असार १५ गते जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्ती । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली थिए । ओलीले मदन भण्डारीप्रति जुन अपशब्द प्रयोग गरे, त्यो शोभनीय थिएन ।

पार्टी अध्यक्षजस्तो शीर्ष नेता, त्यसमाथि प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसीन नेताले हावाको भरमा स्वर्गीय भण्डारीप्रति लगाएको लाञ्छनाले उनको नियत छर्लङ्ग हुन्छ । हुन त प्रधानमन्त्री ओलीले भनेका कुरा २०४८ सालमा कृष्णप्रसाद भट्टराईसँग चुनावी प्रतिस्पर्धा गरिरहेका एमाले महासचिव मदनकुमार भण्डारीलाई होच्याउन र चुनाव हराउन केही कांग्रेसका पत्रकारहरुले उक्त शब्द प्रयोग गरेका थिए । त्यतिबेलाको कुरालाई अहिले कोट्याउनु ‘अर्थ न बर्थ, गोविन्द गाई’, ‘टाउको दुखेको ओखती नाइटामा लाइ…’ भनेजस्तै हो ।
खास अर्थमा मदन भण्डारीले काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचन लड्ने कुनै योजना नै बनाएका थिएनन् । काठमाडौं १ मा उनको उम्मेदवारी सुनसरीमा मनमोहन अधिकारीलाई जिताउने उद्देश्यले मात्र दिएका थिए । भण्डारी दूरदर्शी नेता थिए, उनले काठमाडौं १ मा उम्मेदवारी दिँदै गर्दा कांग्रेस र कम्युनिष्ट मिलेर प्रजातन्त्र पुनःस्थापना गरेकोले कम्तीमा प्रजातन्त्र जोगाउन कांग्रेस र कम्युनिष्ट दुईवटा निर्वाचन मिलेर जानुपर्ने प्रस्ताव अगाडि सारेका थिए ।
तर, उनको प्रस्ताव कांग्रेसले नमान्दा किसुनजीजस्तो सादगी नेताले पनि निर्वाचन हार्नुप¥यो । भण्डारीले भनेझैँ कांग्रेस र कम्युनिष्ट दुईवटा निर्वाचनसम्ममा मिलेर गएको भए नेपालको राजनीतिले सही बाटो समाउने थियो । कांग्रेसभित्र विग्रहको अवस्था पनि निम्तने थिएन र शेरबहादुर देउवा प्रवृत्ति जन्मिने पनि थिएन ।
तर दुर्भाग्य, कांग्रेसले देउवा जन्माए, एमालेले ओली । यी दुईका कारण नेपाली राजनीति टुकुचाभन्दा दुर्गन्धित बनेको छ । मदन भण्डारीको हत्यापछि ओलीले पार्टीको महासचिव बन्ने इच्छा व्यक्त गरेका थिए, उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टीले महासचिवको जिम्मेवारी दियो, त्यही रिसको बदला ओलीले माधव नेपालसँग लिँदैछन् ।
मदन भण्डारीको हत्यापछि नेपालको राजनीतिमा धेरै उथलपुथल भयो, जस्तोसुकै आँधीबेहरीमा पनि माधव नेपाल सतिसाल भएर उभिएको इतिहास साक्षी छ । अहिले भएका नेताहरुमध्ये माधव नेपाल निष्कलंक नेता हुन् । दुर्भाग्य, सतिले सरापेको देशमा उनै निष्कलंक नेताले भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।
आजका युवा चाहन्छन्, राजनीतिमा नयाँ अनुहार आए हुन्थ्यो । त्यसको सफल प्रयोग पनि भयो, तर पुराना नेतालाई नयाँ पुस्ता आएको पटक्कै मन परेको छैन र रवि लामिछानेमाथि नखाएको विष लाग्यो । बालेन साहलाई असफल बनाउने षड्यन्त्र एकपछि अर्को गरेर जारी छ । राज्य जतिसुकै दमन र षड्यन्त्रमा उत्रिए पनि ती दमन र षड्यन्त्रलाई नेपाली जनताले समय आएपछि चिरेरै छाड्नेछन् । मै हुँ भन्ने नेताले पनि चुनावमा धुलो चाटेको तीतो इतिहास साक्षी छ । त्यसैले बेलाबेला सामाजिक सञ्जालमा युवाहरूले ‘सच्चिने कि सक्किने’ भन्ने शब्द पोस्ट गरेर नेताहरूलाई चेतावनी दिइरहेका छन् ।
यसै सन्दर्भमा विद्या भण्डारी भावी एमालेको अध्यक्ष बन्ने कुराले नेपालको राजनीतिमा तरंग ल्याएको छ । नेपालको पहिलो महिला राष्ट्रपति बनेकी विद्या भण्डारी नेकपा एमालेको पहिलो महिला अध्यक्ष बन्ने कुराले एमाले कार्यकर्ताहरूमा उत्साह छाएको छ ।
धेरैलाई लाग्दो हो, केपी ओलीसँग विद्याले प्रतिस्पर्धा गर्न सक्लान् र ? यो प्रतिस्पर्धाको कुरा नै होइन, सहमतिबाटै उनी ११औँ महाधिवेशनबाट अध्यक्ष चुनिँदै छिन् । किनभने, एमालेको विधानमा दुई पटकभन्दा बढी कार्यकाल अध्यक्ष हुन नपाउने प्रावधान छ । त्यसमाथि विधानले नै ७० वर्ष उमेर कटेका व्यक्ति केन्द्रीय कमिटीमा आउने छैनन् । यी दुई कुराले दुईपटक अध्यक्ष भएका वा ७० वर्ष उमेर नाघेका व्यक्ति एमालेको नेतृत्वमा पुग्न सक्ने छैनन् । अर्थात्, विधानले नै ओलीका लागि एमालेमा ढोका बन्द गरिदिएको छ ।
अन्त्यमा, मदन भण्डारीको तस्बिरमुनि उनको पत्नी विद्या भण्डारीकै सामु ओलीले ‘सहकारी ठग’, ‘चारवटा श्रीमती र ‘दुलाबाट फुत्त निस्केर नेता बनेको’ कुरा नभन्दिएको भए राम्रो हुन्थ्यो भन्ने मनमा लागेको छ ।











