Logo
Logo
वाचडग

को हुन् यी अराजक अनुहार ?


6.6k
Shares

भदौ २३ गतेको शान्तिपूर्ण ‘जेन–जी’ आन्दोलन र भदौ २४ गते अराजक समूहबाट गरिएको आगजनी, लुटपाटको घटनालाई अलग–अलग दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ । भदौ २३ गतेको जेनजी आन्दोलन सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवाका साथै देशमा कानुनी शासनको स्थापना, भ्रष्टाचारीहरूमाथि कठोर कारबाहीको माग थियो । जुन मागलाई स्कुले विद्यार्थीहरूले मात्र होइन, आमनेपाली जनताको पनि साथ र समर्थन थियो ।

यस अर्थमा लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ पुस्ता अर्थात् ‘जेन–जी’ आन्दोलन देशका लागि आवश्यक थियो । लोकतन्त्रको आडमा विगत ३५ वर्षदेखि लुट मच्चाइरहेका राजनीतिक दलका नेताहरुविरुद्ध यो आन्दोलन केन्द्रित थियो । तर नेताहरूले अहिले पनि आफ्नो कमजोरी केलाउने प्रयास गरेका छैनन् ।

नेताहरू अझै सत्ताको ‘ह्याङओभर’मै छन् । ‘जेन–जी’ पुस्ताको माग र भावनालाई उनीहरूले लत्त्याइरहेका छन् । फागुन २१ गते गर्ने भनिएको आमनिर्वाचन बिथोल्न अनेकौँ दाउ हेरिरहेका छन् । आफूलाई लोकतान्त्रिक भन्ने दलहरू निर्वाचनदेखि भाग्ने होइन, राजनीतिक दलहरू र तिनका नेता, कार्यकर्ताहरू सुध्रिएर अगाडि बढे भने नेपाल भ्रष्टाचारमुक्त सवल, सफल र समुन्नत देशतर्फ अग्रसर हुनेछ । यही विश्वास आमनेपाली जनतामा जगाउन सक्यौं भने देश बन्छ भन्ने आत्मविश्वास पनि हरेक नेपालीमा जाग्छ । यो चिन्तनको कोणबाट अगाडि बढ्न सक्यौँ भने हाम्रा भावी पुस्ताले नयाँ नेपाल बनाएर छाड्छन् भन्ने विश्वास गर्नुपर्छ ।

देश एकै रातमा बन्दैन, त्यसमा पुस्तौंपुस्ताको रगत पसिना खर्चिनुपर्ने हुन्छ । त्यसका लागि लगानीको वातावरण, रोजगारको ग्यारेन्टी, शिक्षा, स्वास्थ्यमा सर्वसाधारणको पहुँच हुन जरुरी छ । निर्वाचनका बेला राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा जे गर्न सक्ने हो, त्यो कुरामात्र उल्लेख गर्नुपर्दछ । जनतालाई ‘उल्लु’ बनाउने कुरा घोषणापत्रमा उल्लेख गरिनु हुँदैन ।

यो विषयमा विगत तीस, पैँतीस वर्षदेखि सत्तामा रहेका उही पार्टी र त्यही अनुहारले त्यतिबेलादेखि अहिलेसम्मको घोषणापत्रको समीक्षा गर्नुपर्छ र आ–आफ्ना पार्टीको कमी कमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन । बिपी कोइराला र पुष्पलाल श्रेष्ठले पनि ७० वर्ष अगाडि युवा अवस्थामै व्यवस्थामात्र होइन, अवस्था परिवर्तन गर्नकै लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् भन्ने कुरा आजका तिनका अनुयायीहरूले बुझ्नुपर्छ । त्यही कुरा बुझाउनका लागि नाति, नातिनी पुस्ता आज आन्दोलनमा उत्रिएका हुन्, जो भोलिका नेतृत्व पुस्ता पनि हुन् ।

तर, जेन–जी पुस्ताको आन्दोलनलाई ‘केटाकेटी आए गुलेली खेलाए, मटेङ्ग्राको सत्यानाश’ ठान्यौँ भने नेपाली राजनीतिले भयावह परिणाम भोग्नुपर्ने छ । आफ्नो गल्ती कमजोरी ढाकछोप गर्न ‘जेनजी’ आन्दोलनलाई विदेशी शक्तिको खेल ठानियो भने त्यो अर्को मूर्खता हुनेछ ।

नेपालमा विदेशी शक्तिहरूको आ–आफ्नै स्वार्थ होलान्, त्यसलाई मलजल गर्न दिने यिनै नेताहरू हुन् । त्यसैले यी नेताहरूले हलुका टिप्पणी गरेर जेन–जी आन्दोलनको बलिदानीलाई बेवास्ता गर्नु अर्को अपराध हुनेछ ।

प्रधानमन्त्री सुशीला कार्कीले यस्तो संकटको बेलामा अभिभावकीय जिम्मेवारी सम्हालेकी छन् । जेनजी आन्दोलनलाई सम्बोधन गर्ने उनको ठूलो आकांक्षा छ । राष्ट्र शोकमा डुबेको बेला उनले दसैँको टीकासमेत थापिनन् । उनको यो भावनालाई पछ्याउन सकिएन भने नेताहरूले भन्ने गरेको विदेशी शक्तिले परेड खेल्नेछ । हरेक दलभित्र विदेशी एजेन्ट सक्रिय भएकोले पनि जेन–जी आन्दोलनको बलिदानीलाई सकारात्मक रूपमा ग्रहण गर्नु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्