Logo
Logo

छिमेकीसँग शंकाको सम्बन्ध


1.1k
Shares


अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री केपी शर्मा ओलीसँग झुक्न बाध्य भए । नेपाली कांग्रेसको समर्थनमा चौथो पटक प्रधानमन्त्री बनेका ओली यही भदौ ३१ गते १३ महिनापछि भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । यो १३ महिनाको बिचमा ओलीको भारत भ्रमण मिलाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले धेरै प्रयत्न गरिन् । औपचारिक, अनौपचारिक रूपमा राणाले गरेको प्रयास असफल भएबाट ओली पनि निराश थिए । त्यसैले उनको पहिलो औपचारिक भ्रमण चीनमा भयो ।

चीन र भारत युगौँदेखि नेपालको असल छिमेकी हुन् । यी दुई देशसँग मात्र हामीले विश्वासको कूटनीतिलाई बलियो बनाउन सक्यौँ भने आर्थिक समृद्धि हासिल गर्न अरूको मुख ताक्नु पर्दैन । आर्थिक विकासको हिसाबले दुवै छिमेकीले अमेरिकालाई चुनौती दिने स्थान बनाइसके । डोनाल्ड ट्रम्पको दोस्रो ‘इनिङ’पछि झस्किएको भारत र चीन अहिले सम्बन्ध सुधारको क्रममा छन् । यसबाट नेपालले कति फाइदा लिन सक्छ भन्ने कुराले सरकारको सफलता असफलता निक्र्यौैल गर्छ ।

तर, दुर्भाग्य दुवै छिमेकीले नेपाललाई त्यति विश्वास गर्न सकेको देखिँदैन । नेपालको अस्थिर राजनीति र परराष्ट्रनीतिले दुबै छिमेकी नेपालप्रति शसंकित छन् । असंग्लग्न देश भए पनि कहिले भारत, कहिले अमेरिकातिर ढल्कँदा छिमेकीहरू शसंकित हुनु स्वाभाविकै हो ।

एमसिसीमा त बेइजिङले सार्वभौम मुलुकमाथिको अनुचित दबाब बन्द गर्न वक्तव्य नै निकाल्नुप¥यो । नेपालमा वामपन्थीहरूमाथि भरोसा गरेको चीनले एमसिसीमा तिनै वामपन्थीहरूबाट धोका खाएको तितो यथार्थ हो । सन् २०१७ मा अमेरिकासँग सम्झौता भएको एमसिसी कार्यान्वयन हुँदै गर्दा चीनको बिआरआइ अलपत्र परेको छ । सत्तारुढ दलकै एक घटक नेपाली कांग्रेस भित्री रूपमा बिआरआइप्रति नकारात्मक भएकै कारण चीन पनि चिन्तित छ ।

प्रधानमन्त्री ओलीको पछिल्लो चीन भ्रमणताका सत्ता साझेदार नेपाली कांग्रेसले ‘ऋण नलिने, अनुदान लिने नीति’ अवलम्बन गरेपछि ओलीको पछिल्लो चीन भ्रमण पनि निराश बन्यो । जबकि, पहिलो पटक प्रधानमन्त्री बन्दा ओली स्वयंले बिआरआइमा सहमति जनाएका थिए । त्यति मात्रै होइन, पाँच वर्षभित्र केरुङ–काठमाडौं, काठमाडौं–लुम्बिनी रेलमार्गको सपना नेपाली जनतालाई बाँडेका थिए ।

एउटा छिमेकीसँग यति ठूलो सपनामा सहमति गरिरहँदा प्रधानमन्त्री ओलीले चुच्चे नक्सा सार्वभौम संसदबाट पास गराएर अर्को छिमेकीलाई चिढ्याएका थिए । यी दुवै कुरा कार्यान्वयन नहुँदा दुवै छिमेकी बिचको सम्बन्धमा चिसोपन आएको हो । अहिले विश्व राजनीतिमा फेरबदल आएको छ ।

सांघाइको अपरेसन बैठकमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबिच कस्तो सम्बन्ध स्थापित हुन्छ भन्ने कुराले नेपालको लागि धेरै अर्थ राख्छ । त्यसैले प्रधानमन्त्री ओलीको भारत होस् वा चीन भ्रमणबाट हामी धेरै हौसिनुको कुनै अर्थ छैन । राजनीति होस् वा कूटनीतिमा हामीलाई यी दुई छिमेकीले विश्वास गर्ने वातावरण बनाउनु नै चीन र भारत भ्रमणको उपलब्धि हो ।

विश्वासको जगमै सम्बन्ध बलियो हुने हो । शंकाको भरमा कुदेको कुटनीतिले विश्वासको वातावरण धमिल्याउँछ । अहिले भइरहेको पनि त्यही नै हो । चीन र भारतसँगको सम्बन्धमा शंका उत्पन्न हुनुको प्रमुख कारण पनि ओलीको बोली र व्यवहार नै हो । यस कुरामा प्रधानमन्त्री ओली अलि गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्