दमौली । तनहुँमा कृषि ज्ञान केन्द्रले ४,०८५ रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादन तथा बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा २० कृषक समूहमार्फत कार्यक्रम अघि बढाइएको हो।

केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार हरेक समूहमा न्यूनतम १०० रोपनी क्षेत्रफल आवश्यक पर्ने र कार्यक्रमलाई प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको छ। कुल बजेट रु ६८ लाखमध्ये रु ३९ लाख २ हजार खर्च भएको छ।
कार्यक्रमअन्तर्गत ५,४१४ किलो मकै बीउ, ३९ मिनिटिलर, २१ कम्बाइन मिल, ४७ मकै छोडाउने उपकरण, १४ डिजिटल तराजु, ५२ स्प्रेयर, ४२० त्रिपाल र २०० मिटर कुलो कृषक समूहलाई ५०–८५% अनुदानमा वितरण गरिएको छ।
कार्यक्रम सञ्चालन भएका प्रमुख क्षेत्र र समूहहरू:
- फाउदी कृषि सहकारी (म्याग्दे) – ५०० रोपनी
- घलडाँडा कृषक समूह (आँबुखैरेनी–६) – ४००
- भानुस्थित साथ सहकारी – ४००
- बर्लाची सहकारी – ४००
- समता कृषि सहकारी – ३००














