Logo
Logo

क्योतो, योको, गोर्वाचेभ र समय


1.3k
Shares

म जापान पुगेको बेला क्योतो पनि घुमाउने योजना थियो साथीहरुको । क्योतो ऐतिहासिक शहर हो भन्ने धेरैलाई थाहा छ, मलाई पनि थाहा थियो । मिलेको बेला एकपल्ट त पुग्नैपर्छ भन्ने लागिरहेको थियो । तर चशाङ्हाईमा सँगै पढेका क्योतोका स्थानीय साथीहरु भने कोही थिएनन् । तर दुईजना साथी मलाई घुमाउनै भनेर क्योतो जान तयार भए– आशाही र इशिजुका ।

त्यहीबेला शाङ्हाई थोङ्ची युनिभर्सिटीमा आर्किटेक्चर पढेका साथी मोहनमूर्ति पन्त क्योतोमा आफ्नी जीवनसंगिनी योकोसँग थिए । योको भरखरै सुत्केरी भएकी थिइन् । शाङ्हाईमै भएका बेला म जापान जाने सम्भावनाको कुरा भएको थियो । त्यहीबेला उनले मलाई योकोको घरको फोन नम्बर दिएका थिए ।

साथीहरुले क्योतो घुमाउन लगेको दिन संयोगले तत्कालीन सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्वाचोव पनि औपचारिक भ्रमणमा क्योतो पुगेका रहेछन् । उनी केही बेर अघिमात्र घुमेर निस्किएको ठाउँमा पुग्दा मैनले बनेका उनका प्रतिमाहरु ठाउँ ठाउँमा देख्यौँ । भर्खरै मात्र विदेशी राष्ट्रपतिको स्वागत भएको वातावरणको तातो सेलाइसकेको थिएन । रमाइलो लाग्यो । “तिमी पनि हाम्रो लागि विशेष अतिथि नै हौ, गोर्वाचोव भन्दा कहाँ कम छ्यौ र !” भनेर साथीहरुले जिस्क्याए ।

त्यो ऐतिहासिक सांस्कृतिक शहरका कुन कुन दर्शनीय स्थल घुमें, अहिले याद छैन । साथीहरुले जहाँ लगे त्यहीँ गएँ । मैले न आफ्नो दिमाग चलाउनु पर्ने थियो, न पैसा । आनन्दसँग क्योतो घुमेंमात्र । त्यहाँ पुग्नु अघिल्लो दिन नै पुराना साथी मोहनमूर्ति पन्तसँग फोनमा कुराकानी भइसकेको थियो । उनकी जीवनसंगिनी योकोसँग पनि मेरो काठमाडौँदेखिकै सम्बन्ध थियो ।

सरोजले त उहिल्यै शाङ्घाईदेखि नै दुवैलाई चिनेका थिए र उनीहरुबीचको प्रणय सम्बन्धका साक्षीपनि थिए । योको ज्यादै समझदार, बुध्दिमान र व्यावहारिक महिला हुन् । एउटा विकसित देशकी केटी त्यो बेलाको नेपालमै आएर जीवन बिताउने कुरामा धेरै पल्ट सोचेर, अझ हुनेवाला श्रीमानको गाउँमै गएर, घरमै बसेर, हेरेर, विचार गरेर विवाह गरेकी थिइन् ।

त्यतिबेलासम्म काठमाण्डौंमा आफ्नो घर पनि बनिसकेको थिएन । विवाह पछि झम्सिखेलको डेरामा दुःखसुख गरी आफूले मन पराएका नेपाली केटासँग विवाहगरी जीवनलाई अघि बढाइन् । मैले हेर्दा उनको बिहे गर्ने निर्णय आफैमा एक साहसिक निर्णय थियो ।

काठमाडौँ समेत अहिलेको जस्तो थिएन । मोफसलको त कुरै छोडिदिउँ । अहिले जस्तो भान्छामै धारा कहाँ हुनु ! त्यस्तो बेला पनि आफ्नै तरिकाले भाँडा माझ्ने ठाउँदेखि लिएर सबै किसिमका सफाइको बन्दोबस्त सृजनात्मकताका साथ गर्दै घरलाई चिटिक्क पारेर सफा सुग्घर राखेको देख्थेँ । त्यो व्यावहारिक कुशलता, विनम्रता र मैत्रीभावबाट प्रभावित थिएँ ।

छोटो समयमै नेपाली बोल्न सिकेर सबैसँग घुलमिल हुन सकिन् । भाषा सिक्ने उनको विशेष क्षमता थियो जस्तो लाग्छ– चिनियाँ भाषाकी त उनी जापान सरकारबाटै औपचारिक मान्यता प्राप्त अनुवादक नै थिइन् । अङ्ग्रेजी भाषा उत्तिकै राम्रो थियो । मेरा जापानी साथी त धेरै भए, तर हरेक वास्तविक जीवनकै दैनिकीमा प्रत्यक्ष यति नजिकबाट देखेकी एक पहिलो जापानी महिला भने उनी नै थिइन् । उनीलाई भेटेपछि जापानी महिलाहरुप्रति मेरो सकारात्मक धारणा अझै बढ्यो ।

सरोजको स्नातकोत्तर विशेषज्ञता अध्ययनको सिलसिलामा जब म पनि चीन पुगेँ, हामी पारिवारिक रूपमै फेरि नजिक हुन पुग्यौं । हामी दुबैका परिवार शाङ्गहाईमै भएकोले, र उनको पनि मेरोजस्तै एउटी छोरी पनि साथमा भएकाले त्यो सामिप्य विशेष हुने नै भयो । त्यो बेला योकोले भनेको एउटा कुरा मेरो मनमा गडेको थियो “एउटा सन्तानले पुग्दैन दुइटा हुनु राम्रो । बच्चालाई साथी पनि चाहिन्छ । झन् हाम्रो जस्तो फरक पारिवारिक र सांस्कृतिक पृष्ठ भूमि भएका बाबुआमाका सन्तानका आफ्नै विशेषता र समस्या हुन्छन् । उनीहरुलाई भाइ–बहिनी वा दिदी, दाइ हुँदा सजिलो हुन्छ“ । त्यसबेलासम्म “एउटा सन्तान भए पुगिहाल्यो नि!“ भनिरहेकी मलाई उनको कुराले सोच्न बाध्य बनाएको थियो ।

त्यतिबेलै तिर मेरी छोरीले पनि “मलाई बहिनी चाहियो” भन्न थाली । रैथानेले जत्तिकै राम्रो चीनियाँ भाषा बोल्ने हाम्री छोरीले चीनियाँ भाषामै भनिरहन्थी– “छ्यु छ्यु निमन् वो याओ इग मइमइ…” (बिन्ती छ तपाईँहरुलाई, मलाई एउटी बहिनी चाहियो !) । बच्चाको कुराले पनि मन छोइरहेको बेलामा उनको कुराले थप मनमा प्रभाव पर्नु स्वाभाविक नै थियो । तर हाम्रो त्यतिबेलाको अवस्था भने तत्काल अर्को सन्तान हुर्काउनसक्ने थिएन ।

क्योतो पुगेको बेला योको दोस्रो सन्तानकी आमा भइसकेकी थिइन् । जापानमा उनकी आमा पनि भएकोले बच्चा हुर्काउन सहज भयो होला । मोहन पनि जापानमै भएकाले अझै राम्रो भयो । फोनमा कुरा भएपछि लन्चको निम्ति निम्तो पाएँ । कहाँ पर्खिने, कहाँ लिन आउने आदि कुरा मसँग भएका साथीहरुले टिपिदिए ।

त्यही दिन राष्ट्रपति गोर्वाचोवको क्योटो भ्रमणको कारण बाटोमा केही अलमल यो । ठ्याक्कै समयमा नपुगे पनि धेरै ढिलो भने भएन । सकेसम्म समयमा पुग्ने कोसिस भइरहेको थियो । लन्च बनिरहेको रहेछ । न्यानो कुराकानीसँगै मीठो लन्च खायौं । सानो छोरालाई पनि देख्न पाएँ । बच्चा ज्यादै राम्रो थियो । धेरै खुसी लाग्यो । योको नेपाली बोल्ने भएकोले हाम्रो कुराकानी नेपालीमै भयो । उनी चीनियाँ भाषाविज्ञको रुपमा जापानमा दोभाषेको काम गरिरहेकी थिइन् । उनको ’दुइटा बच्चा हुनुपर्छ’ भन्ने कुरा पनि पुरा भएकोले थप बधाई पनि दिएँ । योकोका कारण क्योतो भ्रमण अझै रमाइलो भयो ।

क्योतोका अरु ठाउँ घुमाउने पनि योजना थियो साथीहरुको । अनि आशाहीको माइति पनि पुग्नु पर्ने थियो । त्यसैले हतारमै क्योतो छोड्यौं । अहिले यति लामो समयको दूरीबाट हेरिरहेको छु ती क्षणलाई । अब इतिहासमा विलीन भइसकेको तत्कालीन सोभियत संघका राष्ट्रपति पुगेको दिन क्योतो पुगेको सम्झिँदा अनित्यता बोध हुन्छ । राजनीतिक अस्थिरता भन्ने कुरा पनि उहिल्यैदेखि विद्यमान कुरा रहेछ यो संसारमा ।

विश्वको अगाडि त्यति बलियो भइरहेको सोभियत संघ, त्यति धेरै चर्चामा भएको राष्ट्रपति गोर्वाचोवकै पालामा विलीन भयो । अब त उनी पनि यो संसारमा छैनन् । स्थिर र नित्य भन्ने कुरा केमा छ त ? एउटा प्रश्न बरोबर मनमा आइरहन्छ । योको र मोहनको सम्झनाले भने करुणा र मैत्रीको सम्झना गराउँछ । त्यस्तै, मेरा जापानी साथीलाई सम्झँदा मानिसभित्र रहेको उज्यालो र न्यानोलाई अनुभूत गर्छु । मान्छेका यी सद्गुण भने बरु दीर्घजीवी हुँदारहेछन् । कामना छ, अब बाँकी जीवन केही राम्रो काम गरेर जीवन सकौँ !

प्रतिक्रिया दिनुहोस्