Logo

‘म अलप हुन चाहन्छु’


Published On : 23 January, 2019

श्याम रिमाल । विसं २०५२ पुस २५ गते चैतमा जुम्ला फर्कन्छु भनी हिँडेका उनी फेरि फर्केनन् । कसैले धनगढीमा देखेको भने । कसैले उनी हरिद्वारमा जोगी भएर बसेका भने । परिवारले पनि निकै खोजी ग¥यो । विसं २०५४ चैत १२ गते आमाको निधनमा बुवा आउनुहुन्छ कि भनी छोराछोरीले निकै प्रचारप्रसार गरे, अहँ उनी आएनन् । तैपनि परिवारले उनको सम्झनामा हरेक वर्ष चैत्य बनाएर त्यहाँ उहाँका निजी वस्तु राखेर आजको दिन केही न केही कार्यक्रम गर्छ ।
नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्ट हराएको २३ वर्ष भयो । बाँचेका भए आज ९३ वर्ष पुगेका हुन्छन् । नेपालमा मानवशास्त्र एवं समाजशास्त्रको अध्ययनअध्यापन र अनुसन्धान गराउने प्रथम व्यक्तित्व विष्टको ‘फेटलिज्म एण्ड डेभलपेण्ट’ः नेपाल्स स्ट्रगल फर मोडर्नाइजेशन,१९९१ (भाग्यवाद र विकासः नेपालको आधुनिकीकरणको सङ्घर्ष, विसं २०४७ तिर ) पुस्तक निकै चर्चित भयो । भाग्यमा विश्वास राख्ने कारण र ब्राह्मणवादले नेपाली समाजको विकास नभएको भन्ने निष्कर्ष त्यसमा थियो । हिन्दू धर्म र जातीय प्रथाले ल्याएको विभेद, उचनीच, छोइछिटो, मन्दिर प्रवेशमा अस्वीकृति जस्ता विषय त्यसमा थिए जसले जनजाति, दलित, मुसलमान, महिला, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्रका मानिसको आँखा खोलिदिएको थियो । कृतिले नेपाली समाजको तत्कालीन स्थिति, मानसिक अवस्था आधुनिकतामा आएको अवरोधबारे प्रष्ट्याएको थियो । नेपालको सामाजिक अनुसन्धान, नेपाली समाज र संस्कृतिलाई हेर्ने शैली, विकास नीतिको बहस, सामाजिक आन्दोलन र राजनीतिमा अत्यन्त ठूलो प्रभाव पारेको छ । पुस्तकले निकै विवाद पनि ल्यायो । दरबार र विदेशीसँग राम्रो सम्बन्ध भएका विष्ट युएसएआइडीमा अनुसन्धान विशेषज्ञ, ल्हासाको महावाणिज्य दूत, योजना आयोगको विशिष्ट अधिकारी, दुर्गम क्षेत्र विकास समितिका सचिव, दरबारको केन्द्रीय जाँचबुझ आयोगको अधिकारी, त्रिभुवन विश्वविद्यालय अनुसन्धान निकाय सिनासका कार्यकारी निर्देशक, समाजशास्त्र, मानवशास्त्र विभागका विभागीय प्रमुख आदि । उनी प्रत्येक समयलाई प्रतिनिधित्व गर्ने उनी समाजका एक प्रभावशाली र शक्तिशाली पात्र थिए । त्रिविमा मानवशास्त्र समाजशास्त्र पढाउनुअघि उनले स्नातकपछि पाटनमा एक स्कूलमा हेडमाष्टर थिए । त्यसपछि युनिभर्सिटी अफ लण्डनमा मानवशास्त्री क्रिस्टोफ भोन फ्यरर हेमिण्डर्फको अनुसन्धान सहयोगीका रुपमा काम गरे । यसबाट उनले संसारका मानवशास्त्री तथा भाषाशास्त्रीसँग काम गर्न र मानवशास्त्रको गहिरो र विशिष्ट अध्ययन गर्न पाए ।

डोरबहादुर विष्ट

उनले विसं २०४८ मा कर्णाली इन्स्टिच्यूट खोली कर्णालीका जनतालाई शिक्षा, विद्युत् आदि पूर्वाधार पु¥याएका थिए । मानिसहरुलाई सीप सिकाए, ज्यालाको मूल्य तोके । जातअनुसारको काम भन्ने प्रथा तोडे, विश्वविद्यालयमा पढाएर, पुस्तक लेखेर, अनि देशविदेशका विश्वविद्यालयमा प्रवचन गरेर नाम र दाम दुवै थोक राम्रैसँग कमाएर राजधानीमा आरामको जिन्दगी बिताइरहेका विष्ट विकट कर्णाली अञ्चलको एउटा अभावग्रस्त गाउँ चौधबीस, डिल्लीचौर पुग्नाको जे कारण भए पनि उनले कर्णालीमा विकासको सम्भावना र आशा जगाएका थिए । कर्णाली क्षेत्रको विपन्नतालाई चिर्न राष्ट्रको ध्यानाकर्षण गर्न विष्ट बाको प्रयास सराहनीय थियो । यो कुरा त्यहाँका केही तत्वलाई मन परेको थिएन ।
उनका ‘सबै जातको फूलबारी’, ‘पिपल अफ नेपाल’, १९६७ (नेपालका मानिस, २०२३तिर) ‘एन्थ्रोपोलोजी इन नेपाल’, ‘रिपोर्ट फ्रम ल्हासा’लगायत मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित पुस्तकका साथै ‘सोताला’(तिब्बतमा नेपाली पति र तिब्बती पत्नीबाट जन्मेका सन्तानको कथा, साझा प्रकाशन२०३३) शीर्षक उपन्यास र केही कथा प्रकाशित छन् । भाग्यवाद र विकास कृति नेपाली पनि अनुवाद भइसकेको छ जसको प्रकाशन हुन मात्र बाँकी रहेको अनुवादक वसन्त थापाले जानकारी दिनुभयो । पिपल अफ नेपाल सबैले पढ्नैपर्ने र सन्दर्भ सामग्रीका रुपमा अनिवार्य लिनुपर्ने कृति भइदियो । यसले नेपालको विविधताबारे सबैलाई ज्ञान दियो ।
डोरबहादुरका पुत्र पूर्वमन्त्री केशरबहादुर विष्ट माओवादीले बुवाले कर्णालीमाथि आठ वर्ष लगाएर अनुसन्धान गरेका कागजपत्र जलाएर भयङ्कर गल्ती गरेको बताउँछन् । इन्स्टिच्यूट मर्मतका लागि त्यहाँको स्थानीय तहले रु आठ लाख छुट्याएको र अनुसन्धान गर्न चाहनेका लागि दुई कोठा उपलब्ध गराइएको जानकारी उहाँले दिनुभएको छ । उहाँ बुवाले ३०–४० वर्ष लगाएर खिंचेका हजारौँ तस्वीर भने घरमा सुरक्षित रहेको जानकारी दिनुहुन्छ ।
त्रिवि मानवशास्त्र विभागमा प्रमुख डम्बर चेम्जोङ विभागले उनका योगदानलाई संस्थागत एवं व्यवस्थित गर्ने तथा मानवशास्त्र र समाजशास्त्र विषयको पाठ्यक्रममा उनको जीवनी र योगदान पनि समावेश गरिने जानकारी दिनुहुन्छ ।
विष्टका शिष्य प्रा डा विन्दु पोखरेल र राम क्षेत्री विष्टले कक्षामा नेपाली संस्कृति र समाजलाई रोचक ढङ्गले व्याख्या गर्ने तथा आफ्ना भोगाइहरु पनि प्रस्तुत गरेर समाज चिनाउन अझ बढी मेहनत गर्ने बताउँदै सहाना प्रधान र मीना आचार्य आदि तथा अहिलेका पहिचान, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी विषयमा अध्ययनअनुसन्धान हुनुपर्नेमा जोड दिनुहुन्छ ।
विष्टको जीवनी र योगदानमा आधारित सचिन घिमिरे र गौरव केसीद्वारा तयार गरिएको ‘डिसएपरियरिङ इन मिस्ट’(कुहिरोमा हराउँदा)विषयको छ वर्ष लगाएर बनाइएको ९२ मिनेटको वृत्तचित्रले विष्टबारे धेरै कुरा बोल्छ । वृत्तचित्रअनुसार विष्टकी छोरी आशाले बुवाले आफू बित्दा सन्तान वा परिवारले संस्कार गर्न नपर्ने गरी अलप हुने भनेर धेरैचोटि बताएको कुरा थाहा पाउन सकिन्छ । कीर्तिपुर नयाँबजार अमलसिस्थित गोरखनाथ माविमा तीन बहादुर मानवशास्त्री डोरबहादुर विष्ट(स्कूल संस्थापक), समाजसेवी हीराबहादुर मानन्धर र स्कूलका सहयोगी मीनबहादुर श्रेष्ठको मूर्ति स्थापना गर्न लागिएको विद्यालयका प्रअ मखमल श्रेष्ठ बताउँछन् । हाल मूर्तिकार रामकृष्ण भण्डारीले तीनै जनाको मूर्ति बनाउँदै गरेका छन् । विष्टको अर्काे मूर्ति लेलेमा राख्न लागिएको थाहा भएको छ । विष्टको योगदानको मूल्याङ्कन गर्दै अमेरिका नेपाल हिमाल फाउण्डेशनले प्रतिवर्ष एक उत्कृष्ट मानवशास्त्री विद्यार्थीलाई डोरबहादुरका नाममा स्थापित पुरस्कारले सम्मान गर्छ ।
इतिहासकार डा रमेश ढुङ्गेलचाहिँ उनको आलोचना यसरी गर्छन्, “डोरबहादुर बिष्ट आत्मकेन्द्रित ख्याति, शासकीय शक्तिको भोकमा गुम्सिएका तर एक लगनशील व्यक्ति हुन् । दरबारका सचिव रंजनराज खानालसँगको व्यक्तित्व तथा राजनीतिक नियुक्ति लगायतका व्यक्तिगत प्रलोभन र दरबारका विषयमा मनमुटावको रिस र इवीलाई अध्ययनको काल्पनिक विषयवस्तु बनाएर नेपाली समाज भाँडा बिखको रूपमा ’बाहुन र भाग्यवाद’ जस्ता आधारहीन र वाहियात सिंगो कृति लेख्ने खतरापूर्ण विद्वान् देखिएका छन्, डोरबहादुर ।…जातीयताको विषयमा उनको विचार पूरै भ्रष्ट विचार थियो । …अनि राजदूत नबनाउँदा र राजालाई भेटघाटको प्रबन्ध नगराउँदा एक खनाल बाजेको रिसले सारा नेपालको सामाजिक विश्लेषणको आधार बनाउने लोभ, लालचा, महत्वांक्षा र रिसका पोको हु्न् डोरबहादुर विष्ट… ”(नागरिकन्यूज डटकम, २०७४ जेठ १६) यसैले विष्टको मूल्याङ्कन गर्दा दुवै पक्ष हेर्नुपर्छ भन्ने लाग्छ । उनको नकारात्मक पक्षको चर्चा कमै भएको देखिन्छ । मानवशास्त्री–समाजशास्त्री र यी शास्त्रमा रुचि राख्नेले उनका दुवै पक्षको अध्ययन गरी उनीप्रति धारणा राख्दा नै बेस होला ।

प्रतिक्रिया दिनुहोस्