Logo
Logo

बदर मत निरन्तर बढ्दै, के छ आयोगको तयारी ?


189
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनमा बदर मतको प्रतिशत कम गर्न निर्वाचन आयोग यस पटक डिजिटल मतदाता शिक्षालाई प्रभावकारी बनाउने गरी फरक ढङ्गले कार्यक्रम ल्याउने भएको छ ।

विगतका तीनवटा निर्वाचनमा बदर मतको प्रतिशत क्रमशः बढेकाले यस पटक डिजिटल मतदाता शिक्षालाई प्राथमिकता दिइने गरी सामग्री बनिरहेको आयोगले जनाएको छ ।

कतिपय अवस्थामा जानाजान मत बदर गरिदिने गरेकोमा आयोगले त्यसलाई पनि मतदाता शिक्षा कार्यक्रममा ध्यान दिन लागिएको जनाएको छ ।

विगतमा भएका २०७०, २०७४ र २०७९ को चुनाव हेर्दा बदर हुने मतको प्रतिशत प्रत्येक पटक बढ्दै गएको आयोगको तथ्याङ्कले देखाउँछ ।

चुनावमा आम मतदाताको सहभागिता बढाउन र बदर मतको सङ्ख्या कम गर्ने आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम ल्याउन लागेको हो ।

आयोगले सोमवार मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेसँगै अब फागुन ३ गतेबाट यसका लागि घरघर जाने कार्यक्रम रहेको छ ।

यो कार्यक्रमअन्तर्गत आयोगले देशभरिका नगरपालिका तथा गाउँपालिकाका ६,७४३ वडामा फागुन ३ गतेदेखि १७ गतेसम्म एक-एक मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने छ ।

विसं २०४८ सालयता भएका निर्वाचनमा सबैभन्दा धेरै पछिल्लो पटकको २०७९ सालको चुनावमा ५.१९ प्रतिशत मत बदर भएका आयोगको तथ्याङ्कले देखाउँछ । त्यस्तै सबैभन्दा कम भने २०५६ सालमा भएको निर्वाचनमा २.७५ प्रतिशत मात्रै भएको थियो ।

विसं २०७० सालको चुनावमा ७८.३४ प्रतिशत मत खसेको थियो र त्यति बेला बदर मत जम्मा ४.९६ प्रतिशत थियो । यसअघि २०७९ को चुनावमा भने जम्मा ६१.६३ प्रतिशत मत खस्दा ५.१९ प्रतिशत मत बदर भएको थियो । त्यसअघि २०७४ सालमा भएको चुनावमा ६८.६७ प्रतिशत मत खस्दा ५.१६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ ।

औसत रूपमा हेर्दा विगतका चुनावमा करिब ५ प्रतिशत बदर भएको देखिन्छ । धेरै मत बदर हुने जिल्लामा बाँके, रोल्पा, सल्यान र जाजरकोट रहेका थिए । ती जिल्लामा करिब ७ प्रतिशत देखि ९ प्रतिशतसम्म मत बदर भएका थिए ।

त्यस्तै कम मत बदर भएका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला र भक्तपुर रहेका थिए । ती जिल्लामा ०.३९ प्रतिशतदेखि २.८५प्रतिशतसम्म मद बदर भएको देखिन्छ ।

मतदाता शिक्षाका लागि खर्च बढाइरहँदा मत बदर पनि बढिरहनेले मतदाता शिक्षाको विषयमा चिन्ता बढाएको छ । छाप ठाउँमा नपर्ने, दुईतिर पर्ने अथवा लतरपतर हुने जस्ता काराण मत बदर हुने गरेको विगतका तथ्याङ्कले देखाउँछ ।

विगतमा काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रमा नै मत बदर भएको पाइएको छ । विगतमा सहरी क्षेत्रमा सरदर ४ देखि ५ प्रतिशत मत विगतका चुनावमा बदर हुने गरेको थियो ।

मतपत्र बदर हुनुमा मतपत्रमा छाप लगाउन नजान्नु मात्रै नभई आशययुक्त तरिकाले पनि बदर भएको थियो । राष्ट्रिय सभा चुनावमा मेयर, उपमेयर र सांसदले मत खसाल्दा पनि करिब पाँच प्रतिशत मत बदर हुने गरेको छ ।

कतिपयले उम्मेदवार चित्त नबुझेका कारण वा विगतमा चुनावी गठबन्धन हुँदा आफूले चाहेको दलका उम्मेदवारलाई मत दिन नपाउँदा पनि आफ्नो मत जानीजानी बदर गरेको देखिन्छ ।

बदर मत घटाउन के गर्ने ?

मत कम बदर हुने गरी मतदाता शिक्षा दिने काम केवल मतदानको बेला मात्रै नभई निरन्तर गरिनुपर्ने देखिएको छ । चुनावको दुईतीन हप्ताअघि गरिने मतदाता शिक्षामात्रै पर्याप्त नहुने विगतका अभ्यासले देखाएको छ । जसमा निर्वाचन आयोग मात्रै नभई राजनीतिक दलहरू पनि खटिनुपर्ने देखिएको छ ।

त्यसबाहेक स्थानीय भाषामा पनि मतदान शिक्षा पु¥याउनुपर्ने आवश्यक छ । यसपालि मतदान कसरी गर्ने भन्नेमा मात्रै सीमित नभई आशययुक्त रूपमा मद बदर नहोस् भन्ने हिसाबले मतदाता शिक्षा कार्यक्रम गरिन लागेको निर्वाचन आयोगले जनाएको छ ।

यसपटक सकेसम्म प्रत्येक मतदाताकै घरमा पुग्ने कार्यक्रम रहे पनि सम्भव नभएका ठाउँमा मानिसहरू भेला गरेर टोलटोल र सामुदायिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गरेर विद्यार्थीमार्फत् आफ्ना आमाबुवालाई सिकाउने काम पनि गरिने आयोगले जनाएको छ ।

यसपालिको मतदान शिक्षा कार्यक्रममार्फत् मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्त्व, निर्वाचन आचारसंहिता तथा गलत र भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी दिइने आयोगले जनाएको छ

मतदाता शिक्षालाई प्रभावकारी बनाउन खास गरी घरदैलो तथा विद्यालयस्तरका कार्यक्रमका लागि एक एक जना स्वयंसेवक परिचालन गर्ने र आमसञ्चार र सामाजिक सञ्जालबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्