काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पक्राउ परेका रेस लामालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

लामा भदौ ८ गते साँझ चाबहिलस्थित एवान क्याफेबाट पक्राउ परेका थिए । सोमबार जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद लिएर लामामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीमाथि भदौ ४ मा काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीमा सञ्चालित बाजेको सेकुवामा उनले एकराज कार्की ‘जनक’लाई कुटपिट गरेको आरोप लागेको छ । जनकलाई रेसले २ लाख ८० हजार तिर्नुपर्ने थियो । तर, सो रकम माग्दा रेसले उल्टै कुटपिट गरेको पीडितको आरोप छ ।
यसअघि तरबारले केट काटेर टिकटकमा भिडियो पोस्ट गर्दै आतङ्क मच्चाएको आरोपमा २०८१ माघ २४ गते उनी पक्राउ परेका थिए । आफूलाई रेस लामा भनेर चिनाउने उनको वास्तविक नाम गोपाल मोक्तान हो । लामा दोलखाको बैतेश्वर गाउँपालिका–३ का स्थानीय हुन् ।














