Logo
Logo
टिप्पणी

जनयुद्धदेखि जनविरोधसम्म


उमेश बन्जाडे

6.7k
Shares


पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादी पार्टी त्यसपछिका निर्वाचनमा लगातार तेस्रो हुनुप¥यो । विभाजन र विचलनको चाङले च्यापिएर एउटा कित्ता पूर्ण रूपमा सत्ता र शक्ति केन्द्रित बन्यो । त्यही कित्तामा उभिएर थुप्रै माओवादीहरू कमाउधन्दातिर लागे ।

उता अरू विभाजित धारहरू नेतागिरी एवं सिद्धान्त रटानको गाना बजानातिर लागे । उनीहरू पनि हुँदा खाँदाको पार्टी फुटाएको औचित्य पुष्टि गर्न नपाउँदै आफैँ छिन्नभिन्न भए । उसो त माओवादीहरू विभिन्न टुक्रामा बाँडिएपछि न सिद्धान्तको रक्षा भयो न त आफ्नो पुरानो विरासत जोगियो । एक्ला प्रचण्डले अनेकौँ घेराबन्दीका बाबजुद आंशिक रूपमा भए पनि केही मुद्दाहरू स्थापित गरे ।

जे होस् त्यत्रो युद्धको रापतापबाट शान्ति प्रक्रियामा आएका एक जना कुशल कमान्डरले चाहेअनुरूप जनअपेक्षा पूरा गर्न नसके पनि नराम्रो गर्ने कसरत कहिल्यै गरेनन् । पार्टी बाहिरका सँग भन्दा प्रचण्डलाई जहिल्यै पार्टीभित्रैकाले हैरान बनाए । पद, पावर र धन आर्जनका लागि घुक्र्याउने र धम्क्याउने खेलखण्ड सुरु भए । प्रचण्डको नाम भजाएर अकूत सम्पत्ति थुपार्नेहरू आश्चर्यजनक रूपमा देखापर्न थाले ।

संस्थापन पक्षका हरेक कमिटीका बैठकमा प्रचण्डले पटकपटक जनतामा फर्किनुपर्ने निर्णय गराए । मातहतका कमिटी र नेतृत्वलाई निर्देशन दिँदादिँदै हुँइकिएका प्रचण्ड यसपालि आफैँ अघि लागेपछि नवसामन्तीको रुपधारण गरेर सुन्निएका कमरेडहरू पछिपछि लतारिन बाध्य बनेका छन् ।

माओवादीभित्र एउटा स्वार्थीहरूको झुन्ड छ, जो पार्टीको भविष्यभन्दा आफ्नो निकृष्ट महत्वाकांक्षालाई पूरा गर्न उद्यत छ । विगतमा पार्टी विभाजनका शृङ्खलाहरू यही समूहको खेलखण्डबाट सुरुवात भएको हो ।

शान्ति प्रक्रियामा आइसकेपछि यो गिरोहले बडो चलाखीपूर्ण ढङ्गले पार्टी हितविपरीत गतिविधि सञ्चालन गरिरहेको छ । यदाकदा आफूलाई व्यावसायिक देखाउन अनुदान पाउने क्षेत्रमा लगानी गरेको देखाए पनि साना व्यवसायीलाई लखेट्ने र दलालीबाट प्राप्त कालोधनलाई सेतो बनाउन तमासा देखाउनेबाहेक निरन्तरता र कार्यकर्तामा आकर्षण ल्याउनेतिर पटक्कै नसोच्ने यिनीहरूको चलनजस्तै बनेको छ ।

यद्यपि, यिनीहरूको उठबस, सानसौकत र रहनसहन हेर्दा उनको पृष्ठभूमि छर्लङ्ग जान्नेहरू चकित भएर जिब्रो टोक्छन् । यिनीहरू कस्तो खाले राजनीति गर्छन् कुन्नि ? जब पार्टी र नेतृत्व चौतर्फी घेराबन्दीमा परेको हुन्छ तब कुनै अत्तोपत्तो हुँदैन । आफूलाई फाइदा हुने छाँट देखियो भने प्रचण्डको मान्छेका रूपमा आश्चर्यजनक ढङ्गले प्रकट हुने तर कतैबाट दुई पैसा झर्ने सम्भावना नदेखेपछि कुना पसेर जोखना हेर्ने विचित्रको राजनीतिमा माओवादीभित्रको यो गिरोह सक्रिय छ ।

यतिबेला प्रचण्ड ‘हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान’मा छन् । माओवादी नेताहरू सहर केन्द्रित हुनाले जनतासँगको सम्बन्ध बिग्रिएको र पार्टीसँगै जनताका मुद्दाहरू पनि कमजोर भएको भन्दै केही महिनाअघिदेखि उनी जनताकै बिचमा छन् ।

‘जनताको काखमा बसेर देश परिवर्तनको युद्ध लडेको माओवादी र त्यसका नेताहरूले चटक्क गाउँ छाडे । आफ्नो वर्ग, मुद्दा र उद्देश्य सबै बिर्सिदिए । हिजो जनतासँग गाँस मागेर खानेहरू आज दिने ठाउँमा पुगेपछि आफ्नै भकारी भर्न थाले ।

हिजो देशका लागि ज्यानको बाजी थापेर हिँड्नेहरू आज बिचौलिया, दलाल र भ्रष्टहरूको छत्रछायामा मुस्कुराउन थाले । सहिद, घाइते र बेपत्ता योद्धाको बलिदानमाथि मुठ्ठीभर मान्छेहरूले आधिपत्य जमाए ।’ अहिले आमरुपमा विरोधीदेखि सामान्य नागरिकले पनि माओवादी पार्टी र त्यसका नेतालाई सजिलै लगाउने यिनै आरोपहरू हुन् ।

हुन त गहिराइमा जाने हो भने माथि उल्लेखित कुराहरू आरोप मात्रै नभएर केही प्रतिशत सत्य पनि हुन् । सत्य भएरै त निर्वाचनमा पहिलो बनाएको पार्टीलाई जनताले नै कारबाही गरेर तेस्रो बनाइदिए । अहिले प्रचण्डलाई आफू र आफ्नो दलमाथि लागेका आरोपहरू धोइपखाली गर्ने राम्रो अवसर मिलेको छ । यद्यपि, प्रचण्डले मात्रै आँटेर यो केही समय मत्थर त होला, आउँदो निर्वाचनसम्म टिक्न मुस्किल छ ।

खासगरी स्थानीय नेतृत्व, जो जनताको दैनिकीसँग जोडिएको छ, उसले भत्किएको आफ्नो धरातललाई पुनर्निर्माण गर्न जरुरी छ । होइन भने, हरेक ठाउँमा प्रचण्डकै मुख ताकेर बस्ने भए किन राजनीतिको झोला बोकिरहनु ?

प्रचण्डसँग एउटा यस्तो समूहको पहुँच छ, जो हिजैदेखि उनको सचिवालय वरिपरि घुमिरहेको छ । हेडक्वाटरसँग विभिन्न कोणबाट नाता सम्बन्ध जोड्ने, नेता–कार्यकर्ता र जनतालाई गन्दै नगन्ने, सहिद, बेपत्ता परिवार र घाइते योद्धाका बिचमा आसमान व्यवहार गर्ने, आफूले माथिल्लो तहका नेतृत्वको चाकडी गरेझैँ मातहतका कार्यकर्ताबाट चाकडीकै अपेक्षा राख्ने, महँगा होटेलमा लगेर सोमरस पान गराउनेलाई पद र जिम्मेवारी बाँड्ने, समग्रमा वडा र टोलमा बचेका केही स्वच्छ छविका कार्यकर्ता र जनतालाई निराश पार्दै दैनिक निष्क्रिय र पलायनको बाटो देखाउने यो समूहको मूलभूत कर्म हो ।

उता रिपोर्टिङ गर्दा ‘अध्यक्ष कमरेड हामीले जिल्ला कब्जा गरिसक्यौँ, ढुक्क भएर अघि बढ्नुस्’ भन्दै प्रचण्डलाई समेत गुमराहमा पार्न सक्ने खुबी यो समूहले राख्दछ । यही समूहमा सक्रिय तरमाराहरु बेथितिका विरुद्ध त कुरै छाड्नुस्– सञ्जालमा विपक्षीका विरुद्ध लेख्दा–बोल्दा पनि सातो छाड्छन् । त्राहिमाम हुन्छन् । बाहिर मालेमावादी विधि, पद्धति र संस्कारको रटान लगाउँछन्, भित्रभित्रै बुर्जुवा कारखानामा बसेर नाफाघाटाको क्याल्कुलेटर दबाउँछन् ।

बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म यिनीहरू दलाल, ठेकेदार र माफियाहरूको सम्पर्कमा हुन्छन् । त्यसमा मध्यान्तर छुट्याएर पार्टी कार्यक्रमको ब्यानर मुन्तिर हाजिर लगाउँछन् । विद्यालय व्यवस्थापन समितिदेखि पार्टी केन्द्रसम्म उनैको हालीमुहाली छ । टेन्डर, कमिसन र दलालीमा पनि अग्रपङ्क्तिमै छन् ।

त्यतिमात्र होइन, बेलाबेला यिनीहरू कहिले वर्षामान, कहिले जनार्दन त कहिले महराको नाममा गुटको प्रचारबाजी गरेर आफूले फाइदा लिने र तल्लोस्तरका कार्यकर्तासँगै जनतामा निराशाको खेती गर्न पनि भ्याएकै छन् । जे होस् शक्तिशाली माओवादीलाई ख्याउटे बनाउनमा यिनीहरूको पनि महत्त्वपूर्ण योगदान छ ।

अहिले प्रचण्ड स्वयं ‘जनतासँग माओवादी’ अभियानको नेतृत्व गर्दै गाउँगाउँमा पुगेका छन् । जनताको आकर्षण देखेर उनी दंग छन् भने नागरिकको उत्साह पनि प्रचण्डप्रति कम्ती छैन । परन्तु प्रचण्डको यो जनमुखी लयलाई स्थानीयस्तरका नेताहरूले जीवन्त राख्न सक्छन् या सक्दैनन् ? यो आजको महत्त्वपूर्ण प्रश्न हो ।

विगतमा पनि माओवादीमाथि आम जनताको ठूलो भरोसा देखिएकै हो । माओवादीभित्रैका स्वार्थीहरूको गिरोहले त्यसलाई माटोमै मिलाइदिए । आज पनि हस्याङ–फस्याङ गर्दै चाहेर वा नचाहेर प्रचण्डकै अघिपछि ‘मर्निङवाक’मा दौडिरहेका ती मझौला तहका नेताहरूका लागि यो स्वयं सुधारको राम्रो अवसर हो ।

‘प्रचण्ड दशकौँसम्म नेतृत्वमा बसे’ भनेर उछितो काढिरहने, तर आफूले आफ्नो क्षेत्रका सबै सांगठनिक संरचनाहरू ध्वस्त पारी दुई–चार जाना चुल्ठे–मुन्द्रेहरू काखी च्यापेर आत्मरति लिने परिपाटीको समूल रूपमा अन्त्य हुन जरुरी छ ।

लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्