
मलाई लाग्छ पुस्तकको नामबाटै धेरै पाठकहरूको मन छुन्छ । जो कोहीको हातमा यो पुस्तक पुग्छ उसले पढेकै हुन्छ । मेरो हातमा यो पुस्तक पर्नासाथ म नपढी बस्नै सकिन । किनभने पुस्तकको नाम नै प्यारो लाग्यो । त्यसैले कत्तिपनि विश्राम नगरी अक्षरशः एकै सिटिङ्गमा पढिसकेँ । अध्ययनको चरित्र नै यस्तो हुन्छ कि राम्रो पुस्तक भेटे पछि सबैले पढेकै हुन्छन् ।
लेण्डुपहरुको देश हुन्न भन्ने शीर्षक नै बुझ्न काफी छ । अहिले धेरै मानिसहरू ‘लेण्डुपहरु’ भन्ने गर्दछन् । कतिपय पाठकलाई शब्द थाहा हुन सक्छ तर त्यसको अर्थ थाहा नहुन सक्छ । यो पुस्तकले त्यस्ता पाठकहरूलाई राम्रो खुराक दिन सकेको छ । पुस्तकको शीर्षक मात्र लोभलाग्दो होइन कि यस भित्रका उप शीर्षकहरू उत्तिकै मार्मिक देखिन्छन् । पढ्दै जाँदा छोड्नै मन लाग्दैन । जति पढ्यो उति पढ्न मन लाग्ने । सरल भाषामा राष्ट्रियता, राष्ट्र, जन्मभूमि, आमाजस्ता कठिन विषयमा कलम चलाउनु सजिलो भन्ने पक्कै होइन । यद्यपि लेखकले पाठकलाई बुझाई दिने प्रयास गरेको पाइन्छ । कतिपय यस्ता शब्दहरू प्रयोग गरिएका छन् जसले पाठकको हृदयमा नै धड्कन को महसुस हुन्छ ।
पुस्तक पढ्दै जाँदा लाग्छ लेखक जन्मभूमि र राष्ट्रियता देखि धेरै नै उकुस मुकुस भएका देखिन्छन् । प्रारम्भ देखि अन्त्य सम्म नै राष्ट्रियता र जन्मभूमि देखि बाहिर जान सकेका छैनन् र यसैलाई केन्द्र विन्दु बनाएको देखिन्छ । वास्तवमा यो राम्रो पक्ष हो । किनभने अहिले राष्ट्र र राष्ट्रियतामा नै खतरा बढ्दै आएको विषय सर्वत्र बहस भई रहेको अवस्था छ ।
लेखकले जसरी आफ्नो सिर्जनाको माध्यमबाट देशको माया गरेका छन् त्यसरी नै पाठक वर्गले पनि माया गरुन् भन्ने सन्देश प्रवाह गरेको पाइन्छ । आ– आफ्नो क्षेत्रबाट सबैले सक्दो योगदान दिन सक्ने हो भने देशले कहिल्यै पीडा भोग्नु पर्ने छैन । तर, लेखकले सुझाए अनुसार के गरिएको छ र ? के भएको छ र ? यथार्थतामा भन्ने हो भने केही भएकै छैन ।
देशले काँचुली फेर्ने भनेको नै राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा सुधार हुने हो । तर, यी अवयवहरु अहिले कमजोर हुँदै गएका छन् । राजनीति राजनीति हुन सकेन । राजनीति अपराधीकरण हुन गयो भने अपराधीकरणमा राजनीति हुन गयो । यसरी राजनीति र अपराधीकरण पर्यायबाची शब्द बन्न गएको अहिलेको अवस्थालाई लेखकले छर्लङ्ग पारिदिएका छन् । देशमा भ्रष्टाचार र बेथिति बढ्दै गएको छ । त्यसैले गर्दा देशको अर्थतन्त्रमा संकट आउने सम्भावना देखिएको छ । बढ्दो सार्वजनिक ऋण र घट्दो पुँजीगत खर्चले भुइँमान्छेको जीवन कष्टकर बन्दै गएको स्थितितर्फ लेखकले चिन्ता गरेका कुराहरू अहिलेको सन्दर्भमा निकै सराहनीय देखिन्छन् । लेखकले सामाजिक पक्षलाई पनि उजागर गरेको पाइन्छ । सामाजिक सद्भाव खलबलिनु भनेको सबैको लागि घातक हुन्छ भन्ने विषयलाई पनि लेखकले राम्रोसँग स्पष्ट पारेका छन् ।
राष्ट्रियताको बारेमा लेखकलाई यति पीडा भएछ कि त्यसको कुनै सीमा नै देखिँदैन । त्यसैले उनी लेख्दछन् – ‘आफूलाई जन्म दिने आमा, मातृभूमि वन्दनीय र स्तुति हुन्छिन् । भनिन्छ, मान्छे सबै कुरा सहन तयार हुन्छ, तर आफ्नी आमा र जन्मभूमिप्रति कहिल्यै आत्मघात सहन सक्दैन । जननी र जन्मभूमि माथि कसैले नजर लगाएको हेर्न समेत सक्दैन’ । अन्तरमन बाटै उब्जिएका यस्ता शब्दहरूले लेखकको मन त यसै छोएको छ, पाठकको मन पनि अवश्य नै छोएको छ ।
देशको वर्तमान अवस्थालाई मात्र लेखकले उल्लेख गरेका छैनन् कि विगत ईतिहाँसलाई पनि राम्रोसँग केलाउने काम गरेका छन् । अमरसिंह थापा, वलभद्र कुँवर, भक्ति थापा, वंशराज पाण्डे, वंश गुरुङ्ग, वीरभद्र उपाध्यायहरु र वीरंगनाहरुको देश भक्तिलाई पनि लेखकले बिर्सन सकेका छैनन् । उनीहरूको योगदानलाई कदर गरेको देखिन्छ । यसरी विभिन्न पक्षहरूलाई मिहिनेतका साथ मिहिन रूपले केलाउन सक्ने खुबीको सराहना गर्नै पर्दछ ।
पुर्खाहरूले जोगाई राखेको देश अहिले दयनीय हुनुलाई लेखकलाई चिन्ता परेको स्पष्ट हुन्छ । यही चिन्ताले गर्दा हाम्रो देश सिक्किमका ‘लेण्डुपहरु’ बाट भए जस्तै गरी यहाँका ‘लेण्डुपहरु’ ले गर्ने त होइनन् भन्ने कुरा पनि आशंका गरिएको पाइन्छ । यस्ताहरुबाट सजग हुनको लागि सबैलाई आग्रह गरेका छन् ।
अहिले दक्षिण एसियाका नेपालजस्ता साना मुलुकहरूको अवस्थालाई विस्तृत रूपमा उल्लेख गरिएको छ । जसरी सिक्किमको सार्वभौमिकता नै विलयन गरियो त्यसरी नै अन्य देशहरू पनि विलयन त हुने होइनन् भन्ने सन्दर्भलाई पनि लेखकले राम्रोसँग घटनाक्रमहरू उल्लेख गरेका छन् । लेखकको मुख्य मस्कद त्यस्ता ‘लेण्डुपहरु’ देखि सावधान हुनु पर्दछ भन्ने सन्देश पनि प्रवाह गरेका छन् । ठुला माछाले जसरी साना माछालाई खान्छ त्यसरी नै खाने सम्भावना रहेको विषयलाई पनि लेखकले उल्लेख गरेका छन् ।
यथार्थता के हो भने दक्षिण एसियाका नेपालजस्ता साना देशहरू अहिले ठुलो त्रासमा बाँच्नु परेको छ । भुटानको कुरा गर्नुहोस् वा बंगलादेशको गर्नुहोस् वा पाकिस्तानकै कुरा गर्नुहोस् वा श्रीलङ्काकै कुरा गर्नुहोस् कुन देश शान्तसँग बस्न पाएको छ र ? सबै नै डराई डराई बस्नु परेको छ । जसरी सिक्किममा ‘लेण्डुपहरु’ को जन्म भयो त्यसरी नै नेपालमा पनि लेण्डुपहरु जन्मिने त होइनन् ? भन्ने कुरा हामी सबैले बुझ्नु पर्छ भन्ने सुझाव लेखकको रहेको पाइन्छ ।
नेपालको राष्ट्रियता हामी आफैले जोगाउने हो, अरू कसैले आएर जोगाई दिने होइन । अरूले त खोसीदिन सक्दछन् भन्ने तर्फ लेखकको ठुलो चिन्ता रहेको देखिन्छ । यसतर्फ निकै गहिरिएर लेखिएको भेटिन्छ । महाकाली सन्धि, भ्रष्टाचारको महामारी, खोकु– छिन्ताङको घाउ, सहिदको सपना, स्वाभिमानी विदेश नीतिजस्ता विषयहरू निश्चय नै नेपालको राष्ट्रियतासँग जोडिएका क्षेत्र हुन् । यसरी एउटै पुस्तकमा यस्ता गहन क्षेत्रहरू समेटेर लेख्नुलाई लेखकको खारिएको अध्ययन मान्नै पर्दछ ।
अन्त्यमा,
‘लेण्डुपहरु’ को देश हुन्न भन्ने कुरा लेखकले प्रमाणीत गरिदिएका छन् । लेखकले ठुलो मिहिनेत गरेर पाठक समक्ष प्रस्तुत गरेको यो पुस्तक सबैको लागि उत्तिकै महत्त्वपूर्ण छ । राष्ट्र, राष्ट्रियता, सार्वभौमिकताजस्ता संवेदनशील विषयहरूलाई केन्द्रबिन्दु बनाउनुको साथै अन्य समसामयिक विषयमा समेत गहिराइमा पुग्न त्यति सजिलो निश्चय नै थिएन । यस अर्थमा लेखकको अध्ययनको क्षेत्रलाई तारिफ गर्नै पर्दछ ।
पुस्तकको समीक्षा सानो आँखी झ्याल मात्र हो । लेखकले भनेका सबै कुरा यो छोटो आलेखमा उल्लेख गर्न सम्भव पनि भएन । विस्तृत अध्ययन नगरी थाहा पाउन नसकिने भएकोले एक पटक सबैले पढिदिन अनुरोध गर्दछु । देश र राष्ट्रियतासँग जोडिएका सबै विषयहरूलाई समेटेर लेखिएको ‘ लेण्डुपहरुको देश हुन्न’ भन्ने पुस्तक निकै मार्मिक छ । त्यसैले पठनीय छ । यस्तो कठिन र महत्त्वपूर्ण पुस्तक प्रकाशित गरेकोमा लेखक सुभाषचन्द्र देवकोटालाई धेरै धेरै धन्यवाद ।
कृष्णमणि पराजुली
लमजुङ्ग, राइनास– ०७











