Logo
Logo

जसका कारण जेनजी जन्मियो


693
Shares

बंगलादेशको विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ जुलाई–अगष्टको विद्यार्थी आन्दोलनको क्रममा ‘मानवताविरुद्ध अपराध गरेको ठहर’ गर्दै मृत्युदण्डको सजाय सुनाएको बेला नेपालमा भदौ २३ गतेको शान्तिपूर्ण जेनजी आन्दोलनको क्रममा गोली चलाएर १९ जना जेनजीहरूको हत्या गर्नेमाथि कुनै कारबाही अगाडि नबढाएका कारण आमजनताले सुशीला कार्कीमाथि चरम असन्तुष्टि पोखिरहेका छन् ।

ढाकाको विशेष अदालतले मानवताविरुद्धको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै हसिनाकै आदेश, उक्साहटमा विद्यार्थी आन्दोलनमाथि चरम दमन गरिएको निष्कर्ष निकाल्दै गर्दा नेपालमा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा भदौ २३ गतेको घटनामा घटेको ‘ह्युमन राइट्स वाच’को प्रतिवेदन सार्वजनिक भएको छ । ‘ह्युमन राइट्स वाच’ले भदौ २३ गतेको घटनामा प्रहरीले घातक हतियारसहित अत्यधिक बल प्रयोग गरेको बताएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवाको मागसहित भ्रष्टाचारीहरुमाथि कारबाहीको माग गर्दै जेनजी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका थिए । सामान्य मागलाई लिएर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जेनजीको माग तत्कालै सम्बोधन गरेको भए यति ठूलो जनधनको क्षति हुने थिएन । तर, तत्कालीन प्रधानमन्त्री ओलीले आन्दोलन दबाउन निर्देशन दिएपछि घटनाले उग्ररुप लिन पुग्यो ।

भदौ २३ गते १९ जना जेनजीको हत्या भइसकेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओली निकै आक्रोशित देखिन्थे । त्यत्रो विद्यार्थीको हत्या हुँदासमेत उनको अनुहारमा मानवता झल्किएन । उल्टै सुरक्षा निकायका प्रमुखहरूमाथि थप दमन नगरेकोमा उनले आक्रोश पोखेका थिए ।

भदौ २३ गते बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसँग ओलीले जुन व्यवहार गरे, त्यसबाट उनको मानसिकता झल्कन्थ्यो सुरक्षा निकायका प्रमुखहरूले राजीनामा दिन दबाब दिएपछि मात्र उनले राजीनामा दिन बाध्य भएका थिए ।

यदि, समयमै जेनजीको माग सम्बोधन गरेको भए देशले यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन । भदौ २३ गतेको हत्या, दमन र प्रधानमन्त्रीको दम्भका कारण भदौ २४ गते जन्मियो, जुन कुराको कल्पनासमेत उनले गरेका थिएनन् ।

भदौ २३ गतेसम्म दुई तिहाइको प्रधानमन्त्री भएको दम्भ पालेर ढुक्कसँग बालुवाटारमै बसेका प्रधानमन्त्री ओली सेनाको हेलिकप्टर चढेर भाग्नुप¥यो । यी सबै घटनाक्रमलाई नजिकबाट नियालेका ओलीमा अझै चेत पलाएको छैन । उनी अझै पनि आफ्नो अपराधबाट जोगिन संसद् पुनःस्थापनाको बाटो रोजिरहेका छन् ।

जसरी भए पनि फागुन २१ गतेको निर्वाचन बिथोल्ने मनस्थितिमा उनी पुगेकै कारण ‘भोलिन्टियर्स फोर्स’ गठन गरेर अराजकता मच्चाउने बाटोमा हिँडिरहेका छन् । चारचार पटक प्रधानमन्त्री भइसकेका उनी कहिले सुध्रन्छन् अथवा कहिले सिद्धिन्छन् केही भन्न सकिने अवस्था छैन ।

जेनजीको विद्रोहले नेपालको राजनीतिमा नयाँ परिस्थिति निर्माण गरे पनि ओलीले भने बाटो बिराएर पुनः एमालेको अध्यक्ष बन्ने दिवास्वप्न देखिरहेका छन् । अहिलेसम्मको आफ्नो असक्षमता, असफलता ढाकछोप गर्न उनी ‘अर्ली महाधिवेशन’मा जुटेका छन् । उनी जेनजी आन्दोलनको मर्मलाई कुल्चेर अगाडि बढ्न खोजिरहेका छन् ।

जुन कुराले देशमा थप अनिष्ट निम्त्याउने पक्का छ । उनले के कुरा बुझिरहेका छैनन् भने जेनजी विद्रोह अरूका कारणले नभई आफ्नै अहंकारले निम्त्याएको परिणाम हो । त्यसैले देशलाई निकास दिन पनि नेपाली राजनीतिबाट विश्राम लिनु उनी र एमालेको भविष्यका लागि हितकर हुनेछ । अन्यथा, शेख हसिनाको नियति भोग्नुपर्ने दिन टाढा छैन भन्ने बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्