काठमाडौं । तिथिमिती त याद छैन्, नरेन्द्रबहादुर श्रेष्ठदाइसँग भेटभएको साल भने २०५३ हो । २०८२ बैशाख (?) गतेबाट उहाँ ७७ वर्ष, ७ महिना, ७ दिन ७ घडी ७ पला पुगेर जंकु अर्थात् पास्नी मनाउँदै हुनुहुन्छ ।
अहिले सम्झन्छु दाजुलाई पहिलोपटक भेट्दा उहाँ युवा हुनुदोरहेछ । तर त्यसबेला उहाँलाई युवा जस्तो लागेन । एउटा झाँङ्गिएको बटवृक्षजस्तो ।

अहिले उहाँ जीवनको पहिलो जङ्कु गर्दै हुनुहुन्छ । यो अवस्थामा उहाँलाई म युवा अनुभव गर्दैछु । कविता लेखनमा ६ दशक बिताउनुभएका नरेन्द्रदाइ जीवनको पाठशाला जस्तो लाग्छ, मेरालागि । फ्याकिएका रूखका जरमा कलाको प्राण भर्ने उहाँ कला र कविता सिर्जना मा जति अमूर्त हुनुहुन्छ । जीवनको स्वरूपमा त्यतिनै सरल अनि सहज ।
समय सन्दर्भ अनुसार अनुजहरूसँग साथीभाइ बनेर प्रस्तुत हुने । बिषय अनि परिस्थिति अनुहार दाजु भएर अभिभावकीय भूमिकामा देखिन सक्ने उहाँको स्वभाव मेरालागि अनुकरणीय छ ।
बितेको २७–२८ वर्षमा दाजुसंग लामा–छोटा यात्रा धेरै गरियो । अनगिन्ती भेटघाट गरियो । तर सधैं एक नास । सधैं एउटै लय ।
सिजनमा गम्भीर उहाँ सम्बन्धहरूमा पनि उत्तिकै गम्भीर पाउँछु । नरेन्द्रदाइले आजसम्म कुनै मानिसका बारेमा आलोचना गरेको र कसैसंग मन दुखाएको कम्तीमा मैले आजसम्म सुनेको छैन ।
पछिल्ला केही वर्ष देखि दाजु आध्यात्मिक चिन्तन र कर्ममा लागि पर्नुभएको पनि देख्छु । यसले उहाँको शालीन व्यक्तित्वमा धैर्यताको स्वभाव अझ थपिएको होकि भन्ने म अनुभव गर्छु ।
उहाँ बालयोगी आदित्यको शिष्य । आदित्य गुरूको शिष्य बन्न आफुले चाहेर हुँदैन । गुरूले चाहना राख्नु पर्छ। नेपालका ठूलाठूला उद्योगी एवं प्रतिष्ठित व्यक्तिहरू बालयोगी आदित्यका शिष्य बनेका छन् । बन्न हत्ते गर्छन् । नरेन्द्र दाइका अनुसार ‘गुरूको सेवाको अत्यन्तै छोटो समयमा गुरूले उहाँलाई शिष्य बनाउनु भयो ।’
बालगुरूको आध्यात्मिक संसारमा बाहिर बसेर हेर्दा यो घटना समान्य लाग्छ । तर त्यो संसारमा यो घटना यसै सजिलै सम्भव छैन् । अझ नरेन्द्र दाइको जीवनमा अर्काे ठूलो पुण्य कर्मको संयोग मिलेको छ । उहाँकै संयोजकत्वमा गौरीघाट पशुपति स्थित विशाल त्रिगजुर शिजालय मन्दिर निर्माण भयो । जुन जगतमै एक बनेको छ ।
हात नचल्ने कहिँकतै अक्षर नसिक्नु भएका गुरू आदित्यको आश्चर्यलाग्दो इन्जिनियरिङ निर्देशनबाट उक्त मन्दिर निर्माण गर्दाको घटनाले संसारमा ईश्वर छन् । बालगुरू ईश्वरका अवतार हुनुहुन्छ भन्ने दाजुमा सघन विश्वास जागेको छ ।
कला र साहित्यको विशिष्ट साधना गरेको एउता स्रष्टा भक्तिमार्गमा लिन हुँदा उसले बुझ्ने जगतको भिन्नता कस्तो होला ! अहिले मेरा लागि नरेन्द्रदाइको जीवन अनुभव र बुझाइ अझ चाखको बनेको छ ।
अहिले म सोच्दै छु, जीवनको पहिलो जङ्कु अर्थात् ७७ वर्ष पार गर्ने अवस्थाका नरेन्द्रदाइमा यो युवेली जोश । सक्रियता कसरी आएको छ ? अनि सोच्दैछु, उहाँमा रहेको सकारात्मक चिन्तन हामी सबैसँग किन हुन सक्दैन ।
नरेन्द्र दाइको कविता सिर्जना र कलाको म ३०–३५ वर्षदेखि निरन्तरको पाठक हुँ । उहाँको कविताकारिताले म किशोर अवस्थामा जसरी लोभिन्थे आज पनि मेरो आकर्षण उस्तै छ ।
जरामा कलामात्र होइन जीवन खोज्ने उहाँका कलाको त को पारखी नहोला । जब उहाँको निवास पुग्छ, उहाँका प्रत्येक एकएक कलामा म हराउँछु । अझ फ्याकिएको जरामा सनातन संस्कृतिको कलाप्राण भरेर अमूर्तरूपमा उभ्याउने उहाँको कला कल्पना देखेर हैरान हुन्छ ।
नरेन्द्र दाइ राम्रो र सफल व्यवसायी पनि हुनुहुन्छ । सम्पन्न, समृद्ध । सिर्जना र धन सम्पत्तिले सम्पन्न हुनु र त्यो सम्पन्नताको अहंकार कहिकतै नदेखाउनु नरेन्द्र दाइको जीवनको महत्वपूर्ण सफलता हो ।
उहाँको जीवन सादगी र सरल पूर्ण सफल बनाएको छ । मैले देखेदेखिको युवा । मैले भेटेदेखिको परिपक्व अभिभावक, जसमा न कुनै थकान देखेको छु । न त कुनै गुनासो । सधैंको हँसिलो फुर्तिलो नरेन्द्र दाइ, युवा हुँदाहुँदै ७७ वर्ष ७ महिना ७ दिन ७ घडी ७ पोला पुग्नु भएको छ ।
यो क्षण जङ्कु आश्चर्यमा परेको हुनुपर्छ । नरेन्द्र दाइ तपाईंको यो युवापनले शाताब्दी पार गरोस्, कामना ।