
एजेन्सी । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे धरौटीमा रिहा भएका छन् । पदमा रहँदा सार्वजनिक कोष दुरुपयोगको आरोपमा पक्राउ परेका विक्रमासिंघेलाई कोलम्बोको मजिस्ट्रेट अदालतले जमानतमा छाडेको हो । उनी पक्राउ पर्ने पहिलो श्रीलंकाली पूर्व राष्ट्र प्रमुख हुन् ।
राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वमा भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत सुरु गरिएको छानबिनमा धेरैजसो उच्चस्तरीय पूर्वमन्त्री र राजनीतिक नेताहरू छन् । उनीहरूमध्ये विक्रमासिंघे सबैभन्दा चर्चित नेता हुन् । शुक्रबार पक्राउ परेका पूर्व राष्ट्रपति विक्रमासिंघे अहिले कोलम्बो राष्ट्रिय अस्पतालको सघन उपचार कक्षमा छन् ।
उनलाई डिहाइड्रेसन र अन्य स्वास्थ्य समस्या भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल निर्देशक डा. प्रदीप विजेसिंघेले सोमबार मिडियालाई विक्रमासिंघेको स्वास्थ्य स्थिर रहेको बताएका थिए ।
विक्रमासिंघेमाथि सन् २०२३ मा क्युबा र अमेरिकाको औपचारिक भ्रमणपछि लन्डनमा आफ्नी श्रीमतीको स्नातक समारोहमा भाग लिन सार्वजनिक कोष प्रयोग गरेको आरोप छ । तर उनको पार्टीले यसलाई आधिकारिक हैसियतमा प्राप्त निमन्त्रणाअनुसार भएको भन्दै बचाउ गरेको छ ।
विपक्षी सांसद तथा नेताहरूले सरकारको यो कदमले श्रीलंकाको लोकतन्त्रलाई कमजोर बनाएको टिप्पणी गरेका थिए । तर यातायातमन्त्री विमल रत्नायकेले भने आरोप अस्वीकार गर्दै विक्रमासिंघेको गिरफ्तारी कानुनअनुसार भएको बताए ।
सन् २०२२ मा आर्थिक संकटले राजनीतिक अस्थिरता निम्त्याएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई राजीनामा दिन बाध्य पारेर विक्रमासिंघे सत्तामा आएका थिए । उनको नेतृत्वमा मुद्रास्फीति घटेको, स्थानीय मुद्रा बलियो बनेको र विदेशी भण्डार बढेको दाबी गरिन्छ । तर मितव्ययिताका कठोर नीतिहरूका कारण उनको सरकार आलोचनाको चपेटामा परेको थियो ।











