काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झासँगको भेटका विषयमा गलत अर्थ लाग्ने गरी प्रचार गरेको गुनासो गरेकी छन् ।

मङ्गलवार बिहान १० बजेदेखि साढे ११ बजेसम्म भएको उक्त भेटमा भएको संवादलाई आफूअनुकुलको व्याख्यासहित झाले गलत प्रचार गरेको भण्डारीको सचिवालयले जनाएको छ ।
स्वकीय सचिव राजकुमार राईका अनुसार पूर्वराष्ट्रपतिले विभिन्न राजनीतिक दलका नेताहरू र समाजका अगुवाहरूसँग नियमित भेट, संवाद र छलफल गरिरहेकी छन् ।
त्यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता झाले समय मागेर मङ्गलवार भेटेका थिए । भेटवार्ताका क्रममा भएका संवादलाई आफूअनुकुल व्याख्या र अतिरञ्जना गरेको भन्दै झासँग पूर्वराष्ट्रपति रिसाएकी हुन् ।
सहकारी ठगीमा हाल जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा सरकारले राजनीतिक पूर्वाग्रह राखेको भनेर भण्डारीले बताएको भन्दै झाले सञ्चारकर्मीलाई जानकारी दिएका थिए । तर पूर्वराष्ट्रपतिले उक्त कुरा नबोलेको भन्दै सचिवालयले खण्डन गरेको छ ।
बरु उक्त भेटका क्रममा पूर्वराष्ट्रपतिले आफू छलफलकै चरणमा रहेकाले एमालेको भदौ २०-२२ को दोस्रो विधान महाधिवेशन पनि हेर्ने बताएकी थिइन् ।
मनिष झासहित भंगालमा पुग्नेहरूले उनलाई ‘अब के गर्नुहुन्छ ? विधान महाधिवेशनमा के गर्नु हुन्छ ?’ भनेर सोधेका थिए । उनले जवाफमा भनेकी थिइन्, ‘एमालेले विधान महाधिवेशन गर्दै छ, त्यो हेर्छु । अहिले म छलफलकै क्रममा छु । प्रदेशतिर संवादका लागि जान्छु ।’














