Logo
Logo

सत्ता, शक्ति र पैसा


567
Shares

असार १५ अर्थात्, दही चिउरा खाने दिन आउनै लाग्यो । आजको ठिक एक वर्ष अगाडि नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका बेचन झा पक्राउ परे । तत्कालीन गृहमन्त्री रवि लामिछानेले झालाई भारतबाट पक्राउ गरेर ल्याएका थिए । त्यसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतको सहमति थियो ।

झा पक्राउ परेपछि आत्तिएका आरजु राणा देउवा पक्राउ पर्नबाट जोगिन हतारहतार प्रधानमन्त्री पद ओलीलाई बुझाउन शेरबहादुर देउवासँगै बालकोट पुगे । देउवा दम्पती अचानक दही दिउरा खाने दिने बालकोट आउने कुराले ओली पनि उत्साहित भए । त्यसैदिन ओली–देउवाबीच प्रचण्डको सरकार ढाल्ने सहमति भयो र प्रचण्डको सरकार ढल्यो ।

कांग्रेस–एमालेको गठबन्धन सरकार बन्नुको एउटै उद्देश्य थियो, नक्कली भुटानी शरणार्थी काण्डबाट आरजुलाई जोगाउनु । यदि, प्रचण्ड–रवि निरन्तर सत्तामा रहेको भए आरजु पक्राउ परिसक्ने थिए । किनभने, बेचन झाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा युवाहरुबाट उठाएको रकम आरजुलाई दिएको चर्चा त्यतिबेलै चलेको थियो । सायद, सिआइबीको वयानमा पनि आरजुको संलग्नता सुरक्षित छ । झा पक्राउ परेपछि आफ्नो पोल खुल्ने डरले सरकारै ढालेको कुरा कसैबाट छिपेको छैन ।

यो गठबन्धन सरकार बन्नुको उद्देश्य नै आरजुलाई जोगाउनु, प्रचण्डलाई सत्ताबाट फ्याँक्नु र रवि लामिछानेलाई जेल हाल्नु थियो । यत्तिमै सरकारको औचित्य समाप्त भएको ठान्नु हुँदैन । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियारमार्फत भ्रष्टाचारको मुद्दा ब्युँताएर ओलीले देउवा र आरजुसँग ‘ब्ल्याकमेलिङ’ गरेको हुनसक्छ । मन्त्रिपरिषद्ले गरेका कुनै पनि निर्णयमाथि मुद्दा चलाउने अधिकार अख्तियारसँग छैन । तर पनि पतञ्जली जग्गा काण्डमा माधव नेपालजस्तो स्वच्छ छवि र निष्कलंक नेतालाई फसाइयो ।

यसको छिनोफानो न्यायालयले कसरी गर्छ, त्यसमा देउवा, प्रचण्ड र ओली स्वयंको पनि भविष्य जोडिएको छ । माधव नेपालमाथिको मुद्दा ‘एक तीरले दुई शिकार’हो भन्ने कुरा देउवाले पनि नबुझेको कुरा होइन, तर के गर्नु कुरा बुझेर पनि श्रीमतीलाई जोगाउन ओलीलाई प्रधानमन्त्री बनाउन बाध्य हुनुप¥यो । अब ओलीको विकल्प देउवासँग पनि छैन । निहुँ खोज्यो भने नक्कली भुटानी शरणार्थी काण्ड उल्ट्याएर आरजुलाई जेल हाल्न के बेर ? वाइडबडीमा देउवाको मुद्दा अख्तियारमा छँदैछ ।

सुन्दैछु, फसादमा छन् देउवा । माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लागेकोमा देउवा दुःखी छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि एमालेबाट माधव नेपालले विद्रोह गरेर नयाँ पार्टी नखोलेको भए, सायद देउवा प्रधानमन्त्री हुने थिएनन् । देउवामाथि त्यति ठूलो गुन लगाएका माधव नेपालमाथि ओलीको प्रतिशोध हो पनि भन्छन्, यो घटना ।

जे होस्, माधव नेपाललाई पताञ्जली जग्गा प्रकरणमा जेल हालेर ओलीले पनि आफ्नो जेलयात्रा तय गरेका छन् । नेपाली उखानै छ, ‘कहिले सासूको पालो त कहिले बुहारीको…’ ओली पनि अख्तियारबाट चोखो छैनन् । गोकर्णको जग्गा यती होल्डिङ्सलाई ऐन संशोधन गरेर दिएको काण्ड होस् वा ओम्नीलाई चीनबाट कोरोनाका औषधि खरिदको ठेक्का, त्यसमा ओली जोडिएकै छन् । त्यसमाथि गिरिबन्धु टि स्टेटको जग्गा प्रकरण ओलीका लागि टाउकोमाथि तेर्सिएको तरबार हो । अख्तियारबाट जोगिन उनले कानुन संशोधन गरेर हदबन्दी फुकुवा गरेका थिए ।

यस विषयमा न्यायालयले मन्त्रिपरिषद्को निर्णयको प्रकृति हेरेर नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न पाउने फैसला सुनायो भने आज माधव नेपाल, भोलि प्रचण्ड, देउवा र पर्सि ओली स्वयं जेल जाने अवस्था नआउला भन्न सकिन्न । प्रतिशोधको राजनीति आफू सत्तामा हुँदासम्म मात्र हो । सत्ता, शक्ति र पैसा सधैँ एक ठाउँमा बस्दैनन् भन्ने कुरा सबैले हेक्का राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्