काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ पाँचथर र ताप्लेजुङमा पनि शाखा विस्तार गरेको छ ।

फिदिम नगरपालिका-१ पाँचथरमा १३०औँ र फागुन ९ गतेका दिन फुङलिङ नगरपालिका-४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको हो ।
फिदिम र फुङलिङमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । एभरेष्ट बैंकका शाखाहरूको उद्घाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रियस्तरको अत्याधुनिक बैंकिङ्ग सेवाहरू प्राप्त गर्ने भएका छन् ।
फिदिम र फुङलिङ शाखाको उद्घाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र फुङलिङ शाखामा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थितिका बीच औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।
अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तीय पहुँचबाट बाहिर रहेका अन्य स्थानमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।