काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काठमाडौँका जिल्ला अध्यक्षजस्तो जिम्मेवारी सम्हालेका कुसुमकुमार कार्कीसमेत ‘टिकेस’ अर्थात् टिके केन्द्रीय सदस्य बन्न सकेनन् । एकीकृत समाजवादीको काठमाडौँ जिल्ला कमिटी माथिकै अपमान हो यो । नेताका नातागोता, पिएहरू ‘टिकेस’ भएको बेला कार्की छुट्नुले मुल्यांकन पद्धति ठिक नभएको गुनासो छ ।
कार्की कपन–बूढानीलकण्ठ क्षेत्रकै लोकप्रिय नेता हुन्, उनी गाविस अध्यक्ष हुँदै प्रदेशसभा सदस्यसमेत भइसकेका छन् । उनी जत्तिकै जिम्मेवार व्यक्ति ‘टिकेस’ हुनबाट वञ्चित हुनुपर्ने कुनै कारण थिएन ।

पार्टीको दशौँ महाधिवेशनमा पेस गर्न आफैँ एक्लैले विधान तयार गरेका कार्कीको मूल्याङ्कन सही ढंगले गर्न पार्टी चुक्यो । यस्ता धेरै उदाहरण छन्, जसले विद्रोह गरेर पनि एकीकृत समाजवादीमा न्याय पाएनन् ।
केपी ओलीकै शैलीमा थुप्रै इमानदार कार्यकर्ता टिके केन्द्रीय कमिटीमा अटाउन सकेनन् । नेताको चाकडी गर्ने जमातले ‘टिकेस’ भरिएको छ । यस्तै जमातको कारण पार्टी राष्ट्रिय पार्टी बन्न सकेन भनेर धेरैवटा केन्द्रीय बैठकमा महाधिवेशन प्रतिनिधि भूगोलबाट चुनिएर आउनुपर्ने आवाज उठेको हो । तर, नेतृत्वले त्यो कुरा सुनेन र वडा सदस्यमा पनि जित्न नसक्नेलाई ‘टिकेस’ बनाइयो ।
१०औँ महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि चुनिएर आएकाहरूलाई केन्द्रीय सदस्य हुनबाट वञ्चित गरियो । निर्वाचन गरिएको भए अहिलेका केन्द्रीय सदस्यमध्ये दुई सय भन्दा बढी हार्ने थिए । तर, सौराह काण्ड बिर्साउने गरी केन्द्रीय कमिटी निर्माण गरियो ।
हरेक दिनजसो पार्टीका एक न एक नेता, कार्यकर्ता, समूह पार्टी परित्याग गरी अर्को दल खासगरी नेकपा एमालेमै फर्किरहेको पार्टी नेतृत्वलाई थाहा हुँदो हो कि नाइँ ? एमालेमा ओली र उनका समूहका मान्छेले पेलेको घाउ बिसाउन यता आएकाहरू पार्टीमा आकर्षण नहुँदा यता र उता जाँदा पनि नेतृत्वले सम्हाल्न नसक्नु र बेवास्ता गर्नु लाछीपनसिवाय के होला ? प्रतिनिधिसभामा १० सिट र राष्ट्रियसभामा ८ जना सदस्य रहँदैमा पार्टी बलियो हुने हो र ?
गत आमनिर्वाचनमा पार्टी राष्ट्रिय दल हुन नसक्नाका कारण त खोपाका भीमसेन तत्कालीन महासचिव बेदुराम भुसाललगायतका केन्द्रीय नेताहरू निकम्मा भएर पनि हो, जो राजधानी छाडेर अन्य प्रदेशमा खुट्टा टेक्न डराउँथे ।
महाधिवेशन भएको डेढ महिना बित्यो, अझै पदाधिकारी गठन हुन सकेको छैन । पदको महत्वाकांक्षा त जसलाई पनि हुन्छ, त्यसमा मिलाएर लान नेतृत्वले खै सकेको ? हिजैको निकम्मा पदाधिकारीहरूलाई बोकेर पार्टी बलियो हुन सक्दैन ।
पदाधिकारीहरूको मूल्याङ्कन नगरी गंगालाल तुलाधर, प्रमेश हमाल, बेदुराम भुसाल, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, लक्ष्मण केसी जस्तालाई पुनः जिम्मेवारी दिने हो भने पार्टी खरानी हुँदै जान्छ ।
अध्यक्ष माधवकुमार नेपाल अझै पनि प्रधानमन्त्री पदको लोभमा फसेका छन् । उनी आफूचाहिँ अध्यक्ष पद पाएकैमा सन्तुष्ट छन् । धन्न सम्मानित नेता झलनाथ खनाल र नयाँ महासचिव घनश्याम भुसाललाई महाधिवेशनमा यिनले कसरी मनाउन सके । नत्र त्यो पद पनि खुस्किन्थ्यो ।
खनाल पाए राष्ट्रपति बन्छु भन्दै हिँडेका हुन् एमालेमै छँदै । अहिले पनि उनलाई त्यही आशा छ । प्रधानमन्त्री पाउनासाथ उनले दिएको भाषण सुन्नेहरू जिउँदै छन्, मलाई नेपाली जनताले दिएको सर्वोच्च पद पाएँ, अब अर्जुनदृष्टि लगाएर देशको काम गर्छु । गरे के ?
विद्यादेवी भण्डारीको पदावधि सकिएपछि पनि उनले त्यस पदमा फेरि लोभ देखाए र भने, पाए खान्छु । दल छ सानो, राष्ट्रपति कसले दिन्थ्यो र ? टाउको हल्लने रोगबाट बल्लबल्ल तङ्ग्रेका उनलाई समाजवादको व्याख्याता हुन पाएकामा घमन्ड त चढेकै छ ।
त्यही समाजवादी कार्यक्रमबाट कतै अध्यक्ष पो भइहाल्छु कि भन्ने आशा थियो । भुसाललाई समर्थन गरेर कुस्ती खेलको रमाइलो हेर्न लागेका थिए उनी । नेपाल पनि अध्यक्ष किन छाडिहाल्थे र हिजो भर्खर महासचिव खान आएको बबुरालाई अध्यक्ष छाडेर ।
माधवले माथिमाथि सतहमा अलिअलि त मिलाए तर पार्टीको गहिराइ पत्तै पाएनन् । यिनलाई धेरै गाली गर्न र व्यङ्ग्य गर्नु चाहिँ किन हुन्न भने यिनले ओलीबाट कम्युनिष्ट पार्टी र आन्दोलनचाहिँ बचाइदिए । तर आफू समाप्त हुने बाटोमा जाकिँदै छन् ।
पार्टीमा दश भाइमध्येका घनश्याम भुसालबाहेक अरूलाई ल्याउन नसक्नु यिनको कमजोरी थियो । त्यसलाई कमजोरी भन्ने कि, दस भाइको अवसरवादी चिन्तन ? तैपनि, भीम रावललाई ल्याउन सकिन्छ कि भन्ने झिनो आशा छ । वामदेव गौतम त अझै पनि एमालेबाट प्रधानमन्त्री हुन पाइन्छ कि भन्ने ध्याउन्नमा छन्, तिनलाई पनि ल्याउन पछि परे माधव–झलनाथ । आफ्ना युवाहरू अन्त सरेका थाहा नाइँ, ससाना दल र मान्छे ल्याउने ताकमा कति दिन झुल्किन्छन् यिनीहरू ?
समाजवादी मोर्चा मन बहलाउने थलो मात्र बनेको छ । प्रचण्ड सरकारमा गएपछि मोर्चा पनि सुस्तायो । समाजवाद त देखाउने दाँत मात्र भयो । सक्कली खाने दाँत त कुर्सी टोक्न लुकाइएको छ कतै ।
मोर्चाबाट उपेन्द्र यादव हिँडेपछि निभ्न लागेको बत्तीमा तेल थप्न महिन्द्रराय यादव भित्र्याइयो । मोर्चाको चार दल देखिँदा त कहिलेकाहीँ निकै शक्तिशाली छौँझैँ लाग्दो हो । तर, मोर्चालाई अंक गणितको हिसाबले बलियो बनाउने कुरा फेरि प्रचण्ड प्रधानमन्त्री बन्नकै लागि हो ।
अझ विप्लव पनि त्यही देखेर होला ८४ मा चुनाव लड्ने कुरा गर्दैछन् । त्यतिबेला रामबहादुर थापा बादल, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ, गिरिराजमणि पोखरेल मन्त्री बन्दा नेत्रविक्रम चन्द माओवादी सरकारमा अटाएनन् ।
अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता सिपी गजुरेल किन छाडिए ? अब पनि मोर्चाको तागतले त्रिशङ्कु प्रतिनिधिसभा बनाउन सकिएला कि भनेर माधव नेपाललाई फकाउँदै छन् पार्टी एकतै गरौँ भनेर । पार्टी निर्वाचन चिह्न एकीकृत समाजवादीको ‘कलम’ र संसदीय दलका नेता माधव नेपाल नै दिने आश्वासन प्रचण्डले दिएका छन् । यो पनि खरानीको डल्लाजस्तै हो ।
प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग दुईपल्ट र नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग एकपल्ट भेटेर पार्टी एकताको प्रस्ताव गरे । हतारमा पार्टी एकता गरेर फुर्सदमा पछुताउनुभन्दा अहिले नै बलियो आधार तयार गर्नु उपयुक्त हुनेमा नेपाल देखिएका छन् ।
२०७४ को निर्वाचनपछि राजनीतिक र वैचारिक बहसबिना हतारमा एमाले र माओवादीबीच पार्टी एकता गर्दा विभाजन भोग्नुपरेको भन्दै पार्टीभित्र र पार्टी–पार्टीबीच राजनीतिक कार्यदिशामा सहमति भएपछि मात्र मिल्नु उचित हुने नेपालले दाहाललाई सुझाएका छन् ।
प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ८ सिट भएको एकीकृत समाजवादीलाई माओवादीमा समेट्नेतिर छ । माओवादीको ३२ मा एकीकृत समाजवादीको १० सिट थप्दा ४२ सिटको ‘बलियो पार्टी’ बन्ने सपना उनको छ ।
दाहालले नेपाललाई यही साता नेपालनिवास कोटेश्वरमा र आफ्नो निवास खुमलटारमा भेटवार्ता गरी पार्टी एकताको प्रस्ताव गरेका थिए । एमालेबाट विभाजन भएपछि असार तेस्रो साता मात्र महाधिवेशन सकेकाले तत्काल पार्टी एकता नगर्ने तर समाजवादी मोर्चामार्फत सहकार्य गर्नु उपयुक्त हुने नेपालले बताउँदै आएका छन् । भदौ ९, १० र ११ मा बस्ने केन्द्रीय कमिटी बैठकमा वामपन्थी एकतालगायत धेरै विषयमा छलफल हुने जवाफ नेपालले प्रचण्डलाई दिएका छन् ।
२०८० असारमा गठन भएको समाजवादी मोर्चामा संसदमा नभएको नेकपा पनि सहभागी भएको थियो । प्रचण्ड प्रधानमन्त्री भएकै बेला पार्टी विभाजनमा सघाएपछि उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (नेपाल) मोर्चाबाट अलग भइसकेको छ । प्रचण्डबाट उपेन्द्रमाथि भएको यो ठूलो घात हो । राजनीतिमा इमानदार माधव नेपाल होलान्, प्रचण्ड छैनन् भन्ने कुरा माधव नेपालले कहिले बुझ्ने ?











