Logo
Logo

देश फेरि पुरानै राष्ट्रघातीहरूको अधीनमा जाने खतरा


504
Shares


देशको नसा–नसाभित्र पसेको सरकारी तातो बारुदको गन्ध अहिले पनि बाँकी नै छ । कलकलाउँदा किशोर–किशोरीको रगतले भिजेको धर्ती अझै राम्ररी ओभाएको छैन । घाइतेहरू अस्पतालको शैयाबाट ‘आफ्ना मुद्दामा तुषारापात नहोस्’ भनेर खबरदारी गरिरहेका छन् । तर पनि मुलुक फेरि एकपटक ‘जनताको आक्रोश’ र ‘सत्ताको अहंकार’को भीषण टकरावमा फसिरहेको छ ।

देश फेरि पनि एउटा नयाँ नाराको ब्यानरमुनि उभिएको छ । यहाँ नारा नयाँ, अनुहार नयाँ र बलिदानको जग पनि नयाँ नै छ । यद्यपि हेर्दै जाँदा खेल भने पुरानै ढर्राबाट चल्ने छाँटकाँट देखिन थालेको छ । जसरी प्रत्येक पुस्ताको विद्रोहलाई पुरानो सत्ता संरचनाले चपाउँदै आएको थियो, त्यस्तै जेन–जी आन्दोलनका मूल्य र मुद्दाहरू पनि आज राज्य र शक्ति संरचनाको घाँटीमा अड्किएका छन् ।

एकातिर सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले कानुनी शुद्धता र संवैधानिक औचित्यको आवरण ओढेर आन्दोलनका मर्मलाई बेवास्ता गरेजस्तो देखिन्छ भने अर्कोतिर केपी शर्मा ओलीजस्ता उग्र र अहङ्कारी व्यक्तिहरू आफ्नो साम्राज्य फर्काउन सकिने मनसायसहित सडकमा बौरिन थालेका छन् । युवाहरूको उभारलाई ‘विकृत र अराजकता’को लेपन लगाएर राज्यविरुद्धको हिंसाको रूपमा चित्रित गर्न खोजिएको छ ।

आन्दोलनका समयमा सैनिक ब्यारेकमा लुकेर ज्यान जोगाएका केही व्यक्तिहरू अहिले त्यही विद्रोहबारे तथानाम बोल्दै हिँड्न थालेको देखिनु चिन्ताको विषय हो । मुलतः आन्दोलनका नारा उछाल्ने युवाहरू आन्तरिक फुट, आत्ममुग्धता र नेतृत्वहीनताको दलदलमा फसेका छन् । त्यसैले अवसरवादी समूहहरूलाई बीचमा खेल्न सहज भएको हो । आन्दोलनपछि परिस्थिति जेन–जी पुस्ताको अनुकूलतामा ढाल्ने प्रयास हुन नसकेको कारण ओलीजस्ता आपराधिक मनोवृत्तिका व्यक्तिहरू पुरानै लयमा फर्किन प्रयासरत रहेको देखिन्छ, जुन भविष्यका लागि दुर्भाग्यपूर्ण हुनेछ ।

जेन–जी आन्दोलन कुनै ‘अकस्मात्’ विस्फोट थिएन, त्यो वर्षौँदेखिको असन्तोषको ज्वालामुखी थियो । जसले पुराना दलहरूको ढोंगी क्रान्ति, झुटो लोकतन्त्र र कागजी समृद्धिको आवरण च्यात्यो । युवाहरूले राजनीतिमा स्वच्छता माग्दै दलगत अनुशासनभन्दा माथि नागरिक चेतनाको आवाज उठाएर विद्रोहको सुरुआत गरेका थिए । पुराना पुस्ताको कुर्सी बाजीका खिलाफ प्रतिरोधको नारा लेखेर देशमा सुशासनको जग बसाउने परिकल्पना गरेका थिए ।

तर आन्दोलन सकिएको महिना दिन नाघिसक्दा पनि अन्तरिम सरकार गठन हुनुभन्दा जेन–जी युवाका मुद्दाहरूमा आधारित अर्को कुनै पनि वास्तविक प्रक्रिया सुरु भएको छैन । सुशीला कार्की आफैँ न्यायको प्रतिमूर्तिजस्तो देखिए पनि उनको सरकार आन्दोलनको लयसँग सुसंगत हुन सकेको छैन । यो सरकारले जनताको आवाजलाई संवैधानिक सुरक्षा दिने, प्रहरी दमनमा भएको अन्यायको छानबिन गर्ने र युवापुस्ताको मागलाई नीति बनावटमा रूपान्तरण गर्ने अपेक्षा पूरा गर्न सकेको छैन ।

सरकारले आन्दोलनकारीहरूलाई वार्ताको टेबुलमा बोलायो, तस्बिर खिच्यो, प्रतिवेदन तयार पारेर ‘प्रगति विवरण’मा टाँसियो । आन्दोलनका गतिशील शब्दहरू सरकारी प्रेस विज्ञप्ति बने र त्यसपछि आन्दोलनको आत्मा सरकारी फाइलमा थुनियो । सुशीला कार्कीको सावधानीपूर्ण प्रशासनिक संयमता वास्तवमा सत्ता संरचनाको सुरक्षित रणनीति बने, जसले विद्रोहको आगो निभायो, तर धुवाँ जनताको मनमा अझ बाक्लो बनाइराख्यो ।

सुरूमा एउटै नारा लिएर आन्दोलनमा भेला भएका युवाहरू पछिल्लो समय विचार र नेतृत्वको प्रश्नमा आ–आफ्नो सत्ताको कल्पनामा भाग्नु सुरु गरे । कोही सञ्चारमाध्यमको मोहमा परे, कोही विदेशी गैरसरकारी संस्थाको सहयोगमा रणनीतिक साझेदार बने र कोही सडकको चोकमा निराशाको चुरोट सल्काउँदै आन्दोलनबाट उठेको ऊर्जा अनुकूलतामा रूपान्तरण गर्न असफल देखिए, यो ठूलो विडम्बना हो ।

नेताभन्दा प्रभावशाली युवाहरूले आन्दोलनलाई सामग्रीका रूपमा रूपान्तरण गर्न थालेपछि आन्दोलनको गहिरो राजनीतिक आत्मा हराउन थाल्यो । जेन–जीहरूले आफ्नो रणनीतिक परिपक्वता विकास गर्न नसक्नु एउटा मुख्य कमजोरी रह्यो । सामाजिक सञ्जालमार्फत गोलबन्द हुने कला त उनीहरूमा थियो, तर वैकल्पिक राजनीतिक नक्सा कोर्ने सामथ्र्य भेटिएन, यो दुःखद पक्ष हो ।

हरेक आन्दोलनको अन्त्यमा वैचारिक रूपान्तरण हुनुपर्छ, तर यो आन्दोलन ‘तस्बिर अभियान र ह्यासट्याग’मै सीमित रहनु हुँदैन भन्ने आमनेपालीको आह्वान छ ।

जलेको देश र बगेको रगतको सपना पूरा गर्न अझै कन्जुस्याइँ गर्ने हो भने देश फेरि पुरानै राष्ट्रघातीहरूको अधीनमा जान्छ र परिवर्तनका पक्षधरहरू राज्यबाटै विभिन्न खालका प्रताडनामा पर्नुपर्नेछ । यस सन्दर्भमा जेन–जी पुस्ताले छिटो निकास खोज्नै पर्छ । विगतका ठूलाठूला आन्दोलन र बलिदानहरूझैँ यो विद्रोहको उद्देश्य पनि पुरानै संरचनाभित्रै समाहित भएर औचित्यहीन नबनुन् ।

यसका लागि विवेकशील नेतृत्व अगाडि ल्याएर आन्दोलनका मूलभूत मुद्दाहरूको यथाशीघ्र सम्बोधन र समाधान गर्नु आवश्यक छ । सुशीला कार्कीजस्ता न्याय प्रेमी पात्रहरूले यो व्यवस्थालाई नैतिकतामा फर्काउनुपर्ने छ । यदि सकिँदैन भने मार्ग खाली गरेर नयाँ पुस्तालाई बागडोर सुम्पिनुपर्छ । सत्ता बलले टिक्दैन, सत्यको पथले मात्र टिक्छ । र सत्य अहिले जेन–जी पुस्ताको स्वरमा छ ।

युवाशक्ति स्वाभाविक रूपमा भावुक र आकस्मिक हुनसक्छ, तर एउटा राष्ट्रवादी आन्दोलनलाई स्थायित्व दिन वैचारिक प्रशिक्षण, संगठनात्मक अनुशासन र सांगठनिक पारदर्शिता अनिवार्य छन् । केवल नाराहरू र ह्यासट्यागले केही सहायता गरे पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको ढोका खोल्दैनन् । त्यो ढोका खोल्न कानुनी, नीतिगत र जनमानस निर्माणको काम हुनुपर्छ । यदि आजको जेन–जी पुस्ता त्यतातिर चनाखो भएन भने त्यो सम्पूर्ण अनुभव विफलतातर्फ ढल्नेछ । र विगतका अनेक बलिदानजस्तै यसपालिको बलिदान पनि व्यर्थ साबित हुनेछन् ।

तसर्थ, निकास केवल सरकारको बदलाबाट मात्र हैन, आन्दोलनभित्रको स्वैच्छिक आत्म परीक्षण, नेतृत्व प्रतिस्थापन र आवधिक रणनीतिक समीक्षामार्फत मात्र सम्भव हुन्छ । आन्दोलनका अगुवाहरूले स्वयंलाई पारदर्शी हिसाबकिताब र जबाफदेही संरचनाबाट गुजार्नुपर्छ । अन्यथा समाजले दिएको संवेदनशील उपहार विरहको धुवाँमा हराउन सक्छ । तर आशा अझै बाँकी छ, किनकि जुन पुस्ताले सरकारी दमनका गोली, बारुद र अश्रुग्याँस निल्यो र ‘हामी जिउँदै छौँ’ भन्ने उद्घोष ग¥यो, त्यो पुस्ता यहीँबाट सिकेर, संगठनमा परिणत भएर, नीति निर्माणमा आउन सक्छ ।

त्यसैले, अहिले आत्मसमीक्षा, दृढ नेतृत्व र दीर्घकालीन राजनीतिक नक्सा, अनि त्यो नक्सा बनाउन समर्पित नयाँ बीउ रोप्ने साहसको आवश्यकता छ, जसले आजको खरानीबाट देशलाई वास्तविक मुक्तिको बाटोमा डोहो¥याउन सकोस् । इतिहासले आशा गर्ने कुरा यही हो कि यही पुस्ताले निराशाको अन्त्यबाट नयाँ अनुशासन, नयाँ नैतिकता र नयाँ युगको मार्ग कोर्नेछ ।

यो कुनै साधारण आन्दोलन नभएर पुस्ता बदल्ने गर्जन थियो । जसले पुरानो सत्ताका सर्पहरूलाई आफ्नै छाला फेर्न बाध्य बनायो । अब यो आन्दोलनलाई नाराको ध्वनि होइन, निर्माणको स्वरमा रूपान्तरण गर्नुपर्ने बेला आएको छ । किनभने क्रान्ति तबमात्र अमर हुन्छ जब त्यसले रगतको धर्कोबाट नीति फुलाउँछ, आँसुको बिन्दुबाट संस्थाको बीउ पलाउँछ ।

आजको जेन–जी पुस्ता कुनै अराजक झोंका होइन, बरु यो त नयाँ बिहानीको हावा हो, जसले सडेको पातहरू उडाउँदै धर्तीलाई फेरि हरियो बनाउने संकेत दिएको छ । आखिर, प्रत्येक विद्रोहको अन्त्यमा एउटा असली सुरुवात लुकेको हुन्छ, र त्यो सुरुवात तबमात्र सम्भव हुन्छ, जब सडकको धुलो संसद्को टेबलमा रूपान्तरण हुन्छ । त्यही स्मृतिबाट नै अर्को आन्दोलन होइन, मुलुकमा अर्को युगको जन्म हुनसक्छ ।
– लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्