Logo
Logo

प्रचण्डलाई हात लाग्यो शून्य !


4k
Shares


वाम गठबन्धनको नाममा पछिल्लोपटक बनेको माओवादी, एमाले, जनता समाजवादी र एकीकृत समाजवादीको सरकार ‘माछो माछो भ्यागुता’ भनेझैं प्रचण्डका लागि हात लाग्यो ‘शून्य’ होला जस्तो छ ।

जसरी २०७४ सालमा एमाले र माओवादीबीच गठबन्धन बनेको थियो, त्योभन्दा पनि कमजोर जगमा अहिलेको वाम सरकार बनेकोले यो सरकार कति दिन टिक्छ भन्न सक्ने अवस्था छैन । ‘वाम गठबन्धन’ नामको सरकार बनेको तीन महिना बित्दा नबित्दै सरकार धरमराउन थालेको छ । सरकार टिकाउने नाममा साना पार्टी विभाजन गर्ने विकृत खेल सुरु भएको छ ।

नेपालको संविधानले विगतको विकृति, विसंगति नदोहोरियोस् भनेर दल विभाजनसम्बन्धी कानुनमा ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय कमिटीको निर्णयले मात्र दल विभाजन गर्न सकिने व्यवस्था गरेको हो ।

संविधानको पालना नगरी उल्टै अध्यादेशबाट कानुन सच्याएर राजनीतिक दलका नेताहरूले संविधानको खिल्ली उडाएका छन् । राजनीतिक दलका नेताहरूको यस्तो क्रियाकलापले संविधानभन्दा माथि राजनीतिक दलका नेताहरू भएजस्तो देखिएका छन् । जुन प्रवृत्ति अन्त्य नभएसम्म राजनीतिक अस्थिरताले जरा गाड्ने छ ।

कांग्रेससँगको गठबन्धन टिकाएको भए प्रचण्ड दुई वर्ष ढुक्कसँग प्रधानमन्त्री बन्ने थिए । राजनीतिका चतुर खेलाडी मानिएका प्रचण्ड ‘….खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ’को अवस्थामा पुग्दैछन् । यो नै प्रचण्डको लागि आत्मघाती कदम हो ।

अहिलेको गठबन्धन कुन उद्देश्यका लागि बनेको हो भन्ने कुरा ‘क्लियर’ छैन । सुरुमा सरकार बनाउनेदेखि निर्वाचनसम्म वाम गठबन्धनलाई लैजाने सहमति भएपनि इलाम र बझाङमा गठबन्धन दलहरूबिचको असहमतिले यो गठबन्धन धेरै दिन टिक्दैन भन्ने अनुमान गरिएको थियो ।

त्यसमाथि एमालेले यो वाम गठबन्धन नभई ‘वाम समीकरण’ हो भनेबाट कांग्रेससँगको गठबन्धन भत्काउनका लागि मात्र प्रचण्डलाई प्रयोग गरिएको हो भन्ने कुरा पुष्टि हुँदै गएको छ । सायद, प्रचण्डले पनि अहिले आएर त्यही कुरा महसुस गर्दै होलान् ।

कांग्रेससँगको गठबन्धन एउटा उद्देश्यका लागि भएको थियो । त्यो उद्देश्य भनेको प्रतिगमनलाई परास्त गर्दै संविधान कार्यान्वयन गर्नु र राजनीतिक स्थिरतालाई निरन्तरता दिन पाँचै वर्ष आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने सहमति थियो ।

तर, दुुर्भाग्य जुन उद्देश्यका लागि वाम–लोकतान्त्रिक गठबन्धन बनेको थियो, त्यसलाई प्रचण्डले धोका दिएर प्रतिगामी शक्तिसँग नयाँ गठबन्धन निर्माण गरे । जसका कारण प्रचण्ड थप संकटमा परेका छन् ।

हिजो प्रतिगमनविरुद्ध आन्दोलनमा सहभागी भएको र प्रतिगामी कदमविरुद्ध एमालेबाट विद्रोह गरेको नेकपा एकीकृत समाजवादी यो सरकारमा सामेल हुनु नै राजनीतिक रुपमा गल्ती थियो ।

ओली जसरी पनि माधव नेपाल र प्रचण्डलाई सिध्याउन चाहन्छन् । त्यसैले उनले प्रचण्डलाई दुईपटक कांग्रेसविरुद्ध प्रयोग गरे । पहिलो प्रयोगमा ओली असफल भए भने, दोस्रो प्रयोगमा सफल भए । ओलीको रणनीति प्रचण्डलाई आफू अनुकूल टिकाइराख्ने र मौका पाउनासाथ झिँगा फालेजस्तो फालिदिने हो ।

इलाम र बझाङको मत परिणामबाट हौसिएका ओली यो संसद्लाई पूर्ण कार्यकाल चलाउन दिने मुडमा छैनन् । उनी सबैलाई प्रयोग गरेर असफल बनाएपछि दसैँ, तिहारलगत्तै मध्यावधि निर्वाचनमा जाने सोचमा छन् ।

ओलीको यो रणनीतिअनुसार प्रचण्डलाई केही महिनाका लागि मात्र एमालेले समर्थन जनाउने हो । बरु, कांग्रेससँगको गठबन्धन टिकाएको भए प्रचण्डले दुई वर्ष ढुक्कसँग प्रधानमन्त्री बन्ने थिए । राजनीतिका चतुर खेलाडी मानिएका प्रचण्ड ‘….खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ’को अवस्थामा पुग्दैछन् । यो नै प्रचण्डको लागि आत्मघाती कदम हो ।

प्रतिक्रिया दिनुहोस्