Logo
Logo

उद्योग होइन, दल उत्पादनमै रमाएको देश


1.8k
Shares

एउटा व्यापारीले गाउँ, सहरमा सामान्य चिया पसल खोल्न पनि धेरैपटक सोचविचार गर्नुपर्छ । त्यहाँ आउने ग्राहक, आफ्नो दैनिक लगानी, खर्च र मुनाफाको पहिल्यै लेखाजोखा राख्नु पर्छ । तर हामीकहाँ बेरोजगारहरूलाई राजनीतिक दल दर्ता गर्न कुनै मस्तिष्क खेलाउन पर्दैन ।

दुनियाँका विकासशील मुलुकहरूले आफ्ना कारखाना, उद्योगधन्दा र प्रविधि केन्द्रित उत्पादनशालाबाट दैनिक उपभोग्य वस्तुदेखि अत्याधुनिक उपकरणसम्म धमाधम बजारमा पठाइरहेका छन् ।

विश्वबजारको माग पुग्नै नसक्ने गरी कलकारखानाहरू चौबीसै घण्टा धपक्क धुवाँ उडाउँदै व्यस्त छन्, विश्वबजार प्रतिस्पर्धामा तीव्र छ । आर्थिक उन्नतिको नयाँ–नयाँ कीर्तिमानले हरेक वर्ष तथ्यांकको ग्राफ बढाइरहेका छन् ।

विकासशील मात्र होइन, धेरै पछाडि परेका मुलुकहरूले समेत प्रविधि, अनुसन्धान, नवप्रवर्तन र उद्योग विस्तारलाई राष्ट्रिय अभियानसँग जोडेर अघि बढाइरहेका छन् । विज्ञान र प्रविधिको दौड यस्तो गतिमान बनेको छ । आजको उत्पादन प्रविधिका कारण भोलि पुरानो भइसकेको अवस्था छ । आज अनुसन्धान भए भोलि प्रयोगशालाबाट बजारमा झरेको छ ।

तर हाम्रो मुलुकको यथार्थ भने एकदमै विपरीत छ । नेपाल कुनै सार्वभौम, आत्मनिर्भर, योजनाबद्ध गणतन्त्रात्मक राज्यभन्दा पनि ‘राजनीतिक कमिसनको खुला पसल’झैँ बनेको छ । जहाँ लोकतन्त्र नामको झोला बोकेर जो कोहीले पनि टोलैपिच्छे, चोकैपिच्छे र व्यक्तिपिच्छे पार्टी खोल्ने मेलाजस्तै चलन चलेको छ ।

देशमा उद्योगधन्दा खोल्नु, विज्ञान प्रविधिको विकास गरेर मुलुकलाई उत्पादनशील अर्थतन्त्रको बाटोमा लैजानु कठिन छ, तर दल खोल्न भने सामान्य चिया पसल खोल्नुभन्दा सजिलो भएको छ । न नक्सा चाहिन्छ, न योजना, न दीर्घदृष्टि । एकातिर दुनियाँले स्मार्ट–फ्याक्ट्री, डिजिटल अर्थतन्त्र, नवीकरणीय ऊर्जा र हाइटेक हब निर्माणमा प्रतिस्पर्धा गरिरहेका छन् भने अर्कोतिर हामी ‘राजनीतिक उद्योग’को कच्चा माल उत्पादनमै अल्झिएका छौँ ।

दल फुट्ने, गुट मिल्ने, टुक्राटुक्रा भएर नयाँ नाम जोड्ने, फेरि मिल्ने, फेरि फुट्ने । आखिर यिनै चक्रले हाम्रो देशलाई उधारो मागेको पेट्रोलजस्तै घिसारिरहेको छ । यही स्थानबाट हाम्रो राजनीतिक विडम्बनाको मूल कथा सुरु भएको छ । जस्तो कि फागुन २१ को निर्वाचन देशका लागि होइन, दल उद्योगका लागि महोत्सवजस्तै बनेको छ, यिनै गतिविधि नियाल्दा मात्रै पनि देशलाई कता लैजान खोजिएको हो ? भन्ने कुरो प्रस्ट हुन्छ ।

नयाँ हुन् वा पुराना दलहरू, विकासका वाक्यहरू उनका भाषणमा मात्रै लटरम्म फलेका छन् । तर व्यवहारमा राजनीति नै सबभन्दा ठूलो व्यवसाय जस्तै बनेको छ । अझ गहिराइमा जाने हो भने हामीकहाँ राजनीति कमिसन केन्द्र र संरक्षण बजार जस्तै बनेको अवस्था छ ।

उद्योगी र व्यवसायीको हातमा उपकरण होइन, फाइल रोकिने डर छ । विद्यार्थीको हातमा प्रविधि होइन, नेताको झन्डा बोक्न हानथाप चलेको छ । अन्ततः राष्ट्रको हातमा योजना होइन, अस्थिरताको झोला परेको छ ।

प्रगतिमा दुनियाँ अघि बढेको यो भयानक गतिलाई हामी टुलुटुलु हेरिरहन बाध्य छौँ । किनकि, हाम्रो ऊर्जा, समय, स्रोत र प्रतिभाको सबैभन्दा ठूलो भाग विकासमा होइन, कसले कति सिट पाउँछ ? कुन गुट कसले नेतृत्व गर्छ ? कुन नेताको भविष्य कहाँ ठहरिन्छ आदि घरायसी झमेलामा खपत भइरहेको छ ।

परिणामस्वरूप दुनियाँले उद्योग खोल्दा हामी दल खोल्छौँ, दुनियाँले प्रविधि निर्यात गर्छ, हामी जनशक्ति निर्यात गर्छौँ, दुनियाँले उत्पादन बढाउँछ, हामी एका अर्कालाई आरोप बढाउँछौँ, दुनियाँले अवसर सिर्जना गर्छ, हामी दलको झोले सिर्जना गर्छौँ । दुनियाँले विकासको दौड जित्दै गर्दा, हामी भने खोइ अझै कति समयसम्म ‘दल उत्पादन’ को पहेँलो धुलो उडाउँदै बस्नुपर्ने हो ?

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा देशमा चुनावी माहौल होइन, ‘पार्टीको महामारी’ फैलिएको छ । जहाँ हरेक दर्ता भएको दल राष्ट्रका मुद्दा होइन, आत्म-रुचिका सूची बोकेर हिँडिरहेका छन् ।

पुराना दलहरू भाषणका रंग फेर्दै छन्, नयाँ दलहरू चिह्नका रंग फेर्दै छन्, स्वतन्त्रहरू सबैभन्दा नयाँ देखिन खोज्दै छन्, र साना–साना दलहरूका नाम, झन्डा र नारा सबै फेर्दै आफ्नै अस्तित्वको रक्षाका लागि विभिन्निएर दौडाइरहेका छन् । जसरी दलको सङ्ख्या बढ्दै गइरहेको छ, त्यसरी नै देश बलियो होइन, झन् कमजोर, असुरक्षित र अनियन्त्रित बन्दै गएको छ ।

आजको राजनीति विचार होइन, स्वार्थको उधारो कारोबार झैँ बनेको छ । गठबन्धन सिद्धान्त होइन, पसलको बिल बनेको छ र जनताको विश्वास अभिमत होइन, जागिरजस्तै मोलतोलमा बदलिएको छ । देशमा आज बहुदलीय प्रतिस्पर्धाको नाममा जुन अराजकता फैलिएको छ यो अत्यन्तै दुःखद र विडम्बनापूर्ण छ । दलको सङ्ख्या बढ्नु भनेको समस्या घट्नु होइन, समस्या झन् बल्झिनु मात्र हो ।

दलहरू धेरै भएपछि विचार हराउँछ, सिद्धान्तको मृत्यु हुन्छ र प्रतिस्पर्धा जनताका मुद्दामा होइन, सत्ता–चाहनाको गन्धमा सीमित हुन्छ । दलहरू ठूला भए भन्दैमा लोकतन्त्र बलियो हुँदैन । वास्तवमा लोकतन्त्र शक्ति संकलनले होइन, जिम्मेवारी र जबाफदेहिताले बलियो हुन्छ ।

अस्ति भर्खरै जेनजी पुस्ताको नाममा एउटा विद्रोह भयो । जसले पुराना दलहरूको ढोंगीपन, स्वार्थ, भ्रष्टाचार, दोधार, दम्भ, नक्कली इमान, र जनतालाई अलमल्याउने नाटकलाई एकैसाथ च्यातेर सडकमा टाँसिदियो । तर आज त्यही विद्रोही समूहलाई अलमलाएर पुरातनको पर्दा उघार्न हतारिएकाहरू हाबी भइरहेका छन् । निर्वाचन नजिकिँदै गर्दा पुराना दलहरू जनतामाथि फेरि त्यही पुरानो रोमाञ्च थोपर्न खोज्दै छन् ।

नयाँ दलहरू ‘हामी फरक छौँ’ भन्ने नाटक गरेर उस्तै असफलताको होडमा छन् । परन्तु दुःखलाग्दो कुरो के भने, नयाँ र विद्रोही भनिएको यो पुस्ता नै अहिले विकेन्द्रित र छिन्नभिन्न अवस्थामा छ । यसै मौकामा हिजो ज्यान जोगाउन आर्मी ब्यारेक छिरेका भ्रष्टाचारीहरू लाज पचाउँदै घोषणापत्रको ठेली बोकेर गाउँ पसिरहेका छन् ।

अहिले नेपाललाई धेरै नेता होइन, स्वच्छ प्रणाली चाहिएको छ । टोलैपिच्छे दल होइन, दिशा चाहिएको छ । दर्ता होइन, दिगोपना चाहिएको छ । भाषण होइन, परिणाम चाहिएको छ, र देशलाई नयाँ दल होइन, नयाँ संस्कार चाहिएको छ । यदि त्यो संस्कार हामीले जन्माउन सक्यौँ भने मात्रै यो देश बाँच्नेछ, होइन भने यी टोल–टोलका दल उद्योगहरूले देशलाई कहिल्यै उठ्न नदिने गरी घाटमा पु¥याइदिने कुरामा कुनै शंका छैन ।

किनकि, दलहरूको मुख्य उत्पादन भ्रष्टाचार, मुख्य सेवाग्राही ठेकेदार, मुख्य बजार सिंहदरबार, मुख्य विज्ञापन चुनाव र मुख्य कच्चा पदार्थ हामी जनता (मतदाता) नै हौँ । दुनियाँले अग्रगमनको यात्रामा अकल्पनीय बाटो समाइसकेको बेला हामी भने अझै ‘गुटको उद्योग’ र ‘फुटको प्रोजेक्ट’ चलाइरहेका छौँ ।

नेतृत्व त्यहीँ पुरानो, सोच त्यहीँ थकित, अभ्यास त्यहीँ भ्रष्ट र कार्यशैली त्यहीँ ढिलो । कुनै पनि राजनीतिक दलले आजसम्म औद्योगिक क्षेत्र विस्तार गर्ने, प्रविधि गाउँ गाउँमा पु¥याउने, युवालाई उच्च उत्पादक व्यवसायमा लगानी दिलाउने, कृषि आधुनिकीकरण गर्ने, निर्यात, केन्द्रित अर्थतन्त्र बनाउनेलगायतका जिम्मेवारीमा कहिल्यै ध्यान दिएनन् ।

यही प्रवृत्तिले गर्दा आज राष्ट्रका हरेक चुलोभट्टीमा निराशा पाकिरहेको छ । गाउँका युवाहरू आफूलाई देशको भविष्य होइन, विदेशी श्रमबजारको उत्पादन ठान्न बाध्य छन् । ठूलाठूला विद्रोह र आन्दोलनको भट्टीबाट खारिएर आएका नेताहरूको हविगतसमेत आज दयनीय अवस्थामा छ ।

समाजमा सामान्य चर्चा र केही समर्थकहरूको उक्साहटमा लागेर दैनिक निर्वाचन आयोगको दैलो चहार्दै हिँडिरहेका नयाँ समूहहरूको बुद्धि भए स्वतन्त्र रूपमा स्थानीय तहमै प्रतिस्पर्धा गर्नु उचित हुनेछ । देश र समाजका लागि गर्न र प्रभाव पार्न सकिने थुप्रै योजनाहरू स्थानीय तहमै छन् । अन्यथा यो पार्टी दर्ताको महामारीले देशलाई केही दिनुभन्दा पनि गुमराहमै घुमाउन चाहने शक्तिका लागि फाइदा पुर्याउने छ ।

लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्