Logo
Logo

संक्रमणको त्यो बेला


2k
Shares

पुग्नु अघिसम्म मेरो सपनाको देश थियो चीन । ८० को दशकको कुरा हो यो । आजको चीन र त्यो बेलाको चीनको अवस्था आकाश पाताल फरक भैसकेको छ । अहिले मात्र चीनको यात्रा गर्नेहरूले त त्यो बेलाको चीनको अनुमानै पनि गर्न सक्दैनन् ।

चीनमा भएको क्रान्तिले चीनलाई पहिलेभन्दा केही सम्पन्न, शक्तिशाली र स्थीर त बनाएकै थियो । तर इतिहासले छोडेका चुनौतीको सामना गर्दै त्यति ठुलो जनसंख्या भएको देशमा राज्यले नै सबैको काम माम र वासको समेत बन्दोबस्त गर्न सजिलो थिएन ।

नागरिकहरूले पनि त्यो कुरा बुझेरै होला, आफ्नो जीवनमा धैरै नै सम्झौता गरिरहे जस्तो लाग्थ्यो । सहरमा एउटै फ्ल्याटमा तीन पुस्तासम्म पनि बस्थे । कतिपय परिवारको किचेन वा ट्वाईलेट साझा हुन्थ्यो । ’परिवार नियोजन’को कडाईका साथ पालना गराइन्थ्यो– एउटै सन्तान मात्र जन्माउन पाउँथे ।

बढी सन्तान जन्माए राज्यले दिने सुविधाबाट विमुख हुनुपथ्र्यो । कसैको जुम्ल्याहा बच्चा भयो भने त्यो दम्पती भाग्यमानी ठानिन्थ्यो । त्यसबेलाका बच्चाहरू दाइ, दिदी, बहिनी, भाइ, जस्ता सम्बन्ध बिना नै हुर्के । ती पनि ठूला भएपछि तिनका सन्तानले फुपू, ठूली आमा, सानी आमा, काका, ठुलाबा … आदि चिन्न पाएनन् ।

बाबु तिरका हुन् वा आमा तिरका दुवै तिरका बाजेबजैको एउटै मात्र नाति वा नातिनी हुन्थे । तर, त्यो बेलाका निम्ति केही वर्ष जनसंख्या नियन्त्रण गर्नु उनीहरूको बाध्यता नै थियो कि ! एक्लो बच्चा भएपछि उसैले बढि ध्यान पाउने त हुने नै भयो । सबैको माया एकैतिर खनिएर बच्चाहरू अति पुल्पुलिने र उनीहरूका माग चर्को हुने समस्या पनि देखिन्थ्यो ।

अब त कडाई हटिसकेछ । बरु आफ्नै खुसीले बच्चा जन्माउनै नचाहनेहरूको संख्या चीनमा पनि अन्य विकसित देशमा झैँ बढ्दै गएको सुनिन्छ ।

मैले किशोरावस्थामा सुनेको साम्यवादको नारा ‘क्षमता अनुसारको काम, आवश्यकता अनुसारको माम’ थियो । तर, समाजवादको तीर्थस्थल नै ठानेर गएको ठाउँमा पुगेपछि थाहा भयो– त्यस्तै त कहाँ सम्भव हुँदोरहेछ र !

क्षमता र रूची अनुसारको काम पाउनुभन्दा पनि जहाँ जसरी भएपनि आफूलाई पुग्दो खाना र नानाको बन्दोबस्त गर्नु सबैको उद्देश्य देखिन्थ्यो । छानाको बन्दोबस्त अझ गाह्रो हुन्थ्यो सबैका निम्ति ।

नेताहरू सँगको सामिप्य वा आफ्ना नेता, हाकिमहरू कति असल वा खराब छन् भन्ने कुराले धेरैको जीवन प्रभावित हुन्थ्यो । हुन त यो हरेक युगको, हरेक देश र व्यवस्थाको साझा वास्तविकता नै होला । घरबारविहीनै भएर अरु देशमा जस्तो सडकमै सुत्नु पर्ने मान्छेहरू भने कहीँ देखिनँ ।

पाँच वर्ष चीनमा बस्दा सडकमा कहिल्यै माग्ने देखिएन । बरु अचेल पो कतै कतै देखिन्छन् भन्ने सुन्दैछु । त्यति ठूलो जनसंख्या भएको देशमा सहरका सडकमा माग्ने नदेख्नुलाई अचम्मै मान्थेँ ।

महिला र पुरुषबीचको समानता भने जो कोहीले अनुभूत गर्नसक्ने किसिमको थियो । सोभियत संघ ढल्नु अघि कस्तो थियो त्यो त मैले देख्न पाइनँ । चीनमा चाहिँ नारा मात्र नभएर कडाईका साथ व्यवहारमै लागु भएको यथार्थ रहेछ, महिला–पुरुष समानता ।

राज्यको कुनै पदहरूमा पनि पुरुष मेयर भए महिला उपमेयर हुनै पर्ने । कहाँ कतै पनि श्रीमती भनेर हेपेर कुट्न र दुव्र्यवहार गर्न पाइँदैनथ्यो । सडकमा गुन्डागर्दी देखिँदैन थियो ।

आफ्ना नेता, हाकिमहरू कति असल वा खराब छन् भन्ने कुराले धेरैको जीवन प्रभावित हुन्थ्यो । हुन त यो हरेक युगको हरेक देश र व्यवस्थाको साझा वास्तविकता नै होला । घरबारविहीनै भएर अरु देशमा जस्तो सडकमै सुत्नु पर्ने मान्छेहरू कहीँ देखिनँ । पाँच वर्ष चीनमा बस्दा सडकमा कहिल्यै माग्ने देखिएन ।

एकदिन बेलुकी मलाई एउटा समान किन्नु परेको थियो । बेलुकी ८ बजिसकेको थियो । होस्टेल नजिकै त्यस्तो पसल थिएन । सार्वजनिक बस चढेर अर्कै ठाउँमा जानुपर्ने भयो । भोलिपल्टसम्म नपर्खि त्यहीबेला जान मन लाग्यो र एक्लै बस चढेँ ।

बसमा प्राय भीड नै हुन्थ्यो । यतिबेला पनि कामबाट फर्किनेहरुको भीड बाँकी नै रहेछ । बसबाट ओर्लेर म सरासर पसलमा गएँ, सामान किनेँ, फर्कें । ९ बजिसकेको थियो । कतै कुनै व्यवधान भएन । मनमा डर उत्पन्न भएन, म विदेशमा छु भन्ने पनि भएन ।

“देश र समाज भनेको त यस्तो पो हुनु पर्छ’’ भनेँ आफैसँग । एक्लै केटी मान्छे हिँड्दा कसैबाट हैरान खप्नु छैन ! अरु महिलाहरू पनि सडकमा निर्धक्कसँग हिँडिरहेका देखिन्थे । कोही आफ्नो ड्युटीबाट फर्किरहेका थिए ! एकजना चिनियाँ साथीसँग भन्दा उनले भने “९ बजे त के भयो र, राती १२ बजे हिंडेपनि केहीको डर हुँदैन यहाँ’’ ।

मेरो देशमा कहिले स्कूलबाट ढिलो घर पुग्दा, साँझ कतै कुनै कार्यक्रममा जाँदा आउँदा अल्लारे केटाहरूले दुःख दिने गरेको सम्झेँ । घरमा आमा पिरिएर बस्नु भएको कुरा पनि सम्झेँ ।

सुरक्षामा मात्र महिला समानता देखिने हैन, खाना बनाउने लगायत घरका सबै काममा पुरुषहरू पुरै संलग्न हुने रहेछन् । एउटा रमाईलो कुरा– घरमा श्रीमती सुत्केरी भएपछि सबै काम श्रीमानले नै गर्नु पर्दोरहेछ ।

चीनमा कुनै विवाहित जवान पुरुष एक्कासी दुब्लाएको देखियो भने घरमा श्रीमती सुत्केरी छ भन्ने अनुमान गर्दा रहेछन् । सुत्केरी भएपछि सक्ने नै हल्का फुल्का काम पनि नगरी श्रीमानलाई लगाउने चलन रहेछ । जस्तै ठूलोपदमा रहेका पुरुष पनि भान्छाको काम गर्न भने अभ्यस्त हुँदा रहेछन् ।

खाना बनाउन नजान्ने केटाहरूको विवाह हुन पनि गाह्रो हुन्छ भन्थे । यहाँ जस्तो पुरूष नेताहरू नेता पल्टेर, घरको काम जति नेत्री नै भएपनि श्रीमतीलाई मात्र लगाएर बस्दा रहदैनरैछन् । बरु यदाकदा श्रीमतीहरूले श्रीमानलाई हेपेको दृश्य देख्दा भने आफ्नै चित्त नबुझेजस्तो हुन्थ्यो । पुरुष प्रधान देशमा हुर्केकोले बानी नपरेको पनि होला । मेरो नारीवाद अलि नरम किसिमकै भएर पनि होला– समानता र स्वतन्त्रताप्रेमी हुँ म ।

त्यो बेला चीनमा तङ स्याओ–पिङ सर्वोच्च नेता थिए । उनको नयाँ खुल्ला आर्थिक नीति लागु हुँदै थियो । पुरानो नीतिबाट नयाँमा जान केही सामाजिक मूल्य मान्यता पनि फेर्नु पर्ने बेला थियो । मान्छेहरू अलि बढि स्वार्थी हुन थालेको पो हो कि जस्तो पनि लाग्थ्यो ।

‘एनि हाउ, पैसा कमाउ’ भनेजस्तो मान्छेहरू जे गरेर भए पनि पैसा नै बढी कमाउन लागेजस्तो पनि देखिन्थ्यो । भ्रष्टाचार हुर्किँदै छ भन्ने सुनिन्थ्यो । पहिले कोही ठूलै नेता भैसकेकाहरू पनि पछि भ्रष्टाचारीको आरोपमा टिभीमा नाम र फोटो आउँदा मन खिन्न हुन्थ्यो, त्यस्तो समाचार सुनेको दिन मन नरमाइलो लाग्थ्यो ।

यी सबैकुरा एक विदेशी विद्यार्थी भएर अनुभव गर्दै थिएँ । आफूले पहिले सोचेजस्तो नदेख्नु स्वाभाविक थियो । जहाँ गएपनि त्यस्तै हुन्थ्यो होला । जे भएपनि चीनमा पाँच वर्ष बस्दा पाएको अनुभव, शिक्षा, मैत्री र सहयोगका निम्ति म कृतज्ञ छु ।

प्रतिक्रिया दिनुहोस्