Logo
Logo

नेपाल शक्ति राष्ट्रहरूबीचको शिकार बन्ने खतरा


डा. दीपेश केसी

567
Shares

देशमा रातारात सत्ता पल्टने गरी जेनजी विद्रोह भएपछि पनि प्रमुख दलहरूमा नेतृत्व परिवर्तन हुनसकेकको छैन । शेरबहादुर देउवा नेपाली काँग्रेसका सभापति, केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्षमा पुष्पकमल दाहाल छँदै छन् । पार्टी विघटन गर्ने र नयाँ बनाउने गर्दै आएका दाहाल हुन् या एमालेमा बलियो पकड जमाएका ओली नै किन नहुन् नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छैनन् ।

देउवाले नेतृत्व हस्तान्तरण गर्ने भनेपनि फेरि सक्रियता बढाएका छन् । जुन नेताहरूको अकर्मण्यताले देशमा सिंहदरबार, सदन र सर्वोच्च अदालत जल्ने अवस्था आइलाग्यो ती नेताहरू फेरि आ–आफ्ना दलको नेतृत्वमा कायमै रहने मानसिकताले देशमा राजनीतिक दलहरूप्रति मात्र नभई लोकतन्त्रप्रति नै वितृष्णा आउने खतरा बढिरहेको छ । जुन देशकै लागि खतरा हो ।

जतिसुकै पुरानो दल भएपनि राजनीतिक दलहरू अहिले कमजोर अवस्थामा छन् । दलहरूका कार्यकर्ता मुसाको बथान साबित भएका छन् । सिंह ठान्ने नेताहरूको दाँत नङ्ग्रा निकालिएका छन् । शासनसत्ताबाट च्युत भएपछि अब सत्तामा फेरि फर्कने भनेको चुनाव जित्ने या संसद् पुनःस्थापना नै हो । चुनाव तोकिएको मितिमा हुनेमा आशंका व्यक्त गरिरहेका छन् । चुनाव नभएसम्म दलहरू फेरि सत्ताबाट टाढा रहन्छन् । संसद् पुनःस्थापनाको निर्णयमा सर्वोच्च अदालत पुगिहाल्ने देखिँदैन ।

विगतमा बहुमत हुँदा हुँदै दुई पटक संसद् विघटन गर्ने केपी शर्मा ओली नै हुन् । उनी आफै अहिले संसद् पुनःस्थापनाको माग राखिरहेका छन् । तर उनीसँग सरकार बनाउने बहुमत छैन । संसदविहीनताको अवस्थाले देशमा राजनीतिक रिक्तताहरू छन् । यसले नयाँ खालका चुनौती बढाउँदै लान सक्छ । जाति, सम्प्रदायका नाममा सक्रिय समूहहरूको गतिविधि बढ्दै गएको छ । यसले अर्को खतरनाक द्वन्द्व निम्तन सक्छ ।

पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीको मुसलमान महिलाका समस्याका बारेमा आएको अभिव्यक्तिले नयाँ घटना विकास भएको छ । देशमा मुसलमानको सङ्ख्या देखि गतिविधिबारे चासो बढेको छ । छिमेकमा चालिएका कदमको प्रभाव देशभित्र समेत परेको छ । भारतको निर्वाचन आयोगले स्पेसल इन्टेन्सिफ रिभिजन एसआइआर नाम दिइएको नयाँ मतदाता नामावलीलाई सुरुवाती चरणबाट बनाउने कदम चालेपछि गैरकानूनी रूपमा पसेका आप्रवासीहरू भारत छाड्ने अवस्था बनेको छ ।

विशेषगरी बँगलादेश र म्यानमारबाट भारत छिरेका मुसलमानहरू भारत छाडिरहेको दृश्य भारतीय सञ्चारमाध्यमले दिएका छन् । कतिपय नेपाल छिरिरहेको दृश्य पनि सार्वजनिक भएको छ । यो घटनाले नेपालभित्र त्यस्ता आप्रवासी गैरकानूनी रूपमा पस्ने र सीमा क्षेत्रको जनसंख्यामा व्यापक बदलाव आउने स्थिति बन्न सक्छ । अर्कोतर्फ, तराईका जिल्लाहरूमा धार्मिक भिडन्तका घटनाहरू बढिरहेका छन् ।

मूलधारको मिडियामा खासै स्थान नदिने त्यस्ता घटनाले तराईमा कुनैपनि बेला खतरनाक रुप लिन सक्छ । योजनाबद्ध तरिकाले नेपालमा जनसंख्यामै फेरबदल ल्याउने गरी भएको घूसपैठले भविष्यमा ल्याउने परिणाम डरलाग्दो हुनसक्छ । नेपालसँगको सीमा क्षेत्रमा बदलिइरहेको जनसंख्याबारे छिमेकीको पनि उत्तिकै चासो छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त यसै वर्ष लाल किल्लामा सीमा क्षेत्रको जनसांख्यिक बदलावलाई खतरा नै भनेका छन् ।

विगत ३० वर्षको जनसंख्या हेर्दा तराई मधेशमा जनसंख्यामा निकै ठूलो बदलाव आइसकेको छ । सीमा क्षेत्रमा कुनैबेला २० प्रतिशत रहेको मुसलमान जनसंख्या अहिले ६० प्रतिशत नाघिसकेको छ । त्यसैले एकजना मुसलमान महिलाले सार्वजनिक रूपमा आफूहरु ४० लाख पुगिसकेको भनेकी छिन् । यसले नयाँ विमर्श जन्माएको छ । सीमा क्षेत्रमा तेस्रो मुलुकहरूको लगानी र गतिविधिबारे भारतको चासो छ ।

पूर्वोत्तर भारतको ठूलो भूभाग २० देखि २२ किलोमिटर साँघुरो भागले जोडिएको छ जसलाई ‘चिकेन नेक’ भनिन्छ । ‘चिकेन नेक’ नजिकैको नेपाली भूभागमा जातीय गतिविधि अत्यधिक छ । पश्चिमा लगानीका परियोजनाहरू त्यतै थुप्रिएका छन् ।

झापातिर चीनले पनि परियोजना लगेको छ । त्यहाँ भारतको पनि उत्तिकै चासो देखिन्छ । त्यस क्षेत्रलाई निकै संवेदनशील मानिएको छ । त्यहाँ भइरहेका गतिविधि पनि असामान्य ढङ्गले विकास भइरहेका छन् । त्यस क्षेत्रमा कुनै पनि बेला जातीय मुद्दा चर्केर द्वन्द्व निम्तन सक्छ । शक्तिराष्ट्रहरुले त्यत्तिकै लगानी गर्दैनन् । त्यहाँ उनीहरूको निहित स्वार्थ हुन्छ । स्वार्थको टकरावको मूल्य मूलवासीले चुकाउनुपर्छ । रणनीतिक रूपमा चालिएका बाह्य कदमहरूबाट देशलाई खतरा हुनुको कारण यही हो ।

नेपाली भूमिबाट स्वतन्त्र तिब्बतका गतिविधि पनि उत्तिकै बढेका छन् । जेनजी विद्रोहका बेलामा यसका धेरै तथ्य नै खुले । स्वतन्त्र तिब्बतसँग जोडिएका संस्था आन्दोलनकारी दाबी गर्नेहरूको सहयोगी नै रहेको पुष्टि भयो । जेनजी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई तिब्बती धार्मिक नेता दलाई लामाले बधाई दिए । नेपालको इतिहासमा प्रधानमन्त्रीलाई दलाई लामाले बधाई दिएको सायद पहिलो घटना हो ।

यस्ता गतिविधि बढ्नु भनेको अर्को छिमेकी चीनको चासो बढ्नु हो । तिब्बती शरणार्थी क्याम्पमा कतिपय पश्चिमा अधिकारीहरू भ्रमणमा आउँदा पुग्ने गरेका छन् । विगत वर्षहरूमा त्यो झन् अधिक भयो । चीनलाई चिढ्याउने गरी भएका घटना सामान्य विषय होइन । यसैगरी, स्वतन्त्र तिब्बती गतिविधिमा मलजल गर्ने गतिविधिले नेपालमा शक्तिराष्ट्रहरुको टकराब बढाउन सक्छ ।

नेपालमा बाह्य सहयोगको बाढी नै आएजस्तो देखिन्छ । पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै दिशाका शक्तिशाली देशहरूबाट ठूलो धनराशी विभिन्न सहयोगका नाममा खन्याइएको तथ्याङ्कहरू भेटिन्छ । के ती सबै सहयोग सही उद्देश्यले आएर सही ठाउँमा पुगेका छन् ? यो प्रश्नको उत्तरको खोजबिन सायदै भयो । बौद्धिक भनिएका जमातसमेत त्यस्ता धनराशिको रहलपहल पाउला कि भन्ने आशामा बाँचे । जसका कारण देशको हितविपरितका बाह्य सहयोगबारे आँखा चिम्लिदिए । जर्ज सोरसले ओपन सोसाइटी फाउण्डेशनमार्फत् नेपालमा ठूलो धनराशी खन्याए । त्यो धनराशीले मूलधारको बौद्धिक विमर्श देखि पत्रपत्रिकामा छाएकाहरु समेत प्रभावित भए ।

यतिसम्मकी देशमा गणतन्त्र र धर्मनीरपेक्षको पक्षमा माहोल तयार गर्ने गरी सामाग्री निर्माणमा जर्ज सोरसको संस्था लाग्यो । विभिन्न बाह्य संस्थाहरु नेपालमा जातीय, धार्मिक र साम्प्रादायिक द्वन्द्व निम्त्याउने योजनासहित धनराशी खर्च गरिरहेका छन् । धर्मान्तरणको धन्दा चलिरहेको छ । यसले नेपाली समाजलाई खतरनाक अवस्थातर्फ लानसक्छ ।

यसकारण त्यस्ता धनराशी नेपालका लागि खतरा हो । नेपाली सेनाको संख्या घटाउने देखि नेपाली सेना नै चाहिँदैन भन्ने जस्ता सामाग्री बनाउने र विमर्श चलाउने जस्ता गतिविधि समेत बाह्य सहयोगबाट सञ्चालित संस्थाहरुले गराए । तत्कालीन सेनापति प्रभुराम शर्माले यसबारे कडा चेतावनी दिएको अभिव्यक्ति नै बाहिरियो ।

आधुनिक समाजमा कुनै पनि देशमा प्रभाव बनाउन बलिया शक्तिले धन र प्रविधि खर्च गरिरहेका हुन्छन् । प्रविधिमार्फत् आफू अनुकूलको शासन व्यवस्था र शासक समेत तयार गर्न सक्छन् बलिया देशहरू । विशेषगरी, गरिबी, अशिक्षा र अज्ञानताबाट ग्रसित देश र समाजलाई सजिलै प्रभावित पार्न सक्छन् । तर, जुन देश र समाजका जनतामा देशभक्तिको भावना हुन्छ त्यस्तो देश र समाजलाई प्रभावित पार्न सक्दैनन् । तसर्थ, देशले पहिले को को बाट किन खतरा छ भन्ने पहिचान गर्नुपर्छ । त्यस्ता खतरासँग जुध्न देशभक्त जनताको निर्माण गर्नुपर्छ । देशभक्त व्यक्तिहरूको निर्माणविना नेपाल जस्तो संवेदनशील भूगोलमा रहेको देशले बाह्य खतरासँग लड्न सक्दैन ।

समृद्ध, शान्त र सबल देश निर्माणका लागि देशभक्त नागरिक निर्माण अनिवार्य छ । त्यस्तै नागरिकबाट चुनिने शासकहरूले मात्र नेपालको आन्तरिक र बाह्य चुनौतीको सामना गर्न सक्छ । देशले खोजेको यही हो । जुन पुरानो पीढींबाट सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्