Logo
Logo

प्रकृतिसँग सुख-दुःख साट्दै, छन्द कवितामा रमाउँदै


कृतिका कोइराला, छन्द कवि

252
Shares

बाबाआमाको साहित्यिक सामीप्य र नौ वर्षकै कलिलो उमेरदेखि कविताका अक्षरहरूसँग मितेरी गाँसेकी छन्द कवि कृतिका कोइराला, पछिल्लो समय ‘पोयट आइडल’ र छन्द कविताको साङ्गीतिक मिठासका कारण युवा पुस्ताको ढुकढुकी बन्दै साहित्यमा अझ गहिरो गरी भिज्ने लक्ष्यका साथ अघि बढिरहेकी छन् । उनी भन्छिन्– ‘छन्दकविताको लयात्मक मिठासले नै यसप्रतिको झुकाव बढेको हो ।’ उनै कविताप्रमि कृतिकासँग रेजिना पाण्डेको जम्काभेट ।

तपाईंलाई साहित्यमा रूचि कसरी जाग्यो ?
मेरा बाबामामु नेपाली शिक्षक हुनुहुन्छ । उहाँहरूले मलाई सानैदेखि नै साहित्यका किताब पढ्न दिनुहुन्थ्यो । किताबमा नै भुलिरहन प्रेरणा दिनुहुन्थ्यो । किताबलाई नै असल मित्र ठान्नुपर्छ भनेर सम्झाइरहनुहुन्थ्यो । यही कारण पनि म किताबसँग नजिकिन पुगेँ । विस्तारै यसैले निरन्तरता पाउँदै जाँदा साहित्यप्रति रूचि बढ्दै गयो ।

कहिलेदेखि कविता लेख्न थाल्नु भयो ?
अन्दाजी ९ वर्षको उमेरमा चार कक्षामा पढदै गरेको बेला पहिलो कविता लेखेकी थिएँ, “अल्छी मान्छे र जाँगरिला कमिला ।”

तपाईंका धैरै कवितामा प्रकृति र चराचुरुङ्गी समेटिएका हुन्छन् किन ?
हो, मलाई प्रकृति र चराचुरुङ्गी साह्रै प्रिय लाग्छ । रमाइलो लाग्छ । ती त दुःख, सुख साट्ने दौँतरी हुन् जस्तो लाग्छ । त्यसैलाई कहिलेकाहीँ जस्ताको तस्तै, कहिले मानविकीकरण गरी कवितामा उतार्न खोज्छु ।

तपाईंलाई छन्द कविताप्रति मोह किन ?
छन्दकविताको लयात्मक मिठासले नै यसप्रतिको झुकाव बढेको हो ।

अहिले पुराना कविका कविताहरू नयाँ पुस्ताले पढेको सामाजिक सञ्जालमा धैरै देखिन्छ । यो राम्रो हो ?
अग्रज स्रष्टाका कालजयी रचनालाई पढेर सबैलाई सुनाउनु राम्रो कुरा हो । साहित्यमा रूचि भएपनि कतिलाई दिग्गज कविहरूको नाम थाहा नहुन सक्छ, कविता थाहा नहुन सक्छ । अग्रज कविका कृति वाचन गर्दा नवपुस्ता पनि अग्रज कविसँग परिचित हुने अवसर मिल्छ । समयानुकूल मानेर लेखिएका कृतिले समय परिवर्तन हुँदै जाँदा पनि कसरी कालान्तरसम्म छाप छोडिरहेको छ भनेर बुझ्न पाइन्छ ।

अहिले तपाईं जस्ता युवापुस्तामा छन्द कविता मोह बढ्नुको कारण के हो ?
विभिन्न प्रकारका छन्दको आफ्नै मौलिक मिठास छ । ह्रस्वदीर्घको नियम पालना गरेर आफूलाई राम्रो लागेको लयमा वाचन गर्न सकिने स्वतन्त्रता छन्द कवितामा छ । लयबद्ध वाचन हुने भएकाले यसमा लिप्त हुन पनि कत्ति बेर लाग्दैन । छन्द कविताको साङ्गीतिकपनले नै नवपुस्तामा आकर्षण बढ्दै गएको छ ।

‘पोयट आइडल’मा पनि प्रतिस्पर्धामा जानुभएको थियो तर उपाधि जित्न सक्नुभएन ?
प्रतिस्पर्धामा उत्रिएपछि हारजित हुनु त स्वाभाविक नै हो । पोयट आइडलको प्रतिस्पर्धात्मक माहोलमा आफ्नो रचनाका साथसाथै भोटको पनि प्रतिस्पर्धा थियो । भोट नपुगेर बटममा परेकी थिएँ । आशुकवि राउण्डको अवसर पाएँ तर सोचेजस्तो प्रस्तुति दिन सकिनँ ।

तपाईंले ‘पोयट आइडल’मा जानैपर्छ भन्ने मनसाय किन बनाउनुभयो ?
मेरा कविताहरू पानामा मात्र सीमित थिए । केही कार्यक्रममा, अनि सामाजिक सञ्जालमा कहिलेकाहीँ पोस्ट्याउने गरेकी थिएँ, त्यत्तिकैमा पोयट आइडल रियालिटी शो आयो र, केही सिक्न सक्छु भन्ने लागेर भाग लिएँ ।

तपाईंहरूले ‘थोप्लो आट्र्स’ समूह खोल्नुभयो किन ?
म मात्र होइन हाम्रो टिम मिलेर करिब तीन वर्ष अगाडिदेखि यो समूह सञ्चालन गरेका हौँ । अहिलेसम्ममा केही कविता प्रस्तुतीका कार्यक्रम, केही साहित्यिक बहसका कार्यक्रम र केही छोटा फिल्म दर्शकश्रोतासामु ल्याएका छौँ । साहित्यका अन्य विधा पनि समेट्ने जमर्को गर्दैछौँ ।

तपाईँले महाकवि लक्ष्मीप्रसाद देवकोटको मुनामदनको एकल प्रस्तुती पनि गर्नुभएको थियो, कस्तो रह्यो अनुभव ?
महाकविलाई श्रद्धापूर्वक सम्झिरहन्छु । उहाँकै सम्झनामा मैले मुनामदन वाचन गर्ने अवसर पाएकी थिएँ । तोरण विचार भाइले मुनामदन वाचन गर्ने कार्यक्रमको आयोजना गर्ने सोचेका रहेछन् । त्यस बारेमा कवि मुनु अधिकारीसँग कुरा गर्दा उहाँले मेरो नाम सिफारिस गरिदिनुभएछ । आभारी छु । गेहेन्द्र धिमालफाउन्डेशनको स्पेसमा करिब ३०–३५ जनाको उपस्थितिमा मुनामदन पस्किन पाएकी थिएँ । प्रतिक्रिया राम्रो आयो । रमाइलो अनुभव भयो ।

मनोविज्ञान र साहित्यमा सँगसँगै अघि बढ्न सकिन्छ ?
मनोविज्ञान र साहित्य दुवै मेरा रूचिका विषय हुन् । यी दुई एकापसमा जोडिएकै हुन्छन्भन्दा पनि फरक नपर्ला । दुबै मेरो प्राथमिकतामा परेको हुँदा कुनै एक विषयले ओझेलमा पर्न पाएको छैन । पढने काम भइनै रहेको छ भने लेखनलाई पनि निरन्तर दिइरहकै छु ।

भविष्यको योजना के छ ?
थोप्लो आट्र्सलाई अझ परिमार्जन गर्ने सोच छ । साहित्यमा अझ भिज्न मन छ । आख्यानका अन्य विधासँग परिचित हुँदै तिनमा पनि पोखिने प्रयत्न गर्नेछु । आफनो काम तथा पढाइलाई पनि निखार्दै लैजानेछु ।

प्रतिक्रिया दिनुहोस्