैन । उनीहरुको बुद्धि नपुगेको पक्कै हो, लोभलालचमा भुलेको पनि हो । कर्मको पाठ बेलैदेखि सिक्न सकेनन् ।

कुनैबेला ती पनि साँच्चैका कामरेड थिए । कति असल थिए त्योबेला ! किन र कसरी त्यो लालचमा फस्न पुगेछन् ! चित्त दुख्छ । यो जीवन त यही एकबारको मात्र हो । जीवनलाई पवित्र राखेर काम गरेको भए उनीहरुले प्राप्त गरेको शक्तिको कति राम्रो सदुपयोग हुन्थ्यो होला ! अब त मेरा समकालिन मित्रहरुले र म भन्दा जेठा कामरेडहरुले अनित्यताको पाठ सिक्ने बेला भएन र ?

२०८१ सालले हामी सबैलाई आफ्नो जीवनयात्राको पुनरावलोकन गर्न र बाँकी जीवनको साँच्चै सदुपयोग गर्न सजिलो पारिदेओस् । सम्पूर्ण आकाशको शुभकामना !

प्रतिक्रिया दिनुहोस्